Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने

एनआईसी एसिया बैंकका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने


एनआईसी एसिया बैंकका नियमित र बिदा काउन्टर यथावत सञ्चालन हुने
काठमाडौँ, चैत ११
कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरहरूमार्फत नियमित काउन्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिबार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउन्टर सेवाबाहेकका अतिरिक्त काउन्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरीया, महेन्द्रनगर, गाइघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजेदेखि साँझ ७ बजेसम्मको अतिरिक्त काउन्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् । तर बैंकको नियमित काउन्टर सेवाहरू भने बैंकका सम्पूर्ण तीन सय १९ शाखा तथा १०८ एक्टेन्सन काउन्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वाञ्छनीय हुन्छ । डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही आफ्ना ग्राहकवर्गलाई नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्यनजर गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई घरमै बसेर अनलाइन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुका साथै, इन्टरनेट तथा मोबाइल बैंकिङलगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी पनि बैकले गराएको छ ।

यस कठिन परिस्थितिमा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायत विद्युतीय बैंकिङ माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू निःशुल्क ग्राहक महानुभावहरूले घरमै बसी गर्न सक्नुहुनेछ । साथै, घरमै बसी खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । कोरोना भाइरसको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्नु उचित देखिएकाले सकेसम्म ग्राहक महानुभावलाई विद्युतीय माध्यमबाट भुक्तानीको काम गर्न बैंक प्रोत्साहन गर्दछ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिएबापत तथा सामान खरिद गर्दा क्यू आरसेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एशिया बैंकको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

बैंकले ग्राहकहरूलाई विशिष्टीकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाइ अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, ४६१ एटीएम, एक सय आठवटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया