Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको बदमासी छोप्न सम्पूर्ण शक्तिको प्रयोग

एनआईसी एसिया बैंकको बदमासी छोप्न सम्पूर्ण शक्तिको प्रयोग


काठमाडौं । एनआईसी एसिया बैंकभित्रको अनियमितताको साक्षी नबस्ने भन्दै व्यक्तिगत कारण देखाएर बैंककै डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै बैंक संकटमा गएको भन्दै पैसा निकाल्नेको लाइन बढेपछि त्यसलाई रोक्न बैंकले अनेक तिकडम गरिरहेको छ ।

बैंककै उच्च तहमा रहेर काम गरिरहेका कर्मचारीलाई समेत आफ्नै बैंकमाथि विश्वास नलागेर राजीनामा दिएको चर्चापछि एनआईसीबाट पैसा निकाल्नेको चाप बढेसँगै बैंक नगद संकटमा जाने देखिएको छ ।

त्यसो त हरेक दिन एनआईसी एसियाको बदमासी छोप्न विभिन्न संघसंस्थाबाट समेत वक्तव्यहरू आइरहँदा बैंकको वास्तविक अवस्था के हो र किन जनताले एनआईसी एसिया बैंकलाई विश्वास गर्न छोडे भन्ने तथ्य कसैले उजागर गरेका छैनन् । बैंक संकटमा रहेको र खराब कर्जाहरू अत्यधिक रहेको विषयमा समाचारहरू बाहिर आइरहँदा बैंक उच्च व्यवस्थापनले आफ्नो बैंक राम्रो छ भन्ने आफैँले बनाउन लगाएको समाचार सेयर गर्न बैंकले सम्पूर्ण कर्मचारीलाई उर्दी नै जारी गरेको छ ।

बैंकको खराब अवस्थाको विषयमा समाचारहरू आइरहँदा झन् कारोबार बढेको भनेर कालिदासले रुखको हाँगाको टुप्पोमा बसेर फेदपट्टि आरा लगाएर काटेजस्तो मुख्र्याइँ विश्लेषण बैंककै उच्च तहका खनियाहरूले गरिरहेका छन् ।

बैंकको खराब वित्तीय सूचकमध्ये चालू आर्थिक वर्षको छ महिनामा नाफा ४१ दशमलव ८४ प्रतिशतले घट्नु, खराब कर्जा (एनपीएल) ९५ प्रतिशतभन्दा बढीले वृद्धि हुनु प्रमुख रहेका छन् । गत पुस मसान्तसम्म बैंकको खराब कर्जा एक दशमलव नौ प्रतिशत कायम भएको छ । जुन गत वर्षको सोही अवधिमा शून्य दशमलव ६१ प्रतिशत मात्रै थियो । बैंकको खराब कर्जा तीन अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकद्वारा जारी दोस्रो त्रैमासिक वित्तीय विवरणमा नै उल्लेख छ ।

त्यस्तै बैंकसँग करिब साढे तीन अर्ब रुपैपयाँको गैरबैंकिङ धितो थुप्रिएको छ । जसलाई पटक–पटक लिलामीमा लैजाँदा पनि बिक्री हुन नसक्दा बैंकले चालू आर्थिक वर्षमा पाँच अर्ब ६२ करोड ९० लाख रुपैयाँ ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य भएको छ । साथै ८० भन्दा बढी ऋणीको एक अर्ब रुपैयाँ ऋण असुलीका लागि एनआईसी एसिया बैंकले ऋण असुली न्यायाधीकरणमा ऋणीविरुद्ध मुद्दा दायर गरेको छ । जुन अन्य बैंकको तुलनामा उच्च हो ।

यसैगरी बैंकको खुद ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन मुनाफा २४ दशमलव १३ प्रतिशत घटेको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ नौ पैसाले घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ ।

त्यसबाहेक एनआईसी बैंकले पुँजीकोष मिलान गर्न बासेल रिपोर्टमा एक खर्ब ३४ अर्ब फर्जी कर्जा देखाएको छ । बैंकको दुई खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको छ । जब कि आवासीय कर्जामा अधिकतम २५ प्रतिशत प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकको छ ।

बैंकले करिब ३२ अर्ब कर्जाको जोखिमभार कम देखाएर प्राथमिक पुँजी कोष पुगेको देखाइएको पाइएको हो । बैंकले असोज र पुसको वित्तीय विवरणमा ऋणको जोखिमभार मिलाउन ‘क्रेडिट रिस्क’ कम देखाउने गरी बासेल प्रतिवेदनमा तोडमोड गरेको विषयमाथि राष्ट्र बैंकले अनुसन्धान गरिहेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार एनआईसी एसियाको निक्षेप माघ महिनामा तीन खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो भने गत पुसमा यसको कुल निक्षेप तीन खर्ब ८१ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

बैंकले यसै अवधिमा आफ्ना ३० भन्दा बढी शाखाहरू समेत बन्द गरेको छ । बैंकले आर्थिक संकटसँग जुध्न भन्दै गत जेठ महिनायता ३० वटा शाखारहित बैंकिङ काउन्टरहरू बन्द गरिसकेको छ । जेठमा १६, साउनमा ४, कात्तिकमा ६, माघ महिनामा ४ गर्दै ३० वटा शाखारहित बैंकिङ सेवा र विस्तारित शाखा काउन्टरहरू बन्द गरिसकेको र अन्य शाखाहरू बन्द गर्दै जाने नीति लिएको छ । पछिल्लो समयमा माघ २९ गते थप ४ वटा काउन्टर बन्द गरेको हो ।

फागुन पहिलो सातामा आइपुग्दा यो बैंकसँग जम्मा ४७ वटा शाखारहित बैंकिङ सेवा काउन्टर बाँकी छन् । बैंकले माघ २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तिमा तीन सय ६० शाखा र एक सय १५ वटा विस्तारित काउन्टर सञ्चालनमा रहेको उल्लेख छ ।

बैंकले पाँच दिनअघि मात्र चारवटा काउन्टरहरू बन्द गरेको हो । शाखारहित बैंकिङ अवधारणाअन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ नम्बर वडा, गोरखाको सिउरिनिटार, झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिंदै आएको बैंकिङ सेवा बन्द गरेको हो भने काठमाडौंमा रहेका आफ्ना शाखाहरू समेत घटाउने नीति लिएको छ ।

बैंकले सुरुका दिनमा राष्ट्र बैंकसँग मिलेर आक्रामकरूपमा शाखा खोल्नुको पछाडि समेत आर्थिक चलखेल हुनेगरेको स्रोतको भनाइ छ । बैंकहरूले दुर्गममा शाखा खोल्दा राष्ट्र बैंकसँग अनुदान लिएको भए पनि खर्च धेरै लाग्यो भने आर्थिक हिनामिना गर्नेगरेको स्रोतको दाबी छ । राष्ट्र बैंकसँग मिलेर शाखा विस्तारको नाममा आर्थिक हिनामिना गर्नकै लागि राष्ट्र बैंकसँग मिलेर शाखा विस्तारको नाटक गरेको बैंकलाई अहिले तिनै शाखाहरू घाँडो भएर बन्द गर्नुपरेको भए पनि बैंकले विभिन्न प्राविधिक कारणहरू देखाई शाखा बन्दको लागि राष्ट्र बंैकमा निवेदन दिएको हो ।

बैंकलाई आफ्नो निजी सम्पत्तिजस्तै गरेर उच्चतहका केही कर्मचारीहरूको स्वार्थमा चलाउन खोज्दा आम जनतालाई शाखाप्रमुखहरूले ढाँट्ने/छल्ने अवस्था आएसँगै बैंकप्रतिको विश्वास घटेको हो ।

बैंकले ठूला आयोजनाहरूमा कर्जा लगानी नगरी घरजग्गामा मात्र कर्जा प्रवाह गर्ने नीति लिएर ‘प्राइम लोकेसन’का ऋणीहरूलाई ऋण दिने र दिएको केही समयमा नै विभिन्न बहानामा लिलामी गर्दै आफैं एनपीए गर्ने नीति लिएसँगै धेरैको घरबार उठीबास लागेको हो ।

बैंकजस्तो ‘सेन्सेटिभ’ संस्थाको विषयमा पटक–पटक प्रश्न उठेपछि यस विषयमा बुझ्न बैंकका सूचना अधिकारीलाई बैंकले उपलब्ध गराएको टोल फ्रि नम्बरमा फोन गर्दा उनीसँग कुरा गर्न यस नमबरमा फोन गर्ने होइन भन्दै बैंकका कर्मचारीले राखिदिए भने बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई बैंकसँग सम्पर्क गर्ने सूचना अधिकारीको नम्बर उपलब्ध गराइदिन गरेको अग्रह समेत वास्ता नगरी बसेका छन् ।

बैंकको कार्यअनुभव कम भएका सीईओ न्यौपाने मारवाडीहरूको समूह विशाल ग्रुपको दबाबमा दोस्रो कार्यकालको रूपमा कार्यरत छन् ।

तत्कालीन बैंक अफ एसियामा आन्तरिक अडिटर हुँदा ग्राहकको नागरिकता दुरूपयोग गरेर सेयर खरिद प्रकरणमा मुछिएका सीईओ न्यौपाने चिलिमे जलविद्युत् कम्पनीको स्थानीयबासीका तर्फबाट सेयर खरिद गर्दा र कर्मचारीहरूसँग ३६ प्रतिशत ब्याजमा पैसा लिएर लगानी गरेको गरेर लफडामा परेको व्यक्ति भएको कतिपयले भन्नेगरेका छन् । सीईओ न्यौपानेले समेत बूढानीलकण्ठमा सरकारी जग्गा मिचेर घर बनाएपछि नगरपालिकाले केही महिनाअघि उनको घर नै भत्काइदिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया