Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेरुडे र मिर्मिरेको एकीकृत कारोबार सुरु

नेरुडे र मिर्मिरेको एकीकृत कारोबार सुरु


काठमाडौं । मोरङको विराटनगरस्थित नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको बनेपास्थित मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर सम्पन्न भई बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू भएको हो । काठमाडौंस्थित होटल एल्लो प्यागोडामा एक समारोहका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले पानसमा दीप प्रज्वलनसहित उद्घाटन गर्नुभई एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रमुख अतिथि पौडेलले मर्जरले दुई संस्था अझै सबल र अग्रणी बन्दै गएकोमा शुभकामना दिए । अबको दिनमा अवसरहरू सिर्जना हुँदै गएको अवस्थामा केही चुनौतीहरू पनि आउन सक्ने भएकाले त्यस्ता चुनौतीहरूलाई दुवै संस्थाको सबल पक्षहरूलाई आत्मसाथ गर्दै चिर्दै जानुपर्ने बताए । साथै, अहिले बजारमा अनेक हल्ला र अफवाहहरू फैलिएको र कर्जा लिए पछि कुनै पनि हालतमा तिर्नैपर्छ, होला केही ऋणीहरूलाई समस्या परेको हुन सक्छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले ऋणीहरूको लागि कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिनको लागि वित्तीय संस्थाहरूलाई निर्देशन पनि जारी गरिएको बताए ।

कार्यक्रममा अतिथिको रूपमा बोल्दै माइक्रोफाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले मर्जरमा समस्याहरू पनि हुन्छन् र राम्रा पक्षहरू पनि हुने र राम्रा पक्षहरूलाई लिएर अगाडि बढ्न सकेमा लघुवित्त वित्तीय संस्थाहरू नमुनाको बन्ने र बजारमा नकारात्मक तत्वहरूलाई कानुनी दायरामा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल सरकार अविलम्ब लाग्नुपर्ने र यसमा सबै वित्तीय संस्थाहरू ऐक्यबद्ध हुनुपर्ने समेत बताए ।

त्यसैगरी अर्का अतिथि नेपाल लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादवले अब लघुवित्तहरू बलियो बन्नको लागि मर्जर र एक्विजिसनको विकल्प नभएको र लघुवित्त वित्तीय संस्था परिष्कृत बनाउनको लागि राष्ट्र बैंकले मर्जरको राम्रो पोलिसी ल्याएको र अब सीमित लघुवित्त वित्तीय संस्थाहरू रहनुपर्नेमा दुईमत नभएको बताए ।

कार्यक्रममा साविक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष डा भेषप्रसाद धमलाले अहिले लघुवित्त क्षेत्रमा ग्रहण लागेको अवस्थामा अब विस्तारै उज्यालो हुँदै जाओस् भनेर शुभकामना दिए । कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरू, पूर्वअध्यक्ष तथा सञ्चालकहरू सेयरधनीहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा उपस्थितहरूलाई संस्थाका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मणिकुमार अज्र्यालले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । संस्थाका अध्यक्ष सन्तोष फुयालको सभाध्यक्षता गर्दै समारोहमा उपस्थित एवम् मर्जर कार्यको लागि प्रत्यक्ष÷अप्रत्यक्षरूपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

दुई संस्थाको एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ करोड ६४ लाख पाँच सय ४५ रुपैयाको रहेको छ भने एकीकृत कारोबारपश्चात संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नं ८ मा रहने भएको छ । मर्जरपश्चात् दुवै संस्थाको गरी दुई सय ६० भन्दा बढी शाखा सञ्जाल रहनेछ भने एक हजार दुई सयभन्दा बढी कर्मचारीहरूसहित लघुवित्त क्षेत्रमा सबैभन्दा बढी कर्मचारीहरू रहेको संस्था बनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया