Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्तहरूको खराब कर्जा २४ अर्ब

लघुवित्तहरूको खराब कर्जा २४ अर्ब


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा उच्चरूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदन २०७९/८० अनुसार औसत खराब कर्जा पाँच दशमलव छ प्रतिशत छ । केही लघुवित्तको खराब कर्जा १० प्रतिशत नाघेको छ । लघुवित्तहरुको खराब कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ७८ दशमलव शून्य नौ प्रतिशले बढेर २४ अर्ब २१ करोड रूपैयाँ पुगेको छ ।

प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा खराब कर्जा अनुपात दुई दशमलब ७२ प्रतिशत रहेकोमा २०७९ असारमा तीन दशमलव शून्य दुई प्रतिशत र २०८० असारमा पाँच दशमलव छ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षमा खराब कर्जा थप बढ्ने देखिएको छ ।

लघुवित्त संस्थाहरूको कुल कर्जामा पनि संकुचन आएको छ । २०८० असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कुल कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलब ८८ प्रतिशतले घटेर चार खर्ब ३२ अर्ब २४ करोड रूपैयाँ कायम भएको छ । २०७९ सालको असार मसान्तसम्म भने कर्जाको वृद्धि २३ दशमलव शून्य तीन प्रतिशतले बढेर चार खर्ब ४९ अर्ब ७२ करोड रूपैयाँ पुगेको थियो । प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल कर्जा सापट २३ दशमलव शून्य तीन प्रतिशतले बढेर खर्ब ४९ अर्ब ७२ करोड रूपैयाँ कायम थियो ।

२०७९ असार मसान्तमा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरू रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा आठवटा संस्था मर्जर तथा प्राप्तिमा गएकोले २०८० असार मसान्तमा कुल ५७ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । जसमध्ये राष्ट्रियस्तरका ४२, प्रदेशस्तरका ११ र क्षेत्रीय÷जिल्लास्तर कार्यक्षेत्र भएका चारवटा संस्था रहेको प्रतिवेदनमा उल्लेख छ । सोमध्ये दुईवटा संस्था सर्वसाधारणहरूबाट निक्षेप स्वीकार गर्ने र बाँकी ५५ संस्था सर्वसाधारणहरूबाट निक्षेप स्वीकार नगर्ने प्रकृतिका संस्था रहेका छन् । प्रतिवेदनअनुसार कुल ५७ संस्थाहरूमध्ये थोक कर्जा प्रदायक संस्था तीनवटा र खुद्रा कर्जा प्रदायक संस्था ५४ रहेका छन् । २०८० असार मसान्तसम्ममा ५७ लघुवित्त वित्तीय संस्थाले पाँच हजार ७३ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएका छन् भने लघुवित्त संस्थाहरूको केन्द्र संख्या चार लाख ४६ हजार, समूह संख्या १३ लाख ९१ हजार, सदस्य संख्या ६० लाख १६ हजार तथा ऋणी संख्या २९ लाख ८४ हजार रहेका छन् । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाको उपस्थिति ७७ वटै जिल्लामा रहेको छ ।

प्रतिवेदनअनुसार २०८० असार मसान्तमा लघुवित्त संस्थाहरूमा २२ हजार चार सय ९३ जना कर्मचारीहरू कार्यरत रहेको दखिएको छ भने प्रतिशाखाले औसतमा एक हजार एक सय ८६ सदस्यहरूलाई सेवा दिइरहेको छ ।

राष्ट्र बैंकले ५७ मध्ये ५० वटा लघुवित्त वित्तीय संस्थाको निरीक्षण गरेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा ४३ वटा लघुवित्त वित्तीय संस्थाहरूको स्थलगत निरीक्षण, चारवटा संस्थाको अनुगमन निरीक्षण र ३ वटाको विशेष स्थलगत निरीक्षण सम्पन्न गरिएको हो ।

राष्ट्र बैंकले ४८ लघुवित्तहरूको गैरस्थलगत सुपरिवेक्षण गरी आवश्यक थप निर्देशनसहित वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्त वित्तीय संस्थाको जोखिम भारित सम्पत्तिमा एक दशमलव ९३ प्रतिशत, लगानीमा ४६ दशमलव १३ तथा कुल बचत तथा सापटी शून्य दशमलव ६४ प्रतिशतले कमी आएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो वर्ष संस्थाहरूको कर्जा लगानी तीन दशमलव ८८ प्रतिशतले ह्रास हुँदा निष्क्रिय कर्जा ७८ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज खर्चमा १७ दशमलव ३६ प्रतिशतको उल्लेखनीय वृद्धि तथा ब्याज आम्दानीमा एक दशमलव ९६ प्रतिशतको सामान्य वृद्धिले गर्दा संस्थाहरूको सञ्चालन आम्दानीमा ४० दशमलव ९१ प्रतिशत तथा खुद नाफामा ५९ दशमलव ८२ प्रतिशतले ह्रास आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया