Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखराब कर्जाले बैंकहरूलाई सकस

खराब कर्जाले बैंकहरूलाई सकस


काठमाडौं । खराब कर्जाको ग्राफ निरन्तर उकालो लाग्दा बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । नेपाल राष्ट्र बैंकको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको र गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको देखिएको छ ।

गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा तीन दशमलव ६६ प्रतिशत छ । यस्तै गैरबैंकिङ सम्पत्ति २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ४५ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा एक दशमलव ९८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति दायित्व ११ अर्ब ४५ करोड ९० लाख रुपैयाँ थियो ।

गत कात्तिकसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १७ अर्ब ७२ करोड ४० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब १६ करोड ८० लाख रुपैयाँले बढी हो । गतवर्ष कात्तिकमा नौ अर्ब ५५ करोड ६० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थियो । सो अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा एक दशमलव ८३ प्रतिशत थियो भने यसवर्ष कात्तिकमा बढेर तीन दशमलव ६१ प्रतिशत पुगेको छ । खराब कर्जा बढेकै कारण पनि वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको हो ।

विकास बैंकहरूमा पनि गैरबैंैकिङ सम्पत्ति बढेको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म विकास बैंकहरूमा तीन दशमलव १९ प्रतिशत खराब कर्जा र दुई अर्ब ३८ करोड ५० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति दायित्व छ । जुुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब आठ करोड २० लाख रुपैयाँले बढी हो । गतवर्ष कात्तिकमा विकास बैंकहरूको खराब कर्जा दुई दशमलव ३२ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति एक अर्ब ३० करोड ३० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा औसतमा आठ दशमलव ३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ३१ करोड २० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको कात्तिक मसान्तको तुलनामा ७१ करोड १० लाख रुपैयाँले बढी हो । सो अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा छ दशमलव ९९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ६० करोड १० लाख रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरेको ऋण नउठ्दा गैरबैंकिङ सम्पत्ति बढेको हो । पछिल्लो समय अर्थतन्त्रमा आएको संकुचनकै कारण ऋणीले कर्जाको साँवाब्याज तिर्नसक्ने क्षमतामा कमी आएको छ । नियमितरूपमा कर्जाको साँवाब्याज नआएपछि बैंकहरूले नियमसंगत धितोको रूपमा रहेको त्यस्तो सम्पतिलाई लिलामीको प्रक्रियामा लैजाने गर्छन् । तर, पटक–पटक लिलामीको सूचना जारी गर्दा पनि उक्त धितो लिलाम हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाबापतको रकम प्रोभिजन गरेर त्यस्तो सम्पत्ति गैरबैंकिङ सम्पत्तिको रूपमा आफैँले सकार गर्नुपर्छ । यस्तो सम्पत्ति स्वप्रयोजनको लागिबाहेक अन्य अवस्थामा भने बैंकहरूले निश्चित समयभित्र पुनः बोलकबोलमार्फत बिक्री गरेर नगदमा रूपान्तरण गर्नुपर्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया