Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगभर्नर सहभागी कार्यक्रममा राष्ट्र बैंककै महिला अधिकारीमाथि निर्लज्ज आक्रमण !

गभर्नर सहभागी कार्यक्रममा राष्ट्र बैंककै महिला अधिकारीमाथि निर्लज्ज आक्रमण !


काठमाडौं । नेपाल राट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी एक कार्यक्रममा राष्ट्र बैंककै एक महिला अधिकारीमाथि खुलेआम निर्लज्ज आक्रमणको प्रयास भएको डेढ महिना बितिसक्दा पनि उक्त घटनाको छानबिन र दोषीमाथि कारबाही हुन नसक्दा राष्ट्र बैंकभित्रका महिला कर्मचारीहरूले नेतृत्व तहबाटै असुरक्षित महसुस गर्न थालेका छन् ।

महाभारतमा भारीसभामा द्रौपदीको चीरहरण गरिएकै कथा बिर्साउने गरी गभर्नर अधिकारी आफैँ सहभागी कार्यक्रममा उनका निकटस्थ मानिएका डेपुटी गभर्नर बमबहादुर मिश्रकै सामुन्ने ती महिला अधिकारीको निर्लज्ज आक्रमणको प्रयास भएको थियो । घटना गत पुस २७ गते साँझ भएको थियो । राष्ट्र बैंकको दुई दिने आवासीय कार्यक्रममा सहभागी हुन गभर्नर अधिकारीसहित ५० जनाभन्दा बढी कर्मचारी त्यहाँ पुगेका थिए ।

तनाव व्यवस्थापनसम्बन्धी तालिममा सहभागी हुन पुगेका गभर्नर अधिकारीलगायत प्रायः सबै मदिराले झुम भएका थिए । उनीहरूमध्ये डेपुटी गभर्नर मिश्र सुपरीवेक्षक विभाग प्रमुख देवकुमार ढकाल र थानेश्वर आचार्य एकै ठाउँमा बसेर मदिरापान गरिरहेका थिए । खाना खान आएकी ती महिला अधिकारीलाई पहिला आचार्यले नमस्कार म्याडम भनेको र उनी खानाको लाइनतर्फ अगाडि बढेपछि सबैका अगाडि पछाडिबाट झम्टिएर अँगालो हालेको घटना लुकाउँदालुकाउँदै पनि सार्वजनिक हुन पुगेको छ ।

घटना भएको दश दिन पछाडि अर्थात् माघ ७ गते डेपुटी गभर्नर मिश्रले ती महिला अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर नगरकोटको घटनाको पत्रकारले सोधीखोजी गरेको भनी ब्ल्याकमेलिङ समेत गरेको बताइएको छ ।

ती महिलालाई निःशब्द बनाएर उनले पत्रकारलाई फोन गरेर अहिले त्योसम्बन्धी समाचार नछाप्न आदेश दिएका थिए । त्यसपछि डेपुटी गभर्नर मिश्रले आचार्यलाई कारबाही गर्ने कुरा छाडिदिन निरन्तर लबिइङ गर्दै आएका छन् ।

माघ ८ गते आरोपी आचार्यलाई लिएर डेपुटी गभर्नर मिश्र ती पीडित महिला अधिकारीको कार्यकक्षमा पुगेको र आचार्यलाई माफी दिन आग्रह गरेको बताइएको छ ।

पीडित महिला अधिकारीले आचार्यले गरेको हर्कत, डेपुटी गभर्नर मिश्रले गरेको संरक्षण, पत्रकार लगाएर गरिएको ब्ल्याकमेलिङलगायत सबै घटना गभर्नर अधिकारीलाई जानकारी गराउँदा उनले पनि छानबिन र कारबाहीमा चासो नदिएको पाइएको छ ।

ती पीडित महिला अधिकारीलाई डेपुटी गभर्नर मिश्र र सुपरीवेक्षण विभागका प्रमुख देवकुमार ढकाल निकट ती पत्रकारले उक्त घटनाको भिडियो आफूसँग सुरक्षित रहेको र घटनालाई अघि बढाए कुनै पनि बेला सार्वजनिक गर्ने धम्की दिँदै आएको बताइएको छ ।

त्यसपछि उनले आरोपी आचार्यमाथि कारबाहीको माग गर्दै गभर्नर अधिकारी समक्ष लिखित निवेदन दिएको पनि एक महिना बितिसकेको छ । तर कुनै कारबाही भएको छैन । ती महिला अधिकारीले गभर्नर अधिकारी समक्ष कारबाहीको लागि निवेदन दिन लाग्दा कार्यकारी निर्देशक ढकालले उनलाई रोक्न निकै प्रयास गरेका थिए ।

ती महिलाको कार्यकक्षमै पुगेर आचार्यलाई जोगाउन अन्तिम प्रयास गरेका थिए तर उनको प्रलोभनको पासोमा नपरेर उनले कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् । त्यसपछि मात्र गभर्नर अधिकारीले छानबिनको लागि निर्देशन दिएका थिए । निवेदन दिएपछि ढकालले आफू निकट एक महिला पत्रकारलाई बोलाएर घटना सार्वजनिक गर्न लगाएका थिए ।

अहिले मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीको नेतृत्वमा उक्त घटनाको छानबिन भइरहेको छ ।

उक्त घटनाले राष्ट्र बैंकभित्रको आन्तरिक विवादलाई सतहमा ल्याएको देखाएको छ । देखावटीरूपमा आचार्यले ती महिला अधिकारीमाथि दुव्र्यवहार गरेको देखिए पनि डेपुटी गभर्नर मिश्रले आचार्यको पक्षपोषण गरेको पत्रकार लगाएर महिलालाई गलाउन खोजेको कार्यकारी निर्देशक ढकालले उजुरबाजुरमा नगई मिलापत्र गर्न दबाब दिएको, घटनाका बारेमा राष्ट्र बैंकका प्रवक्तादेखि सूचना अधिकारीसम्मले मौनता साँधेको गभर्नर अधिकारीले महिलालाई झुक्याएर निवेदन दिएपछि मात्र छानबिन गर्न निर्देशन दिएको र छानबिनको गति पनि सुस्त रहनुले नेपाल राष्ट्र बैंकभित्र गभर्नर पक्षले ती महिला अधिकारीसँग संगठितरूपमा बदला लिएको हुन सक्ने आशंका बढ्दै गएको छ ।

त्यस घटनामा अगाडि देखिएका पात्र आचार्य पनि निमित्त नायक मात्र रहेको हुन सक्ने सम्भावना बढ्दै गएको छ । अहिले राष्ट्र बैंकभित्र उक्त घटनालाई संगठितरूपमै दबाउने प्रयास भइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया