Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१५ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१५ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले यही पुस २९ गते अर्थात् आगामी आइतबार १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । सो दिन अपराह्न दुई बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि पुस २३ गते पनि राष्ट्र बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

माघ दुई गते मंगलबार जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । सो दिन २८ दिन अवधिको आठ अर्ब रुपैयाँ र ९१ दिन अवधिको सात अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । २८ दिन अवधिको ट्रेजरी बिल २०८० फागुन एक गते र ९१ दिन अवधिको ट्रेजरी बिल २०८१ वैशाख चार गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने सबै ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गत रहेको छ । गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको आठ अर्ब र एक सय ८२ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यसैबीच राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बिहीबार २० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरी सो पैसा तानेको हो । सात दिनको अवधि तोकेर राष्ट्र बैंकले बोलकबोलको माध्यमद्वारा २० अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण बिक्री गरेको हो । बिहीबार निष्काशन भएको निक्षेप संकलन उपकरणको सावाँब्याज भुक्तानी माघ ४ गते हुनेछ । खरिदकर्ताको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म खरिद गर्न सक्नेगरी सीमा तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया