Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा नयाँ व्यवस्था

राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा नयाँ व्यवस्था


काठमाडौं । वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्थासहित ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४’को दोस्रो संशोधन भएको छ । वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयमा निरीक्षण तथा सुपरिवेक्षणसम्बन्धी कार्य वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेगरी विनियमावली संशोधन गरेको हो ।

वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा हाल गभर्नर कार्यालयअन्तर्गत रहेको छ । संशोधित विनियमावलीले महाशाखालाई तोकिएको कार्य गर्न छुट्टै कार्यविधि बनाई लागू गर्नसक्ने अधिकार दिएको छ । तर, सम्बन्धित सुपरीवेक्षण विभागसँग समन्वय गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

विनियमावलीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षणको व्यवस्था सम्बन्धमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले गर्नसक्ने व्यवस्था गरिएको छ । यस्तो कार्य गर्दा महाशाखाले छुट्टै युनिट बनाई लागू गर्नसक्ने विनियमावलीमा उल्लेख छ ।

विनियमावलीअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको निरीक्षण गर्दा स्थलगत र गैरस्थलगतरूपमा निरीक्षण गरिनेछ । यसअन्तर्गत सम्बन्धित महाशाखाको कार्ययोजनाअन्तर्गत रही बैंक वा वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण गर्दा वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण गर्नेछ । तर, दुई समष्टिगत स्थलगत निरीक्षण अवधिबीचको अन्तर दुई वर्षभन्दा बढी नहुने व्यवस्था गरेको छ ।

समष्टिगत स्थलगत निरीक्षण गर्दा बैंक वा वित्तीय संस्थाको व्यवसायमा अन्तरनिहित विभिन्न प्रकारका जोखिम न्यूनीकरण गर्न संस्थामा प्रयुक्त प्रणाली पर्याप्त भए÷नभएको हेर्नुपर्नेछ । समष्टिगत स्थलगत निरीक्षणभित्र सामान्यतया सञ्चालक समितिको गठन र बैठकका निर्णयहरू, रणनीतिक कार्ययोजना, व्यावसायिक कार्ययोजना, आन्तरिक नियन्त्रण प्रणाली, पुँजी योजना तथा पुँजीकोष पर्याप्तता, कोष एवं सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्जा प्रशासन, नीति, निर्देशिका, सम्पत्तिको गुणस्तर तथा कर्जा जोखिम व्यवस्थापन, तरलता, बजार, ब्याजदर तथा सञ्चालन जोखिम व्यवस्थापन, विदेशी विनिमय कारोबार तथा विदेशी विनिमय जोखिम व्यवस्थापन, समग्र जोखिम व्यवस्थापन, वासलातबाहिरका कारोबारहरूको स्थिति, व्यवस्थापन सूचना प्रणाली, अभिलेख प्रणाली र सुरक्षा, मानव संशाधन व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण कानुन र निर्देशनको कार्यान्वयन अवस्था, सम्बन्धित बैंक वा वित्तीय संस्थाहरूले तयार गरी कार्यान्वयनमा ल्याएका सबै नीति, कार्यविधि, मार्गदर्शन (म्यानुअल, गाइडलाइन) आदिको विवरण र सोको अध्यावधिक अवस्था, प्रचलित कानुन तथा राष्ट्र बैंकबाट जारी गरिएका नियमन, आदेश तथा निर्देशनको अनुपालनाको अवस्था र विभागले तोकेका तथा आवश्यक ठानेको अन्य विषय तथा क्षेत्रहरू समावेश गरेको हुनुपर्ने संशोधित विनियमावलीमा उल्लेख छ ।

समष्टिगत स्थलगत निरीक्षणअन्तर्गत विभागले बैंक वा वित्तीय संस्थामा निरीक्षण टोली पठाई बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरू तोकेको छ । जस्तै– अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलगायतका क्षेत्रहरू समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्नसक्ने विनियमावलीमा उल्लेख छ । यसैगरी लक्षित निरीक्षणअन्तर्गत बैंक वा वित्तीय संस्थाको समग्र जोखिम विवरण (रिस्क प्रोफाइल)को आधारमा उच्च जोखिम देखिएका क्षेत्रहरू, गैरस्थलगत सुपरिवेक्षण इकाइ, प्रतिवेदन कार्यान्वयन इकाइबाट पहिचान भएका विषयहरू वा विभागले मनासिब ठानेका कुनै विशेष क्षेत्र वा कारोबारका लागि विभागले लक्षित निरीक्षण कार्य गर्न सकिने राष्ट्र बैंक्को भनाइ छ । विशेष निरीक्षणअन्तर्गत भने गैरस्थलगत सुपरिवेक्षण, प्रतिवेदन कार्यान्वयन इकाइ, सार्वजनिक सञ्चार माध्यम, विभिन्न सरकारी एवं अन्य निकायहरूको अनुरोध/निर्देशन/आदेश, उजुरी एवं अन्य स्रोतबाट प्राप्त जानकारीको आधारमा कुनै बैंक वा वित्तीय संस्थामा निक्षेपकर्ताको हितविपरीत कार्य भइरहेको वा अनियमितता भइरहेको वा बैंक वा वित्तीय संस्था सुचारूरूपले सञ्चालन नभएको वा सर्वसाधारणलाई गलत सूचना प्रवाह गरिरहेको वा जोखिम विवरण (रिस्क प्रोफाइल)मा अप्रत्यासित परिवर्तन भएको भन्ने विभागले महसुस गरेमा त्यस्तो बैंक वा वित्तीय संस्थाको जोखिमका क्षेत्रहरू समेटी विशेष निरीक्षण कार्य गर्न सकिनेछ । यस्तो निरीक्षण आकस्मिकरूपमा पनि गर्न सकिने विनियमावलीमा उल्लेख छ ।

अनुगमन निरीक्षणअन्तर्गत स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरूको सुधार गर्न दिइएका निर्देशनहरूको कार्यान्वयनको सम्बन्धमा बैंक वा वित्तीय संस्थाले पेस गरेको कागजातप्रति विभाग विश्वस्त हुन चाहेमा वा विभागले अनुगमन निरीक्षण आवश्यक ठानेमा बैंक वा वित्तीय संस्थामा गई वा विस्तृत विवरण वा सूचनाहरू विभागमा झिकाई अनुगमन निरीक्षण कार्य गर्न सक्नेछ । गैरस्थलगत सुपरिवेक्षणअन्तर्गत विभागले बैंक वा वित्तीय संस्थाहरूबाट प्राप्त सूचना, जानकारी एवं विवरणहरूको आधारमा गैरस्थलगत सुपरिवेक्षण गर्नसक्ने विनियमावलीमा उल्लेख छ ।

संशोधित विनियमावलीअनुसार राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाको कारबाही बाधा अड्काउ फुकाउमा गभर्नरको आदेशले नै कार्यान्वयनमा लैजान सक्नेछ । विनियमावलीमा भनिएको छ, ‘यस विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गभर्नरले फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।’ सोही दफाको उपदफा (१) मा भनिएको छ, ‘बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा सोको कारण र औचित्य समेत खुलाउनुपर्नेछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया