Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता


काठमाडौं, पुस २२
नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’बीच एक समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । यो सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने नबिल बैंकले जानकारी दिएको छ ।

नबिल बैंकका सीईओ अनिलकेशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौँंस्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्नेछन् । नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ ।

यस कारण दुवै बैंक यस एमओयूमार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारीरूपमा लाभ उठाउन यस सम्झौताले दुवै बैंकलाई सक्षम बनाउनेछ । कार्यक्रममा शाहले भने, ‘आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो एमओयूले नबिल बैंक र आईसीआईसीआई बैंकबीच नलेज सेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्नेछ ।’

साझेदारीका सम्बन्धमा रञ्जु सिगटियाले भनिन्, ‘भारतसँग नेपालको व्यापार तथा लगानी करिडोर बलियो र बढ्दो क्रममा छ । आईसीआईसीआइ बैंकले साझेदार बैंकहरूसँग उनीहरूका नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिति भएका भारत तथा अन्य मुलुकका स्थानहरूसम्म जोड्न सक्रियरूपमा काम गरिरहेको छ । बढ्दो भारत–नेपाल आर्थिक करिडोरमा हाम्रो सहभागिता निरन्तर बढाउने प्रतिबद्धताअनुरूप यो सम्झौतापत्रमा हस्ताक्षर गर्न पाउ“दा हामी खुसी छौँ ।’

नबिल बैंक निजी क्षेत्रद्वारा सञ्चालित नेपालको अग्रणी वाणिज्य बैंक हो । देशभर यसका ९७ शाखा कार्यालय र एक सय ४३ एटीएम काउन्टरहरू रहेका छन् । नेपाली बैंकिङ क्षेत्रमा थुप्रै नवप्रवर्तनात्मक (इनोभेटिभ) प्रोडक्ट तथा मार्केटिङ अवधारणा थालनी गर्ने सवालमा पायोनियर नबिल बैंकले नेपालको बैंकिङ इतिहासमा एउटा ‘माइलस्टोन’को प्रतिनिधित्व गर्छ जसले ग्राहकको सन्तुष्टि नै व्यवसायको मुख्य उद्देश्य मान्ने आधुनिक बैंकिङको युग सुरु ग-यो । सेप्टेम्बर ३०, २०१९ सम्मको अवस्थामा आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटीएम काउन्टरहरू, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङलगायत मल्टि च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x