Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरान र इजरायलबीच द्वन्द्व थप चर्कियो

इरान र इजरायलबीच द्वन्द्व थप चर्कियो


तेहरान । इरान र इजरायलबीचको द्वन्द्व थप चर्किएको छ । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा वाणिज्य दूतावासको भवन ध्वस्त पारेको र इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्यको मृत्यु भएपछि इरानले सो घटनाको दोस इजरायललाई दिएपछि विवाद बढेको थियो ।

रिभोल्युसनरी गार्डले शनिबार ‘खाडीमा यहुदी शासन (इजराइल)सँग सम्बन्धित एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएपछि विवाद थप बढेको हो । आईआरएनए राज्य समाचार समितिका अनुसार ‘एमसीएस एराइज’ नामक कन्टेनर जहाजलाई इरानी गार्डहरुले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।

‘क्षेत्रीय अधिकारीरू’ले संयुक्त अरब इमिरेट्सको तटबाट एउटा जहाजलाई नियन्त्रणमा लिएको दुई सामुद्रिक सुरक्षा एजेन्सीले बताएपछि इरानको उक्त भनाइ आएको हो ।

रोयल नेभीको युनाइटेड किङ्डम सामुद्रिक व्यापार अपरेसन एजेन्सीले थप विवरण नदिई भनेको छ, ‘जहाजलाई क्षेत्रीय अधिकारीहरूले फुजैराहको तटबाट नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।’

कम्तीमा तीन व्यक्ति एउटा हेलिकोप्टरबाट कन्टेनर जहाजतिर द्रुत गतिमा दौडिरहेको स्थिर फुटेजमा देखिएको सुरक्षा फर्म एम्ब्रेले बताएको छ । ‘इरानको रिभोल्युसनरी गार्डले पहिला पनि स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई नियन्त्रणमा लिने बेलामा बोर्डिङको यो पद्धतिलाई प्रयोग गरेको थियो ।’

भेसल ट्र्याकिङ वेबसाइट भेसलफाइन्डर डट कम र मेरिनट्राफिक डट कमका अनुसार एमसीएस एराइज पोर्चुगाली ध्वजा भएको कन्टेनर जहाज हो । दुवै साइटले खाडीमा यसको अन्तिम रिपोर्ट गरिएको अवस्था बताएका छन् ।

करिब दुई साताअघि सिरियामा आफ्नो दमास्कास दूतावासको कन्सुलर खण्डमा घातक हमलाका लागि इरानले प्रतिशोध लिने वाचा गरेपछि अमेरिकाले शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने बताएको थियो ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले शुक्रबार इरानले कट्टर दुश्मन इजराइलमाथि हमला गर्ने अपेक्षा गरिएको बताए । इरानले कन्सुलर खण्डमा इजराइलले हमला गरेको आरोप लगाएको छ । अप्रिल १ मा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका कम्तीमा सात सदस्य मारिएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया