Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअर्थबारे दुई मन्त्रीका दुई विपरीत बुझाइ

अर्थबारे दुई मन्त्रीका दुई विपरीत बुझाइ


काठमाडौं । संसद् र सरकारमा पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनपछिको सबैभन्दा ठूलो सम्मेलन महासमिति बैठकमा देशको अर्थतन्त्रका बारेमा दुई मन्त्रीले राखेका दुई विपरीत धारणा वा बुझाइले दुविधा उत्पन्न गरेको छ । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहको उपसभापति तथा सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता एवम् सरकारका अर्थमन्त्री प्रकाशशरण महतले यतिबेलाको अर्थबारे यस्ताविपरीत प्रकारका दस्ताबेज यथावत् रहेमा त्यसले पछिसम्म नै अन्योल खडा गर्ने सम्भावना देखाउँछ । यी दुवै पदाधिकारी दर सरकारका उच्च तहका आधिकारिक व्यक्ति हुन् । तर उनले प्रस्तुत गरेका अर्थतन्त्रको अवस्था भने फरक छन् । अर्थमन्त्री आफैँ अर्थसम्बन्धी अवस्थाको प्रक्षेपण गर्ने पार्टी र सरकार दुवै तर्फका आधिकारिक हुन् भने उपप्रधानमन्त्री पार्टीको तर्फबाट सरकारमा नेतृत्वकर्ता । तर दुवैले प्रस्तुत गरेका लिखित अवधारणापत्रमा अर्थतन्त्रको वर्तमान अवस्थाबारे दुईथरी बुझाइ आउनु सामान्य कुरा होइन । यसमा कोही एकजना त गलत छन् नै, यो सच्चिनुपर्छ ।

सरकारका उपप्रधानमन्त्री र पार्टीका उपसभापति खड्का लिखितरूपमा नै यतिबेला अर्थतन्त्रका दर्जनजति चुनौती औँल्याएका छन् । तिनलाई एक ठाउँमा राख्दा अर्थतन्त्र झन्झन् खराब अवस्थामा गइरहेको देखिन्छ । त्यसले युवाहरू विदेशमा जानुपर्ने वाध्यतादेखि अनुत्पादक क्षेत्रमा वैदेशिक लगानी भयो भन्नेसम्म उल्लेख भएका छन् । त्यस्तै, सुशासन कायम हुन नसकेको सार्वजनिक सम्पत्ति केही सीमित व्यक्तिको हातमा परिसकेको भन्नेसम्मका कुरा उठाइएको छ । उनका भनाइका केही नमुना यस्ता छन्, रोजगारीको अभावमा नेपाली श्रमशक्ति व्यापकरूपमा विदेशी श्रमबजारमा जानुपर्ने अवस्था झन्झन् बढिरहेको छ । आन्तरिक बसाइँसराइले पहाडी जिल्लाहरूमा निर्जनीकरण भएका छन् । आर्थिक–सामाजिक असमानताको समस्याको सवाल पेचिलो बन्दै गएको, आर्थिक तथा शासकीय सुशासनको अभावले लगानी कम भएको, आर्थिक वातावरण बिथोलिएको, मुलुकको समग्र गरिबी अपेक्षा गरिएअनुरूप द्रूत गतिमा घट्न नसकेको, प्रदेश र स्थानीय सरकारले अनुमान गरेअनुसार राजस्व उठाउन र खर्च गर्न नसकेको, सार्वजनिक सम्पत्तिको जगेर्ना गर्न नसक्दा केही व्यक्तिको हातमा पुग्ने खतरा, सरकारको ऋण बढ्दै गएको र राजस्व घट्दै गएकाले वित्त क्षेत्रमा अस्थिरताको जोखिम बढिरहेको, अनुत्पादक ऋण बढ्दै गएको आदिआदि ।

यतिबेला अर्थतन्त्र ठीकठाक अवस्थामा छैन भन्ने बुझाउन यी सूत्र पर्याप्त हुनुपर्छ । अर्थमन्त्री महतको दाबी भने भिन्न छ । उनको भनाइमा बाह्य क्षेत्र सन्तुलनका नाममा पहिले चाहिनेभन्दा ज्यादा खुकुलो र पछि चाहिनेभन्दा कठोर मौद्रिक नीतिले आर्थिक क्रियाकलापको विस्तारमा अवरोध खडा भइरहेको अवस्था थियो । राजस्व वृद्धि नकारात्मक रहेको र खर्चको माग उच्च रहेको अवस्था थियो । निजी क्षेत्रमा निराशा रहेको थियो । हाल आर्थिक वृद्धिले गति लिँदै छ भने अधिकांश परिसूचकमा सुधार आएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । ‘वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरूपमा छ । कर्जाको ब्याजदर एकल अंकतर्फ झर्ने क्रममा छ । यसले आर्थिक वृद्धिका लागि निजी क्षेत्रमा प्रवाह हुने साधन पर्याप्त रहेको संकेत गर्छ । लगानी वृद्धि गर्न बजेटका माध्यमबाट लिइएका सुधारका प्रयास र निजी क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमका कारण सुधार आएको छ । त्यसै पनि आर्थिक गतिविधि चलायमान नरहेको भन्ने प्रतिक्रियाहरू आइरहेका बेला एउटै दलका यी दुई मन्त्रीका यस्ता विपरीत प्रकारका बुझाइले झन् अन्योल बढाउँछ । त्यसकारण यसलाई तथ्यसंगत हुने गरी सच्याइयोस् भनिएको हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया