Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपाँचवटा प्रदेशको कृषि क्षेत्रमा बैंकहरुको झण्डै दुई खर्ब लगानी

पाँचवटा प्रदेशको कृषि क्षेत्रमा बैंकहरुको झण्डै दुई खर्ब लगानी


काठमाडौं । घरजग्गा, सवारीसाधनलगायत अनुत्पादक क्षेत्रमा ठूलो परिमाणमा कर्जा लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय कृषि कर्जामा पनि ऋण लगानी बढाउँदै लगेको देखिएको छ । नेपाल राष्ट्र बैंकको उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि क्षेत्रमा कर्जा बढाउने रणनीतिकै कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन गरी अहिलेसम्म पाँचवटा प्रदेशको छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९÷८०को अन्तिमसम्म यी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले करिब दुई खर्ब रुपैयाँ कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ५० अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले पाँचवटा प्रदेशमा एक खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिवेदनअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी कर्जा लगानी गरेका छन् । कोशी प्रदेशको कृषि क्षेत्रमा कुल ६१ अर्ब १९ करोड २६ लाख १० हजार रुपैयाँ कर्जा लगानी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष कोशी प्रदेशको कृषि क्षेत्रमा कुल ५४ अर्ब ५२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

मधेश प्रदेशको कृषि क्षेत्रमा पनि बैंकहरुले गत आर्थिक वर्षमा ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ४४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गण्डकी प्रदेशको कृषि क्षेत्रमा बैंकहरुले ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा छ दशमलव आठ प्रतिशतले बढी हो । सुुदूरपश्चिम प्रदेशकोे कृषि क्षेत्रमा बैंकहरुले १६ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।

कर्णाली प्रदेशको कृषि क्षेत्रमा बैंकहरुले सबैभन्दा कम कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७९÷८०मा बैंकहरुले कर्णाली प्रदेशको कृषि क्षेत्रमा जम्मा पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले कर्णाली प्रदेशको कृषि क्षेत्रमा चार अर्ब ९५ करोड ३९ लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया