Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट विश्वभर मर्ने संख्या ११ हजार ४ सय १७ नाघ्यो

कोरोनाबाट विश्वभर मर्ने संख्या ११ हजार ४ सय १७ नाघ्यो


जेनेभा, चैत ९ .
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

संक्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल संक्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १ सय ७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस संक्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना संक्रमित भएका थिए ।

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी वुहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको संक्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित रहेका छन् ।शनिबार प्राप्त समाचार अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ ।

हाल १९ हजार ३५२ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि संक्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन जनता कर्फ्यु लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलंकामा ७३, अफगानिस्तानमा २४, बंगलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना संक्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया