Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रपतिले सरकारसँग मागे उपचार खर्च

राष्ट्रपतिले सरकारसँग मागे उपचार खर्च


काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदा भएको खर्च सरकारसँग मागेका छन् । राष्ट्रपति कार्यालयबाट बिल भर्पाइका लागि पेस भएबमोजिम उपचारमा भएको खर्चको करिब ५५ लाख रुपैयाँ भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

यसअघि राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैँले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले वैशाख १९ गते प्रेस विज्ञप्ति निकालेको थियो । उपचार खर्चको विषयमा प्रश्न उठेपछि राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस विज्ञप्ति जारी गरेर पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैँले बेहोर्न चाहेको उल्लेख गरेका थिए ।

तर, अहिलेसम्म राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्न कुनै पहल नभएपछि परराष्ट्र मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अर्थ मन्त्रालयलाई रकम तिरिदिन पत्र काटेको हो ।राष्ट्रपति पौडेल पेटमा समस्या भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको अवस्थामा सुधार नभएको भन्दै वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्ली गएका थिए । उनले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गराएका थिए ।

उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किएका थिए । परराष्ट्र मन्त्रालयले सो अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भन्दै सोको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको हो ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया