संसद्का एक सय १६ बैठक, कानुन भने एउटा मात्रै
काठमाडौं । जनतालाई राज्य शक्तिको स्रोत बनाएको गणतान्त्रिक संविधानअनुसारको दोस्रो आमनिर्वाचनपछि संसद्का तीनवटा अधिवेशन सम्पन्न भए । प्रतिनिधिसभाका यी तीनवटै अधिवेशनबाट के–कति कानुनहरू पारित भए भन्ने हेरियो भने चित्र राम्रो देखिँदैन । त्यो निर्वाचन सम्पन्न भएर अधिवेशन बस्न थालेको १५ महिना भयो । २०७९ पुस २६ बाट दोस्रो कार्यकालका लागि सम्पन्न प्रतिनिधिसभाको बैठक बस्न थालेको हो । त्यसपछि तीनवटा अधिवेशन सम्पन्न भए । तर यता यही सभामा उत्पन्न भएको विधेयक भने एउटा मात्रै पारित भयो । भर्खर मात्रै अन्त्य भएको अधिवेशनको नाम हो विधेयक अधिवेशन । तर यसमा विधेयक भने एउटा पनि पारित भएन । यो यही सभामा उत्पन्न भएको विधेयकको कुरा हो, जो एउटा पनि छैन । विधेयक अधिवेशनमा त्यही विधेयक भने एउटा पनि पारित नहुनु भनेको सामान्य कुरा होइन । यो पछिल्लो अधिवेशन ७० दिन चल्यो । त्यसमा सांसदहरूले तलबभत्ता भने लिइरहनु भयो । तर उनीहरूको काम कस्तो रह्यो भन्ने यी कुरा आफैँ एउटा उदाहरण हुनुपर्छ ।
उल्लेखित कुरा सुन्दा पनि पत्याउन नसकिएला । कानुन निर्माणको मूल काम भएको संघीय संसद्को अर्थात् प्रतिनिधिसभाको तीन वटा अधिवेशन सकिँदा त्यही मूल काम कानुन निर्माण भने हुँदै नभएको देखियो । नयाँ निर्वाचनपछि सुरु भएको पहिलो अधिवेशनले एक प्रधानमन्त्रीलाई दुईपटक विश्वासको मत दिएबाहेक कानुन निर्माणतर्फ केही गरेन । पछिल्लो चैत्रसम्म आइपुग्दा यो कार्यकालको तीनवटा अधिवेशन सम्पन्न भए । समयको हिसाबले १५ महिना बित्यो । यो अवधिमा प्रतिनिधिसभामा दर्ता भएको एउटा मात्रै र राष्ट्रियसभामा दर्ता भएका तीन वटा विधेयकले कानुनको हैसियत पाएका हुन् । सरदरमा हिसाब हुँदा एउटा पूरै अधिवेशनमा एउटा कानुन बनेको अवस्था हो । यसले संसद् गतिमान भइरहेको छ भनेर भन्ने ठाउँ दिँदैन । १५ महिनाको अवधिमा प्रतिनिधिसभाका यी तीन वटा अधिवेशनको समय भने तीन सय ६० दिनका थिए । त्यसमा बैठक मात्रै एक सय १६ वटा रहे । यी सबै बैठक कानुन निर्माणकै सन्दर्भका हुन् । तर यता कानुन भने बनेनन् । यति धेरै दिनमा एउटा काननु मात्र बनेको देखिनु यो सभाले काम नगरेको अवस्था हो । यो अवधिमा प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक दर्ता भयो र पारित पनि गरियो । यो समयमा पारित हुन बाँकी तीनवटा विधेयक राष्ट्रियसभामा दर्ता भएका हुन् । सभाले पारित गरेको त्यो एउटा विधेयक पनि मिटरब्याज पीडित जनता सडकमा आएपछि उनलाई घरफिर्ता गराउने सन्दर्भमा थियो । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट पारित भएको हो ।
प्रतिनिधिसभाको एउटा विधेयक पारित गरेको यो दोस्रो अधिवेशनको आफ्नै विशेषता छ । संसदीय इतिहासकै अहिलेसम्म यो सबैभन्दा लामो अधिवेशन थियो । २०८० वैशाख २२ बाट सुरु भएको यो अधिवेशन त्यो वर्षको कार्तिक १८ सम्म चलेको थियो । यो भनेको पूरै छ महिनाको समय हो । यही गतिले संसद्को अधिवेशन अघि बढ्ने हो भने योजतिको दूर्भाग्य अरू नहोला । संसद्बाहेक अरू संस्थाले कानुन बनाउँदैनन् । कानुन नभई देशमा कुनै काम हुँदैनन् । त्यस कारण पनि संसद्को यो गतिहीनतालाई गम्भीर विषय मानिएको हो । यसतर्फ सांसदहरूको ध्यान जानैपर्छ । नत्र संसद् हुनु र नहुनु वा यो संस्था चल्नु र नचल्नुको केही अर्थ रहँदैन ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- चीनबाट ६५ अर्बको सामान आयात
- सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया