Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारऔद्योगिक क्षेत्रमा बैंकहरूको कर्जा लगानी बढ्यो

औद्योगिक क्षेत्रमा बैंकहरूको कर्जा लगानी बढ्यो

पाँच प्रदेशका उद्योगमा तीन खर्ब कर्जा प्रवाह


काठमाडौं । औद्योगिक क्षेत्रमा बैंकहरूले कर्जा लगानी बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदन २०७९/८० अनुसार कर्जाको माग, उद्योगहरूको सम्भावनाको आधारमा प्रदेशहरूमा औद्योगिक कर्जा बढेको हो ।

राष्ट्र बैंकले सुदूरपश्चिम, मधेश, कर्णाली, गण्डकी र कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सोही प्रतिवेदनअनुसार यी पाँचवटै प्रदेशमा रहेका उद्योगमा बैंक तथा वित्तीय संस्थाहरूले तीन खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७८/७९को अन्तिममा यस्तो कर्जा दुई खर्ब ५० अर्ब रूपैयाँ थियो ।

प्रतिवेदनअनुसार कोशी प्रदेशको उद्योगहरूमा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ । २०८० असार मसान्तसम्म कोशी प्रदेशमा बैंकहरूले एक खर्ब २९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा २०७९ असार मसान्तको तुलनामा छ दशमलव ६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा १६ दशमलव पाँच प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी आद्यौगिक कर्जाको ठूलो हिस्सा ओगट्ने गैरखाद्यवस्तु र कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा बढेकाले समग्र औद्योगिक कर्जा बढेको राष्ट्र बैंकको भनाइ छ ।

कोशी प्रदेशपछि सबैभन्दा बढी कर्जा मधेश प्रदेशमा प्रवाह भएको छ । बैंकहरूले मधेश प्रदेशका उद्योगमा एक खर्ब नौ अर्ब ५९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव तीन प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष मधेश प्रदेशका उद्योगमा एक खर्ब दुई अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएको थियो । मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१ दशमलव शुन्य आठ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३४ प्रतिशत छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको देखिन्छ ।

गण्डकी प्रदेशमा रहेका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ३७ अर्ब ४८ करोड रूपैयाँ छ । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलव छ प्रतिशतले बढी हो ।

सुदूरपश्चिम प्रदेशका उद्योगहरूमा भने बैंक तथा वित्तीय संस्थाले २६ अर्ब ८९ करोड दुई लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव सात प्रतिशतले बढी हो । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा चार दशमलव २१ प्रतिशतले घटेको थियो । यो प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४८ प्रतिशत छ भने बझाङ जिल्लामा सबैभन्दा कम शून्य दशमलव ३१ प्रतिशत छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराका उद्योगमा क्रमशः १६ दशमलव ५६ प्रतिशत, एक दशमलव ६० प्रतिशत, एक दशमलव शून्य चार प्रतिशत, शून्य दशमलव ४२ प्रतिशत, शून्य दशमलव ६९ प्रतिशत, शून्य दशमलव ५२ प्रतिशत र शून्य दशमलव ३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेशका उद्योगमा भने बैंकहरूको लगानी निकै कम छ । यस प्रदेशमा उद्योगको संख्या पनि थोरै रहेकाले यस्तो कर्जा कम गएको बैंकहरूको भनाइ छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाले तीन अर्ब ९८ करोड ६१ लाख रूपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा आठ दशमलव ४७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६७ करोड ४७ लाख रूपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया