Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो । मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा पाँच हजारभन्दा बढी व्यक्तिहरूलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरूमा दुई सय ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता थियो । बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाउँपालिका, रसुवा जिल्लाको कालिका गाउँपालिका र गोसाईँकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रमहरूमा एक हजार दुई सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको वालिङ नगरपालिका, नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाउँपालिका, लमजुङ जिल्लाको बेँशीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा नौ सयभन्दा बढी स्थानीयहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगञ्ज नगरपालिका, बाणगङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका, गुल्मी जिल्लाको मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २५ सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाउँपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा दुई सयभन्दा बढी लक्षितवर्गहरूको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरूबाट नौ हजारभन्दा बढी लक्षित वर्गहरूलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना तीन सय ५० भन्दा बढी शाखाहरूमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया