Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदइराकविरुद्ध पाँच गोल गरेपछि साम्बा फेरि चर्चामा, के छन् उनका अरू कीर्तिमान ?

इराकविरुद्ध पाँच गोल गरेपछि साम्बा फेरि चर्चामा, के छन् उनका अरू कीर्तिमान ?


काठमाडौं,’साम्बा’ वा ‘गोल मशीन’ उपनामले चर्चित महिला राष्ट्रिय टोलीकी खेलाडी सावित्रा भण्डारीले फेरि नयाँ कीर्तिमान बनेकी छन्।

अहिले साउदी अरबमा चलिरहेको पश्चिम एशियाली फुटबल महासङ्घ (वाफ) विमिन्स च्याम्पिअनशिपअन्तर्गत बिहीवार राति भएको खेलमा उनी एक्लैले इराकविरुद्ध पाँच गोल गरिन्।

योसँगै भण्डारीले अन्तर्राष्ट्रिय खेलमा गरेको गोलको सङ्ख्या ५० पुगेको छ। यस्तो अनुपम कोसेढुङ्गा पार गर्ने उनी पहिलो नेपाली खेलाडी बनिन्। नेपाली पुरुष टोलीका खेलाडीको गरेको सर्वाधिक अन्तर्राष्ट्रिय गोल १३ मात्र छ।
पचास गोल गर्न उनलाई १० वर्ष लाग्यो। बीचमा एक सीजन चोटका कारण उनी मैदानबाहिर पनि बस्नुपरेको थियो।
उनी एकपछि अर्को कीर्तिमान बनाउँदै आएकी छन्। उनले बनाएका कतिपय कीर्तिमान भङ्ग गर्न नेपाली फुटबलले लामै समय कुर्नुपर्ने देखिन्छ।

उनले बनाएका कीर्तिमानबारे यहाँ चर्चा गरिएको छ।

युरोपमा व्यावसायिक रूपमा खेल्ने प्रथम नेपाली खेलाडी
वाफ विमिन्स च्याम्पिअनशिप खेल्न उनी फ्रान्सबाट साउदी अरब गएकी हुन्।

भर्खरै मात्र फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’मा अनुबन्ध भएकी साम्बा युरोपमा व्यावसायिक फुटबल खेल्ने प्रथम नेपाली खेलाडी हुन्।

तर यो इतिहास उनले फ्रान्सेली क्लबमा जानुअघि इजरेलको क्लब हापोयल रानानाबाट खेलेर गत वर्ष नै बनाइसकेकी थिइन्।

उनले एक वर्षको बीचमा युरोपको दोस्रो क्लबमा फड्को मारेकी हुन्।
इजरेल एशियाली राष्ट्रमा रहे पनि इजरेल फुटबल सङ्घ युरोपेली फुटबल महासङ्घमा आबद्ध भएको हुनाले त्यहाँको खेल युरोपेली खेलमा गनिन्छ।

यद्यपि उनी हापोयल रानानामा पूरा समय भने बस्न पाइनन्। इजरेल-हमास द्वन्द्वका कारण लीग खेल बीचमै रोकियो र उनी नेपाल फर्किन बाध्य भइन्।

लडाइँ सकिएला र फेरि इजरेल फर्कन पाइएला भनेर बसिरहेका बेला फ्रान्सेली क्लबले उनलाई अनुबन्धित गरेको हो।

फ्रान्सेली क्लब अन आभान्ट ग्वेङ्गाम्पले उनलाई बाँकी सीजनका लागि सम्झौता गरेको छ । साउदी अरबमा खेलेर उनी फ्रान्स फर्किने छिन्।
भारतीय महिला लीगमा उत्कृष्ट गोलकर्ता
साम्बाको खेलजीवनको कुरा गर्दा भारतीय महिला लीगको चर्चा गर्नैपर्छ। भारतीय लीग उनलाई अन्तर्राष्ट्रिय फुटबलमा चर्चित बनाउने अर्को माध्यम बनेको थियो।

भारतीय महिला लीगमा तीन सीजन खेल्दा क्रममा उनले यसरी गोलको वर्षा गरिन् कि उनी तीनवटै सीजनकी उत्कृष्ट गोलकर्ता बनिन् भने तीनवटै सीजनमा उनको क्लब विजेता बन्यो। त्यहाँ प्राय: खेलमा उनले निर्णायक गोल गरेकी थिइन्।

भारतीय महिला लीगमा उनी पहिलो पटक सन् २०१८/१९ मा सेथु एफसीबाट खेलेकी थिइन्।

पहिलो सीजनमा आफ्नो गहिरो छाप छोड्ने क्रममा साम्बाले सेथुलाई उपाधि जिताउन ठूलो भूमिका खेलेकी थिइन्। उनी त्यतिबेला १४ गोल गरेकी थिइन्।

पहिलो सीजनको उत्कृष्ट प्रदर्शनपछि सन् २०१९/२० मा उनलाई गोकुलम केरलाले बोलायो।

सो वर्ष गोकुलमलाई विजेता बनाउने क्रममा साम्बाले १६ गोल गर्दै आफ्नो ‘गोल मशीन’ उपनामलाई सार्थक पारेकी थिइन्।
सन् २०२२-२३ मा पनि साम्बाले गोकुलमबाट खेल्दै उपाधि जिताएकी थिइन्। फाइनल खेलमा उनको टोलीले किकस्टार्टलाई ५-० गोलले पराजित गरेको थियो।

सो सीजनका १० खेलबाट उनको गोल सङ्ख्या २९ पुग्यो।

योसँगै उनले भारतीय महिला लीगमा एकै सीजनमा सर्वाधिक २६ गोल गर्ने भारतकी स्टार खेलाडी बाला देवीको कीर्तिमान भङ्ग गरेकी थिइन्।

भारतीय महिला लीगको तीन सीजनमा उनले ५९ गोलको कीर्तिमान बनाएकी छन्।

भारतविरुद्ध गोल
राष्ट्रिय टोलीमा एकछत्र छाउने गरेको भए पनि साम्बाको भरमा मात्र नेपालले भारतलाई हराउन सकेको थिएन।

महिला साफ च्याम्पिअनशिप र दक्षिण एशीयाली फुटबलमा फाइनलसम्मको यात्रा तय गरे पनि फाइनलमा जहिले पनि भारत तगारो बनिदिन्थ्यो र नेपाल रजत पदकमा सीमित हुनुपर्थ्यो।

भारतविरुद्धको हारको ‘जिङ्स’ तोड्ने काम सावित्राले ने गरेकी हुन्। यद्यपि त्यो प्रतियोगिता साफ च्याम्पिअनशिप वा साग भने थिएन।

भारतसँगै सधैँ पराजित हुँदै आएको नेपालका लागि साम्बाले खेल सुरु भएको पाँच मिनेटभित्र दुई गोल गर्दै पहिलो पटक भारतलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। विसं २०७५ सालमा भारतमै भएको सो जित नेपाली महिला फुटबलका लागि निकै महत्वपूर्ण थियो।

त्यसपछि नेपालले भारतलाई दशरथ रङ्गशालामा दोस्रो पटक पराजित गर्‍यो। गत वर्ष आयोजित साफ महिला च्याम्पिअनशिपको सेमिफाइनलमा नेपालले घरेलु मैदानमा १-० ले हराएको हो। तर सो खेलमा चोट लागेकाले साम्बाले भने खेलेकी थिइनन्।

अनेकौँ घरेलु कीर्तिमान
लमजुङको सिम्पानीमा जन्मिएकी सावित्रा भण्डारी ‘साम्बा’को खेलकुदमा आगमनको कथा रोचक छ। उनले घरेलु प्रतियोगिताबाट खेल्न थालेकी हुन्।

उनी मैदानमा एकछत्र छाउँछिन्। उनको खेलकौशल र योगदान अरू खेलाडीको भन्दा अब्बल देखिन्छ। घरेलु प्रतिस्पर्धामा उनको चर्चा कति धेरै गोल गरिन् भन्ने प्रसङ्गमा नै बढी हुने गर्छ।

उनले नेपालको सर्वाधिक गोलकर्ताको कीर्तिमान २०७६ सालमा पोखरामा भङ्ग गरेकी थिइन्।

तेह्रौँ दक्षिण एशियाली खेलकुदको क्रममा पोखरा रङ्गशालामा माल्दिभ्सविरुद्ध दुई गोल गरेपछि उनले यसअघि अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान उछिनेकी थिइन्।

यद्यपि धेरै गोल गर्ने भोकमा रहने गरेकी साम्बा नेपाल पुलिसविरुद्ध घरेलु लीग खेल्ने क्रममा घाइते हुँदा एक सीजन मैदानबाहिर रहनुपरेको थियो।

तीव्र गति र गोल गर्ने गजबको कलाका कारण नेपालमा मात्र होइन, उनी दक्षिण एशियाकै उकृष्ट खेलाडीको रूपमा चिनिन्छन्।

प्रतिभाशाली साम्बाको यात्रा अहिले युरोपेली लीगगमा जारी छ। उनको प्रतिभा र मेहनत हेर्दा उनले अझै नयाँ कीर्तीमान बनाउन सक्ने देखिन्छ।
(बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया