Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयरुसी सेनामा भर्ती भएकाहरूको उद्धार गर

रुसी सेनामा भर्ती भएकाहरूको उद्धार गर


काठमाडौं । यदि नेपाली नेताहरूको हृदय हुन्थ्यो भने यो हप्ता सार्वजनिक भएको आफ्ना नागरिकको एउटा हारगुहारप्रति तत्कालै ध्यान जान्थ्यो । आफ्ना नागरिकले मेरो राज्यले काम गरेन, तिमीले गरिदेऊ भनी कुनै अर्को देशसँग गरिएको हारगुहार कुनै सामान्य कुरा होइन । यसले कि राज्यको क्षमता घटेको कि समाप्त नै भएको बुझाउँछ । यो कुरा यस्तो बेला आयो जो नेताहरू कतिपटक प्रधानमन्त्री हुने भन्ने होडबाजीमा छन् । अझ त्यसमाथि यस्तो हारगुहार मागिएको समयमा त ती व्यक्ति नै प्रधानमन्त्री छन् । जो आजभन्दा पन्ध्र वर्षअघि पनि थिए । त्यसकै निरन्तरतामा अहिले उनी तेस्रो पटक प्रधानमन्त्री भएका छन् । भर्खर मात्रै चौध महिनाको अन्तरमा तेस्रो गठबन्धन फेरेर आफ्नो प्रधानमन्त्री निश्चित गरेका छन् । यही बेला नेपाली जनता भने आफ्नो जीवनको उद्धार गरिदिन कुनै अर्को देशको सरकारसँग हारगुहार गरिहेका छन् र भनिरहेका छन्, मेरो देशले गरेन । जब आफ्ना नागरिकले नै देशको यति कमजोर अवस्थाको वर्णन गरिहेका छन् भने प्रधानमन्त्रीको पटक गनेर अर्थ नरहला ।

यो सन्दर्भ हो, रुसी सेनामा भर्ती भएका नेपालीहरूको । उनीहरूसँगै रहेका भारतीयहरूलाई भने भारत सरकारले उद्धार गरेछ । तर नेपालले चाहिँ आफ्ना नागरिकलाई केही गरेन । त्यसपछि उनीहरूले भारत सरकारसँग गुहार मागेका एक भिडियो सन्देश भाइरल भएको छ । त्यो यस्तो छ–हामी अहिले रुसी आर्मीमा छौँ । हामी हाम्रो देश नेपालबाट आएका हौँ । तर अहिले हामीलाई निकै समस्या भइरहेको छ । एजेन्टले हामीलाई झूट बोलेर यहाँ पठाएको हो । एजेन्टले हामीलाई रुसी आर्मीको हेल्परका लागि भनेर पठाएको थियो । तर यहाँ आएर हामीले युद्धमा लड्न परिरहेको छ । हामीसँग तीन जना भारतीय साथी थिए, उनीहरूलाई भारतले फिर्ता लागिसक्यो । तर हाम्रो दूतावासबाट कुनै पनि सहयोग भइरहेको छैन, हाम्रो देशबाट केही पनि लागेको छैन । त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग सहयोग माग्न चाहन्छौँ । भारतले हामीलाई सहयोग गर्नेमा हामी निकै आशावादी छौँ । हामीलाई विश्वास छ, भारतले हामीलाई निराश पार्ने छैन । किनकि नेपाल र भारतबीच निकै राम्रो सम्बन्ध छ । त्यसले हामीले तपाईंसँग सहयोग मागिरहेका छौँ । किनकि तपाईंहरूको दूतावास पनि बलियो छ, देश पनि बलियो छ । हाम्रो नेपालबाट केही पनि हुन सकिरहेको छैन । यहाँ रहेका हामी सबै नेपालीहरू घर फर्किन चाहन्छन्, हामीसँग फ्रड भएको छ । हामीलाई सहयोगीका लागि भनेर पठाइएको थियो, युद्धमा जानुपरिरहेको छ । हामी ३० जना थियौँ, तर अहिले हामी पाँचजना मात्र बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही घाइते छन् । हामी तपाईंसँग सहयोग माग्न खोजिरहेका छौँ । सक्नुहुन्छ भने हामीलाई पनि यहाँबाट निकाल्नुहोस् ।

धेरै कुरा यिनै अक्षरले बताउँछन् । आफ्नो देशले केही गर्दैन भन्ने पीडितहरूलाई लागिरहेकै बेला यता देशभित्र भने एक वर्षमा तेस्रो पटक हुने गरी सत्ताको खेल चलिरहेको थियो र केही समयको कार्यकाल थप्नका लागि एक वर्षअघि छोडेकासँग नै सत्तामिलन भएको थियो । युद्धग्रस्त क्षेत्रबाट पनि आफ्ना नागरिकको उद्धार गर्न सकिन्छ भन्न उल्लेखित पत्रमा भारतकै उदाहरण दिइएको छ । त्यसो भए नेपालले किन नसक्ने ? किनभने यतातर्फ पहल गर्न राज्य चलाउने ठाउँमा रहेकाहरूसँग फुर्सद नै छैन वा मन पनि छैन । यसले बुझाउने कुरा यति हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया