Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसन्दीप लामिछाने यूएईमा खेल्न जाने सम्बन्धी विषय टुङ्गिएन, सोमवार पनि सुनुवाइ हुने

सन्दीप लामिछाने यूएईमा खेल्न जाने सम्बन्धी विषय टुङ्गिएन, सोमवार पनि सुनुवाइ हुने


काठमाडौं,सन्दीप लामिछाने यूएईमा हुने खेलमा सहभागी हुन जान अनुमति मागिएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयको निवेदनमाथि आइतवार कुनै निर्णय हुन सकेन। मुद्दा नटुङ्गिएकाले यसलाई “हेर्दाहेर्दैमा राखिएको” सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

“आज सुनुवाइ सकिएन। त्यसैले लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो,” उनले भने।लामिछानेको निवेदनमाथि सोमवार निर्णय हुने उनका अधिवक्ता सरोज घिमिरेले जिकिर गरे।”यूएईमा हुने खेलमा सहभागी हुन अनुमतिका लागि दिइएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट दायर निवेदन दुवैलाई सँगै राखेर पेस गरिएको थियो तर निर्णय हुन सकेन। यस मुद्दाको भोलि टुङ्गो लाग्न सक्छ,” घिमिरेले भने।न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ती निवेदनहरूमाथि सुनुवाइ सुरु गरेको हो।

योसँगै नेपाली टोलीका पूर्व कप्तान लामिछानेले एक दिवसीय विश्वकप छनौट अन्तर्गत यूएईमा हुने लीग-२ शृङ्खलाको पहिलो खेल खेल्न पाउने छैनन्। उक्त मुद्दालाई अग्राधिकार दिएर बन्द इजलासमा सुनुवाइ गरिएको थियो।

यसअघि लामिछानेलाई यूएईमा हुने खेलमा सहभागी हुन जान अनुमति मागिएको निवेदन र उनलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन सँगै राखेर आइतवार पेस गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको थियो।

यूएईमा यसै साताबाट आईसीसी विश्वकप लीग-२ शृङ्खला सुरु हुँदै छ।
तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो।

अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले उनलाई यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको समावेश नगर्ने निर्णय लिएको थियो। नेपाली टोली शनिवार यूएई गएको छ। यूएईमा नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित शृङ्खला सोमवारबाट सुरु हुनेछ।

यसअघि अघिल्लो साता काठमाण्डूमा सम्पन्न आईसीसी विश्वकप लीग-२ शृङ्खलामा चार वटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए।
क्रिकेटर लामिछानेले बिहीवार मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए।

प्रतिबन्ध हटाउने माग
टोलीको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनलाई आफ्नो जिम्मेवारीमा यूएई पुर्‍याएर ल्याउने भन्दै नेपाल क्रिकेट सङ्घले समेत अग्रसरता लिएका विवरण आएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका बेला एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो।

तर गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो।न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई तारेखमा छोड्ने आदेश दिँदा उल्लेख गरिएका थुप्रै बुँदाहरूमध्ये एउटामा लामिछानेलाई मुद्दाको छिनोफानो नभएसम्म विदेश जान रोक लगाइएको थियो।

लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका हुन्।लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाण्डू उपत्यका छाड्नुपरेको खण्डमा समेत काठमाण्डू छोड्ने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका हुन्।

घटना के हो ?
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए।

आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।

त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्ट्याटस लेख्दै आफूलाई फसाइएको र त्यस विरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।

उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्गलादेश र पाकिस्तानका लीगमा खेलेका थिए।(बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया