Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअभिलेखमा चलखेल गर्न गाडी उपहार

अभिलेखमा चलखेल गर्न गाडी उपहार


काठमाडौं । नाजायज काम भइरहेको छ भन्ने सामान्य सुइँको मात्रै पाइयो भने पनि थप अनुसन्धानका लागि त्यो ठूलो विषय मानिनुपर्ने हो । त्यस्तै, सुइकोले ठूलाठूला प्रकरणको पोल खोल्न बाटो देखाइदिन्छ र त्यस्ता काण्डहरू प्रकाशमा आउँछन् । अख्तियारलाई नै उदाहरण मान्ने हो भने एउटा सानो उजुरीले लाखौँ–करोडौँ भ्रष्टाचारको पोल खुलेको उदाहरण प्रशस्तै छन् । यसको एउटा सर्त हो, त्यस्तो सूत्र फेला परेपछि सम्बन्धित निकायले अनुसन्धान थाल्नु । त्यसमा जिम्मेवार अधिकारीलाई सम्बन्धित ठाउँबाट पनि हटाएर अनुसन्धानलाई तीव्रता दिनुपर्ने हुन्छ । तर पछिल्लो समय सम्बन्धित निकायले त्यस्ता सूत्रहरूलाई अनुसन्धानको विषय बनाएको देखिएन । त्यसको पछिल्लो उदाहरण हो, यातायात व्यवस्था विभागले सवारी लाइसेन्स वितरण गर्न प्रयोगमा ल्याएको सफ्टवेयरमा चलखेल । जसका कारण लाख दुई लाखकै सङ्ख्यामा अनधिकृतरूपले सवारी चालक अनुमतिपत्र वितरण हुनु । यस्ता विवरण सार्वजनिक भइरहँदा पनि विधिवत् छानबिन गरेको देखिएन । जुन निकायबाट यस्तो काम भएको छ त्यसैका कर्मचारीले गरेका छानबिन स्वतन्त्र र भरपर्दो नहुन पनि सक्छ ।

यातायात विभागमा जडान भएको लाइसेन्स वितरणको सफ्टवेयर बिगारेर अर्को कम्पनीको सफ्टवेयर जडान गर्न भनी आफ्नो अनुकूल बनाउन कार्यालयका सम्बन्धित अधिकारीलाई एउटा गाडी नै घुस दिइएको भन्ने समाचार विवरणहरू आए । त्यसमा गाडी नम्बर र कम्पनीको नाम समेत उल्लेख भएको थियो । घुस खाने व्यक्ति, उनले गर्ने काम र घुसको प्रकार समेत सार्वजनिक भएपछि अनुसन्धान गर्ने निकायलाई यो एउटा गतिलो सूत्र हुनुपर्ने हो । त्यसमा आईएमएस कम्पनीको नाममा रहेको साङयोङ भन्ने कोरियन कम्पनीको बा १७ च ११ नम्बरको गाडी घुसका रूपमा दिइएको भन्ने उल्लेख छ । यो घुस फर्जी लाइसेन्स वितरण सन्दर्भमा दिए÷लिएको देखिन्छ । सरकारी निकायबाट हुने लाइसेन्स वितरणमा माफियाहरूको चलखेलका केही नमुना भनी यी विवरणहरू आएका हुन् । त्यसमा लाइसेन्स नम्बर, नाम तथा जिल्लासमेत उल्लेख भएको छ । जस्तो गंगा कार्की ०१–०८–१४५६७५३६ चितवन, रुद्रप्रसाद खतिवडा ०१–०८–८८९८८००४, चितवन मनीष केसी ०१–११–८८९९०१५७, प्रकाश पौडेल ०१–०८–८८९९२१५५ पाल्पा, धिरज खत्री क्षेत्री ०१–०८–८८९९०३३८ पाल्पा, सिम्रन थापा ०१–१०–८८९९०६९१ पाल्पा, सुरज भुगै ०१–०८–८८९९१६२६ पाल्पा, विजय अधिकारी ०१–०८–८८९९२२५२ चितवन र आकाश श्रेष्ठ ०१–०८–८८९९०४०५ पाल्पा, यी लाइसेन्सहरू नवीकरण त भएको देखिन्छ तर कतै पनि ट्रायल दिएको रेकर्डचाहिँ छैन । ट्रायल भने प्रहरीबाट हुने कुरा हो भने नवीकरण भने विभागबाट हुन्छ ।

यहीँनेर कैफियत देखिन्छ । उल्लेखित गाडी सम्बन्धित कम्पनीको हो कि होइन भन्ने प्रारम्भिक अध्ययनबाटै देखिने कुरा हो । त्यसको प्रयोग कसले गरिहेको छ भन्ने पनि लुक्ने कुरा हुँदैन । यो ठाउँमा उल्लेख भएका सम्बन्धित शाखा प्रमुखले त्यसको प्रयोग गरेको भए त्यो पनि घुस नै हो । घुस भनेको नगदमा मात्रै लेनदेन हुने कुरा होइन । यो ठाउँमा त त्यसको प्रभाव पनि परेको देखिन्छ । जस्तो रेकर्डमा देखिएका लाइसेन्स सार्वजनिक भइरहेका छन् । केही दिन पहिलेदेखि सवारी चालक अनुमतिपत्र वितरणमा व्यापक अनियमितता भएको भन्नेमा समाचार आइरहेका थिए । नियमित प्रक्रियामा अनुमतिपत्र लिन खोज्नेहरूका लागि वर्ष दिनमा पनि नपाइने र चोर बाटोबाट चाहिँ घरघरमै पुर्याइरहेको अवस्था निकै नै डरलाग्दो हो । यसलाई विश्वसनीयरूपले छनबिन गरेर किनारा लगाइएन भने यो फर्जी कामले संस्थागतरूप लिनेछ । सम्बन्धित निकायहरूको समयमै ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया