Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन घट्यो भारतीय रुपैयाँको खरिद ?

किन घट्यो भारतीय रुपैयाँको खरिद ?

राष्ट्र बैंक भन्छ, ‘तीन खर्ब २७ अर्ब भारु सञ्चिति छ’


काठमाडौं । नेपालमा पछिल्लो समय भारतीय रूपैयाँको खरिद घटेको छ । सत्ता–समीकरण परिवर्तन भएसँगै नेपाली बजारमा भारतीय रूपैयाँ सस्तो भएको थियो । नेपाली र भारतीय मुद्राको बीचमा स्थिर विनिमय दर कायम छ । सोअनुसार प्रतिएक रूपैयाँ भारुको लागि नेपाली बजारमा एक सय ६० रूपैयाँ तिर्नुपर्छ । तर, पछिल्लो समय नेपाली बजारमा एक भारुको लागि नेपाली रूपैयाँ एक सय ५० देखि एक सय ५५ रूपैयाँसम्म तिरेको पाइन्छ । यसरी भारतीय रूपैयाँको स्थिर विनिमय दरभन्दा कम मूल्यमा बजारमा छ्यापछयाप्ती पाउनु र अर्कोतर्फ सरकारले गर्ने भारतीय रूपैयाँको खरिद पनि घट्नुले नेपाली बजारमा अवैधरूपमा भारतीय मुद्राको कारोबार भएको हुनसक्ने आशंका उब्जिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको पछिल्लो आठ महिना अर्थात् फागुन मसान्तसम्म केन्द्रीय बैंकले दुई अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरी तीन खर्ब ३७ अर्ब चार करोड भारतीय रूपैयाँ खरिद गरेको छ । यसरी खरिद गरिएको भारतीय रूपैयाँ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब रूपैयाँले कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब आठ करोड बिक्री गरी चार खर्ब एक अर्ब ६२ करोडबराबरको भारतीय रूपैयाँ खरिद भएको थियो ।

साउनदेखि फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले पाँच खर्ब ६२ अर्ब ६१ करोड रूपैयाँबराबरको तरलता उपयोग गरेका छन् । यसअन्तर्गत राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पाँच खर्ब ६१ अर्ब ४१ करोड गरी कुल पाँच खर्ब ६२ अर्ब ६१ करोड रूपैयाँ कारोबारमा आधारित तरलता उपयोग भएको हो । यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत पाँच खर्ब ९३ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधामार्फत पाँच खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड रूपैयाँ कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत ३६ खर्ब ९२ अर्ब २८ करोड तरलता प्रवाह गरिएको थियो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर तीन अर्ब ७४ करोड खुद खरिद गरी चार खर्ब ९६ अर्ब ६६ करोड विदेशी विनिमय तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ७० करोड खुद खरिद गरी चार खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको थियो ।

तथ्यांकअनुसार फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड विदेशी विनिमय सञ्चिति छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया