Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सेयर सूचक डोजोन्स नौ सय अंकले घट्यो

अमेरिकी सेयर सूचक डोजोन्स नौ सय अंकले घट्यो


न्यूयोर्क, चैत ९
अमेरिकी सेयर बजार वाल स्ट्रीट सातामा जसरी सुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् सेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । सेयर बजारमा ध्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो । कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि सेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो । एसियाली सेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित सेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अंकले घट्यो । सातामा डाउजोन्स १ सय ७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा सेयर सूचकांकमा लगातार गिरावट आएको छ ।

ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको सेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय संकटका कारण सेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो । लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् ।

केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् ।

‘कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदै छ’, एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले भने । यहीबीच, तेलको माग घटे पनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ । ‘यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो’, उनले भने । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार सेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन् ।

यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ । लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् । वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने, ‘हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।’ (रासस/एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया