Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन नगरकोटी शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन नगरकोटी शीर्षस्थानमा


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन–पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन् ।

उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १–ओभर ६९ मा सकाउँदै संयुक्तरूपमा दोस्रो स्थान बाँडे । २–ओभर ७० को नतिजामा पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरूपमा पाँचौं स्थान बाँडे । पशुपति शर्मा ३–ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन् । एमेच्योरतर्फ टासी छिरिङ र सद्भाव आचार्य संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन् । उनीहरूले ४–ओभर ७२ मा पहिलो दिनको खेल सकाए । ८–ओभर ७६ को स्कोरमा निलकुमार थापा र भरत थापा मगरले संयुक्तरूपमा तेस्रो स्थानमा बाँडे ।

सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुवास तामाङले पहिलो दिन ४–ओभर ७२ को प्रदर्शन गरे । उनी समग्रमा एमेच्योरद्वय टासी र सद्भावसँग संयुक्तरूपमा ११औँ स्थानमा रहेका छन् । चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन् । ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख तीन हजार पाँच सय रहेको छ । विजेताले एक लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया