पाँच प्रतिशत ब्याज असुलेपछि कर्जा पुनर्तालिकीकरण
काठमाडौं,लघुवित्त वित्तीय संस्थाहरूले पनि असुल नभएको कर्जाको ब्याजको न्यूनतम पाँच प्रतिशत असुल गरी कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्नसक्ने सुविधा दिएको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यका आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन गरेको हो ।
निर्देशनअनुसार २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुनेगरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नुपर्ने आधारहरू स्पष्टसँग प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ ।
कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत ब्याज रकम असुलउपर भएको हुनुपर्नेछ । कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपछि मात्रै आम्दानीका रूपमा देखाउन सकिनेछ । यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गरेबापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क÷हर्जाना लिन पाइने छैन ।
राष्ट्र बैंकका अनुसार पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भएपछि मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइनेछ । पुनर्तालिकीकरण वा पुनर्संरचनापश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक अर्थात् फिर्ता हुने अवस्था आएमा फिर्ता गरिएबराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने परिपत्रमा उल्लेख छ । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएको कर्जा असल वर्गमा वर्गीकरण भएपछि मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिने परिपत्रमा उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा तथा सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाका नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई असल, सूक्ष्म निगरानी, शंकास्पद र खराब कर्जामा वर्गीकरण गर्नुपर्नेछ । यस्तो वर्गीकरणअन्तर्गत भाका ननाघेका र एक महिनासम्म भाका नाघेका कर्जा तथा सापटलाई असल कर्जामा राख्नुपर्नेछ भने एक महिनादेखि बढीमा तीन महिनासम्म भाका नाघेका कर्जा तथा सापटलाई सूक्ष्म निगरानी कर्जा शीर्षकमा राख्नुपर्नेछ । यसैगरी तीन महिनादेखि बढीमा छ महिनासम्म भाका नाघेका कर्जा तथा सापट कमसल कर्जामा राख्नुपर्नेछ । छ महिनादेखि बढीमा एक वर्षसम्म भाखा नाघेका कर्जा तथा सापटलाई शंकास्पद र एक वर्षभन्दा बढी अवधिले भाका नाघेका कर्जा तथा सापटलाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने परिपत्रमा उल्लेख छ । असल, सूक्ष्म निगरानी तथा पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जालाई सक्रिय कर्जा र कमसल, शंकास्पद तथा खराब कर्जालाई निष्क्रिय कर्जाको रूपमा छुट्याउनुपर्ने परिपत्रमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया