Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक घोटाला प्रकरणमा नौ जना पक्राउ

सेञ्चुरी बैंक घोटाला प्रकरणमा नौ जना पक्राउ


काठमाडौं । ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखान यतिखेर तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको जीवनसँग मेल खाएको छ । सधैँ सत्ता र शक्तिको वरिपरि बसेर आफ्नो अपराधकर्मको ढाकछोप गरी उन्मुक्ति पाउँदै आएका श्रेष्ठ अन्ततः पक्राउ पर्नुले पनि पाप धुरीबाट कराउँछ भन्ने उखानले सार्थकता पाएको हो ।

राजनीतिकरूपमा आफू कांग्रेसी भए पनि आफ्ना आर्थिक अभीष्ट पूरा गर्न सधैँ माओवादीसँग नजिक रहेर काम गर्नेगरेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौं उपत्यका र अन्यलाई उपत्यकाबाहिरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरूमा सेञ्चुरीका तत्कालीन अध्यक्ष श्रेष्ठसहित सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

अध्यक्षसहितका आठ व्यक्ति पक्राउ परेलगत्तै सोही दिन सेञ्चुरीका तत्कालीन सञ्चालक अभिषेक बज्राचार्य पनि धरानबाट पक्राउ परेका छन् । प्रहरी उपरीक्षक बोगटीका अनुसार बज्राचार्यसहित सेञ्चुरी बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेहरूको संख्या नौ पुगेको छ ।

तत्कालीन सेञ्चुरी बैंकले हाल पुर्पक्षका लागि थुनामा रहेका ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँको संलग्नतामा खोलिएका पूजा ट्रेडिङ एन्ड मार्केट्स लिमिटेड, थ्रि ब्रदर्स मार्केटिङ लिमिटेड, पूजा मार्केटिङ लिमिटेड र अन्नपूर्ण डिस्ट्रिलरी प्रालि समेतलाई धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको देखिएको थियो । सेञ्चुरीको यो समूहले देउराली सहकारीसँग सम्बन्धित कम्पनीहरूलाई कर्जा प्रवाह गर्दा एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रूपैयाँ धितो मूल्यांकन गरिएको भए पनि सोभन्दा बढी अर्थात् दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रूपैयाँ कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ ।

धितो मूल्याङ्कनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रूपैयाँ अधिक कर्जा प्रवाह गरिएको थियो । यसरी धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह भएको देखिएपछि सीआईबीले यसअघि अर्थात् २०८० फागुन १५ गते तत्कालीन सेञ्चुरीका ११ जना अभियुक्तहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका ती व्यक्तिहरू अनुसन्धानपश्चात् हाजिरी जमानीमा छुटेका थिए । सोपश्चात् सोही प्रकरणको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले पनि आफ्नो छुट्टै अनुसन्धान युनिट खटाएको थियो । ‘हाल भने राष्ट्र बैंक र सीआईबीको अनुसन्धानमा थप प्रमाणहरू फेला परेपछि तत्कालीन सेञ्चुरीका तत्कालीन अध्यक्षसहितका नौ जना अभियुक्तहरूलाई पक्राउ गरेका हौँ’, सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक बोगटीले भने ।

यसअघि सोही प्रकरणमा सीआईबीले सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, राजेश भण्डारी, दिलिप बराल, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, सुशील प्रधान र सन्ध्या श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै अभियुक्तउपर सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धान गरेको थियो ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंक घोटाला प्रकरणमा पक्राउ परेका तत्कालीन अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद उमेश श्रेष्ठका भाइ हुन् । केही समय स्वास्थ्य राज्यमन्त्री समेत भएका उमेशसँगै राजेश पनि कांग्रेसी नै हुन् । तर, राजेश कांग्रेसी भए पनि आफ्नो स्वार्थ र फाइदाको लागि माओवादीको सेवा गरिरहने अवसरवादी व्यक्ति रहेको स्रोतको भनाइ छ । माओवादी नेता जनार्धन शर्मासँग राजेशको विशेष सम्बन्ध रहेको छ । अर्थमन्त्री हुनुअघि केही समय शर्मा राजेशको घरमा बसेका थिए । पछि अर्थमन्त्री भएपछि शर्मासँगको राजेशको सम्बन्ध झन् बाक्लिएको थियो । सोही कारण देउराली सहकारीसँग जोडिएका धेरै व्यक्तिहरू कारबाहीमा परिसक्दा पनि राजेश भने कारबाहीमा नपरी जोगिँदै आएका थिए । बैंकमा सबै निर्णय गर्ने अध्यक्ष श्रेष्ठ भए पनि यसअघि सीआईबीले बैंकमा कार्यरत ११ जना कर्मचारीहरूलाई मात्र पक्राउ गरेको थियो । सोही विषयमा आर्थिक दैनिकले पटक–पटक समाचार सम्प्रेषण गरेपछि आर्थिक दैनिकका प्र्रतिनिधिलाई अध्यक्ष श्रेष्ठले समाचारको विषयलाई लिएर धम्काएका थिए ।

छोटो समयमा माफिया गरी धन कमाएका उमेश श्रेष्ठको कालोधनको आडमा राजनीतिलाई अपराधीकरण गरेर दिन दुई गुणा रात चौगुणा सम्पत्ति आर्जन गर्न सफल भएका सेञ्चुरीका तत्कालीन अध्यक्ष श्रेष्ठ नाताले उमेश श्रेष्ठको भाइ पर्ने व्यक्ति हुन् । खासै व्यावसायिक पृष्ठभूमि नभएका उमेश श्रेष्ठ पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचान सिंह श्रेष्ठसँगको रहस्यमय सम्बन्धको फाइदा उठाएर यो समूहले आर्थिक उपार्जन गरेको थियो । तत्कालीन समय मरिचमानकी छोरी सिंगापुर भ्रमणबाट स्वदेश फर्कँर्दा सँगै गएका उमेश श्रेष्ठले मरिचमानकी छोरीको सुटकेसमा सुन ल्याई भन्सार जाँचपासविनै सुन पास गराउन सफल भएका थिए । सोही धनबाट व्यवसायी बनेको यो समूह त्यही कालोधनको आडमा राजनीतिलाई अपराधीकरण गर्दै आएको छ । अहिले कांग्रेस सत्तामा नभएको र सत्तापक्षले प्रतिपक्षमाथि धावा बोल्ने क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका श्रेष्ठका भाई राजेश श्रेष्ठ (जो कांग्रेसी हुन्) उनको पक्राउलाई अर्थपूर्णरूपमा हेरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x