Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअर्थतन्त्रका सूचकहरू सकारात्मक

अर्थतन्त्रका सूचकहरू सकारात्मक

रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढ्यो


काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकाशंक सूचकहरू सकारात्मक देखिएका छन् ।

प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेको छ । विदेशी विनिमय सञ्चिति बढेको छ, शोधनान्तर स्थितिमा राम्रो सुधार भएकोे देखिएको छ । यस्तै, विस्तृत मुद्राप्रदाय बढेको छ भने व्यापार घाटा घटेको छ । मूल्यवृद्धिदर पनि गत वर्षको तुलनामा घटेको छ ।

अर्थतन्त्रका बाहय क्षेत्रका सूचकहरू सकारात्मक देखिए पनि केही आन्तरिक सूचकहरू दबाबमै देखिएका छन् । निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा सुस्तता छ । सरकारी वित्तमा दबाब परेको छ भने निर्यात बढ्न सकेको छैन । मूल्यवृद्धिदरमा भने सुधार आएको छ । तर वैदेशिक भ्रमण र अध्ययन खर्च बढ्दै गएको सेवा आय घाटामा देखिएको छ ।

मूल्यवृद्धि नियन्त्रणमा : देशको मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रित देखिएको छ । २०८० असार मसान्तमा सात दशमलव ७४ प्रतिशत रहेको मुद्रास्फीति १० महिनापछि २०८१ वैशाख मसान्तमा चार दशमलव चार प्रतिशतमा झरेकोे छ । अघिल्लो वर्षको वैशाखमा मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो ।

खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत मूल्यवृद्धि २३ दशमलव ११ प्रतिशत, दालत तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत, मरमसलाको आठ दशमलव ९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको सात दशमलव २५ प्रतिशत छ । घ्यू तथा तेल उपसमूहको मूल्य सूचकांक सात दशमलव १३ प्रतिशतले घटेको छ ।

No description available.

काठमाडौं उपत्यकाको मूल्यवृद्धि चार दशमलव तीन प्रतिशत, तराईको चार दशमलव ३२ प्रतिशत, पहाडको चार दशमलव सात प्रतिशत र हिमालको चार दशमलव २२ प्रतिशत छ । गतवर्ष सोही अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि सात दशमलव ६८ प्रतिशत, तराईको सात दशमलव १५ प्रतिशत, पहाडको सात दशमलव ५७ प्रतिशत र हिमालको सात दशमलव १२ प्रतिशत थियो ।

रेमिट्यान्समा उच्च वृद्धि: वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स) बढेको छ । एक वर्षअघिको तुलनामा रेमिट्यान्स १९ दशमलव दुई प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले बढेर नौ अर्ब दुई करोड पुगेको छ ।

यस आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार आठ सय ९३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले बढेर १३ खर्ब एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

शोधनान्तर स्थिति निरन्तर बढ्दो: मुलुुकको शोधनान्तर स्थिति झण्डै चार खर्ब रुपैयाँले बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब नौ अर्ब ४९ करोडले बचतमा थियो । अमेरिकी डलरमा गतवर्ष वैशाखमा एक अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष वैशाखमा दुई अर्ब ९५ करोड बचतमा पुगेको छ ।

चालू खाता एक खर्ब ९३ अर्ब २५ करोडले बचतमा छ । अघिल्लो वर्षको वैशाखमा चालू खाता ६३ अर्ब ७४ करोडले घाटामा थियो । अमेरिकी डलरमा गतवर्ष वैशाखमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालू खाता यस वर्ष एक अर्ब ४५ करोडले बचतमा देखिएको छ ।

पुँजीगत ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले कमी आई पाँच अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ९८ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोडले धनात्मक थियो ।

विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब: विदेशी मुद्राको सञ्चिति १९ खर्ब ४२ अर्ब नाघेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले बढेर २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले बढेर १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले बढेर १७ खर्ब २२ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा १३ दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत छ ।

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिना तीन दिनलाई पुग्ने वस्तु आयात गर्न पुग्छ । वस्तु तथा सेवा आयात गर्ने हो भने १२ महिना १८ दिनलाई पर्याप्त रहने देखिन्छ ।

विदेश भ्रमण र अध्ययन खर्च उच्च: पर्यटक आगमन बढ्दै गए पनि विदेश भ्रमण र अध्ययनमा जाने नेपालीको संख्या उच्च हुँदा सेवा आय घाटामा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोड रुपैयाँले घाटामा थियो । चालू आर्थिक वर्षको १० महिनामा भ्रमण आय ३५ दशमलव एक प्रतिशतले बढेर ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रुपैयाँ थियो ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय ३९ दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ७५ अर्ब १४ करोड रुपैयाँ थियो ।

आयात बढेन, निर्यात सुस्त: आयात दुई दशमलव चार प्रतिशत घटेको छ । १० महिनामा १३ खर्ब तीन अर्बको वस्तु आयात भएको छ । निर्यात पनि सुस्त देखिएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा निर्यात यस वर्ष १० महिनामा तीन दशमलव छ प्रतिशतले कमी आई एक खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आएको थियो ।

निजी क्षेत्रमा कर्जाको माग बढेन: ब्याजदर घटेर एकल विन्दुतर्फ झरेको छ । तर पनि निजी क्षेत्रमा कर्जाको माग बढेको छैन । दुई वर्षअघिसम्म निजी क्षेत्रमा कर्जा प्रवाह औसत २० प्रतिशत विस्तार हुनेगरेकोमा अहिले त्यसमा ब्रेक लागेको छ । करिब दुई वर्षयता निजी क्षेत्रमा कर्जाको माग नै छैन । यस आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले मात्रै विस्तार भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x