Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल उपकरणको प्रयोगले आँखामा मायोपियाको जोखिम

डिजिटल उपकरणको प्रयोगले आँखामा मायोपियाको जोखिम


काठमाडौं । डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै गएको पाइएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपियासम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरूले डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यशाला गोष्ठीमा सहभागीहरूले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए । आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा मायोपिक हुन सक्ने अनुमान गरेको छ । पहिलेदेखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने विज्ञहरू बताउँछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्छन् । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात् रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दाभन्दा अगाडिको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ । विश्वमा अहिले मायोपिया सचेतना सप्ताह चलिरहेको छ । यसको अवसरमा नेपाल नेत्रज्योति संघअन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपियासम्बन्धी कार्याशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेश प्रदेशका नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरू गरी करिब दुई सय जना सहभागी भएका थिए ।

सूचना प्रविधिको विकाससँगै आममानिसले आफ्नो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौँसम्म मोबाइल, ल्यापटप, टिभीजस्ता डिजिटल माध्यमहरूमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हँुदै गइरहेको छ । यसरी लामो अवधिसम्म घर बाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रूपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दाभन्दा अगाडिको भागमा फोकस भइरहेको हुन्छ ।

मायोपियाबाट बच्न वच्चाहरूलाई मोबाइलको प्रयोगबाट जोगाउने, दैनिक कम्तीमा दुई घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समयसमयमा नियमित रूपमा आँखा जाँच गराउनुपर्ने विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारीले बताए । कार्यशाला गोष्ठीमा एलभी प्रसाद आई इन्स्टिच्युट, हैदराबाद भारतका डा.पवन भेर्किचर्ला र स्वप्निल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा.पवन श्रेष्ठ तथा पंकजराय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया