Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरूको खराब कर्जा झण्डै छ प्रतिशत

विकास बैंकहरूको खराब कर्जा झण्डै छ प्रतिशत


काठमाडौं । अर्थतन्त्रले लय समाउन नसक्दा विकास बैंकहरूको नाफा प्रभावित भएको छ । अर्थतन्त्र शिथिल हुँदा विकास बैंकहरूले कर्जाको साँवाब्याज नियमित असुली गर्न नसक्दा खराब कर्जा बढेको छ । त्यसका लागि धेरै पैसा व्यवस्था गर्नुपर्दा नाफामा गिरावट आएको छ ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्ये हालसम्म एक दर्जनले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकोमा आधा दर्जनको खुद मुनाफा घटेको छ । पाँच वटा विकास बैंकहरूको खुद मुनाफा सामान्य बढेको छ भने क्षेत्रीयस्तरको सिन्धु विकास बैंकले खुद नोक्सानी व्यहोरेको छ । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढेको छ । यस अवधिमा शाइन रेसुंगा, महालक्ष्मी, लुम्बिनी, साङ्ग्रिला, ज्योति र कर्पोरेट डेभलपमेन्ट बैंकको खुद मुनाफा घटेको छ ।

मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ८७ करोड १८ लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको नाफा ८० करोड ६२ लाख २४ हजार रूपैयाँ थियो । मुक्तिनाथको खराब कर्जा पनि बढेको छ । गत आर्थिक वर्ष तेस्रो त्रैमासमा एक दशमलव ९० प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष बढेर दुई दशमलव शून्य दुई प्रतिशत पुगेको छ ।

गरिमा विकास बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६८ करोड ३४ लाख ६२ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन करोड रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ६५ करोड १८ लाख ७१ हजार रूपैयाँ थियो । गरिमाको खराब कर्जा पनि एक वर्षअघिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको चैतमा दुई दशमलव ९५ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष चैतमा दुई दशमलव ९७ प्रतिशत पुगेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५१ करोड ४६ लाख ५९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैेंकको खराब कर्जा तीन दशमलव ४१ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५५ करोड ४५ लाख एक हजार रूपैयाँ खुद नाफा कमाएको थियो भने खराब कर्जा दुई दशमलव ११ प्रतिशत थियो ।

महालक्ष्मी विकास बैंकले चैतसम्म ३७ करोड ३५ लाख ५१ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने खराब कर्जा चार दशमलव १६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३७ करोड ८९ लाख ४९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो भने खराब कर्जा चार दशमलव ६२ प्रतिशत थियो ।

लुम्बिनी विकास बैंकले गत चैतसम्म ३४ करोड २१ लाख ६८ हजार रूपैयाँ खुद नाफा कमाउँदा तीन दशमलव ६९ प्रतिशत कर्जा खराब देखिएको छ । एक वर्षअघि बैंकको खुद नाफा ४६ करोड ८१ लाख ५१ हजार रूपैयाँ र खराब कर्जा तीन दशमलव ७६ प्रतिशत थियो ।

कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ५५ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको नौ महिनामा ३० करोड ५६ लाख ७९ हजार रूपैयाँ नाफा कमाउँदा खराब कर्जा तीन दशमलव २७ प्रतिशत थियो । साङ्ग्रिला डेभलपमेन्ट बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २३ करोड ९६ लाख ८९ हजार रूपैयाँ नाफा कमाएको छ भने खराब कर्जा तीन दशमलव ८४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २४ करोड ६१ लाख ४८ हजार रूपैयाँ नाफा कमाउँदा तीन दशमलव ५५ प्रतिशत खराब कर्जा थियो । ज्योति विकास बैंकले गत चैतसम्म १५ करोड २४ लाख ३३ हजार रूपैयाँ नाफा कमाएको छ भने खराब कर्जा चार दशमलव ९७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड १६ लाख १८ हजार रूपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ८९ प्रतिशत थियो । कर्णाली डेभलपमेन्ट बेैंकले पनि चालू आवको तेस्रो त्रैमासमा दुई करोड ८८ लाख सात हजार पाँच सय ९३ रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ९६ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा उक्त बैंकले एक करोड ७३ लाख ३४ हजार नौ सय ३८ रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव २६ प्रतिशत कर्जा खराब देखिएको थियो । ग्रिन डेभलपमेन्ट बैंकले पनि गत चैतसम्म एक करोड ८१ लाख २५ हजार रूपैयाँ नाफा कमाएको छ । बैंकको खराब कर्जा पाँच दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक करोड तीन लाख नौ हजार रूपैयाँ नाफा कमाएको थियो भने चार दशमलव ९९ प्रतिशत खराब कर्जा थियो । कर्पोरेट डेभलपमेन्ट बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक करोड ३० लाख ३७ हजार रूपैयाँ नाफा कमाएको थियो भने चार दशमलव १८ प्रतिशत खराब कर्जा थियो ।

सिन्धु विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ४० लाख ७९ हजार रूपैयाँ नोक्सानी व्यहोरेको छ । यस्तै, बैंकको खराब कर्जा तीन दशमलव ६५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक करोड ४८ लाख ७५ हजार रूपैयाँ नोक्सानी व्यहोरेको थियो भने खराब कर्जा चार दशमलव २७ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया