अमेरिकी सैन्य आधारशिविरमा इरानद्वारा क्षेप्यास्त्र प्रहार
बग्दाद, पुस २४
इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवैतर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । ‘इरानी पक्षले इराकस्थित कम्तीमा पनि दुईवटा अमेरिकी सैन्य आधार शिविर र गठबन्धनका कर्मचारी रहेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको प्रष्ट छ’, पेन्टागनले भनेको छ ।
पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो । घटनामा परी मानवीय क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाइएको जनाएको छ । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षा अधिकारीहरूले आक्रमण भएको क्षेत्रमा रहेका अमेरिकी सैनिक र गठबन्धनका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । त्यसका लागि राष्ट्रपति ट्रम्पले सुरक्षा विज्ञहरुसँग परामर्श गरिरहेका छन् । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले आक्रमण गरेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया