Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाका मालिक मस्कको भारत भ्रमण स्थगित

टेस्लाका मालिक मस्कको भारत भ्रमण स्थगित


नयाँदिल्ली । स्पेसएक्स र टेस्लाका मालिक अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कले टस्लाको पहिलो त्रैमासिक प्रदर्शनसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिन अप्रिल २३मा अमेरिकामा हुने सम्मेलनमा भाग लिन भारत भ्रमण स्थगित गरेको बताइएको छ ।

भारत भ्रमण गरी मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । उनले सरकारी अधिकारी र उद्योग प्रतिनिधिहरुसँग घेट गर्ने कार्यक्रम पनि थियो । उनले भारतमा टेस्लाको उत्पादन कारखाना घोषणा गर्नसक्ने अनुमान पनि गरिएको थियो । मोदी र मस्कबीच अहिलेसम्म दुई पटक भेट भइसकेको छ ।

मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो । ‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु’, उनले आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेका छन् ।

मस्कले भारतमा दुई/तीन अर्ब डलर लगानी गर्ने योजना घोषणा गर्ने बताइएको थियो । किनभने भारतमा उत्पादन भएको टेस्ला विश्व बजारमा निर्यात गर्न मस्कले चाहेका थिए । गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्न चाहेको थियो । सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ ।

आफूलाई मोदीको प्रशंशक बताउने मस्कले पछिल्लो पटक सन् २००७ मा भारतको भ्रमण गरेका थिए र भारतलाई ‘अद्भूत’ भन्दै ताज महल ‘वास्तवमा विश्वको आश्चर्य’ रहेको बताएका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया