Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रेसको डर

प्रेसको डर


दुई तिहाइ बहुमतको नेकपाको बलियो सरकार प्रेसलाई कुनै न कुनै रूपमा खुम्च्याउन चाहन्छ । यो कुनै रूपमा आरोप होइन । नयाँ सविधानअनुसार निर्वाचित भएको नेकपाको दुई तिहाइ बहुमतको सरकार गठन भएपछि स्वतन्त्रतापूर्वक चलाउन नसक्ने गरी कानुनी बन्धनमा बाँध्ने संगठित प्रयास हुँदै आएका छन् । चालू आर्थिक वर्ष सुरु हुन लाग्दा नै मिडियालाई दोहोरो मापदण्ड बनाएर विभाजन गरियो । पाँच जनासम्म कार्यरत मिडियालाई एउटा नियम र त्योभन्दा बढी पत्रकार काम गर्ने मिडियालाई एउटा नियम र त्योभन्दा बढी पत्रकार काम गर्ने मिडियालाई अर्को नियम बनाएर प्रेस पास वितरण गरियो । त्यसअघि नै प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयकमा रहेका प्रत्रकारितालाई नियन्त्रणमुखी बनाउने प्रावधान हटाउनुपर्ने नाममा सडक आन्दोलन सुरु भैसकेको थियो ।

मिडिया काउन्सिल विधेयक र आमसञ्चारसम्बन्धी विधेयक अहिले पनि संसद्मै विचाराधीन अवस्थामा छन् । पछिल्लो समय सत्तारुढ सांसदहरूले पत्रकारलाई परीक्षा लिनुपर्ने प्रावधान राख्न सिफारिस गरेका छन् । नेकपाको बलियो सरकारले कुनै न कुनै रूपमा मिडियालाई आफ्नो काबुभित्र राख्न खोजेको यी गतिविधिले स्पष्ट पारेको छ । स्वतन्त्र प्रेस प्रजातन्त्रको प्राण मानिन्छ । प्रजातान्त्रिक संविधानअनुसार बनेको साम्यवादी दल नेकपाको नेतृत्वको बलियो सरकारले यसरी प्रेसलाई कुनै न कुनै रूपमा नियन्त्रणमा राख्ने बाहना किन खोजिरहेको होला भन्ने कुरा राम्रोसँग खुल्न सकेको छैन ।

प्रेससँग डराएर हो कि प्रेसलाई तर्साउन खोजिएको हो भन्ने कुरा खुलेपछि अघिको बाटो तय होला नै । तर, अहिलेसम्म सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाकै धारणा प्रस्ट हुन सकेका छैनन् । सुरुमा उनी पत्रकारिताप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । पत्रकारलाई कडा कारबाहीको प्रावधान राख्ने र मन्त्रालयले नियुक्त गरेका अधिकारीहरूले नै कारबाही गर्ने व्यवस्था गर्न उनी लागेका थिए । यही मेसोमा उनले पाँच जना र त्योभन्दा बढी पत्रकार संलग्न मिडिया भनेर मिडियालाई दुई भागमा विभाजन गरेर सिङ्गो मिडियालाई कमजोर बनाउने काम गरिसकेका छन् ।

तर, अहिले उनी उतिबेलाको जस्तो अनुदारवादी चरित्र छाडेर निकै उदारवादी रूपमा प्रस्तुत भएका छन् । तर, अहिले सत्तारुढ दल नेकपा सांसदहरू पत्रकारलाई खुम्च्याउने प्रयासमा लागेका छन् । पत्रकारिता एउटा देश मात्र सीमित हुँदैन । यो सर्वव्यापी हुन्छ । संसारभर यसको मूल्य र मान्यता एउटै हुन्छ । नेपालमा यसलाई अर्कै रूपमा व्याख्या गरिनु हुँदैन । त्यसो गर्दा गर्नेहरूको धरातल स्वतः स्पष्ट हुन्छ । पत्रकारिता प्रजातन्त्रको प्राण मात्र होइन, निरङ्कुशता र अधिनायकवादको घोर दुस्मन पनि हो । स्वतन्त्र पे्रसको विरोध गर्नु र त्यसलाई खुम्च्याउन खोज्नु आफूलाई प्रजातन्त्रविरोधी कित्तामा उभ्याउन खोज्नु पनि हो । को कुन कित्तामा उभिने हो, त्यो पनि आफ्नै मर्जी ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया