Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक


संयुक्त राष्ट्रसङ्घ  । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिकअनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा राम्रो दृष्टिकोण प्रतिबिम्बित गर्दछ । । चीनका लागि सामान्य वृद्धि हुनेछ । सन् २०२४ मा वृद्धि दर चार दशमलव आठ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ जनवरीको पूर्वानुमानमा यो चार दशमलव सात प्रतिशत थियो ।

प्रतिवेदनअनुसार अमेरिकी अर्थव्यवस्था निरन्तर उच्च ब्याज दरहरूका बावजुद उल्लेखनीयरूपमा उत्साहित रहेको छ र यसले अहिलेसम्म मन्दी वा ‘सफ्ट ल्यान्डिङ’ लाई अस्वीकार गर्दै आएको छ । अमेरिकाका लागि नयाँ पूर्वानुमान जनवरीको एक दशमलव चार प्रतिशतको भविष्यवाणीको सट्टा सन् २०२४ मा दुई दशमलव तीन प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ ।

प्रतिवेदनमा अन्य विकसित अर्थतन्त्रहरू भन्दा राम्रो प्रदर्शन गर्दै अमेरिकी अर्थव्यवस्था २०२५ मा एक दशमलव सात प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बेरोजगारी दर अपेक्षाकृत अपरिवर्तित रहने छ भने मुद्रास्फीति २०२५ मा दुई दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा शून्य दशमलव सात प्रतिशतले बढी हो । युक्रेन युद्धका बावजुद रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । यो जनवरीको एक दशमलव तीन प्रतिशतको पूर्वानुमानभन्दा अत्यन्त धेरै हो । अर्को प्रमुख उदीयमान बजार ब्राजिलले दुई दशमलव एक प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा आधा प्रतिशतले बढी हो ।

विश्वका अन्य प्रमुख अर्थतन्त्रका लागि जापानको आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतमा अपरिवर्तित रहने अनुमान गरिएको छ । बेलायतको अर्थतन्त्र न्यून–वृद्धि क्षेत्रमा रहेकाले अब शून्य दशमलव चार प्रतिशतको सट्टा शून्य दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यद्यपि सन् २०२४ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतबाट संशोधन गरेर एक दशमलव छ प्रतिशत बनाइएको छ । युरोपेली सङ्घ (इयु) को आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतबाट घटेर एक प्रतिशतमा झारिएको छ । अफ्रिका र पश्चिमी एसिया अन्य दुई क्षेत्रहरूमा अपेक्षाभन्दा सुस्त वृद्धिको अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x