Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषयमा छलफल

नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषयमा छलफल


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संसारमै लब्धप्रतिष्ठित तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तक्र्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको कुरा बताए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रियस्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने बताए । यस प्रकारको आयोजनाले ज्ञानको आदान प्रदान हुनेमा विश्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरू चालिरहेको कुरा बताए । संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरू जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्यक्षरूपमा काम गरिरहेका फिलिप ज्याक्सनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए । बीमा बजारको विकासका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे । विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा बृहत् प्रस्तुतीकरण दिएका थिए । साथै, नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।

यसैगरी ज्याक्सनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरू प्रकट गरे । उनले अरू मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के–कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सारगर्भित सल्लाहहरू दिए । यसका साथसाथै उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरूलाई औँल्लाउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रूपमा उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारी तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्सनले दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया