Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन चरणमा उद्योग खुलाउने तयारी

तीन चरणमा उद्योग खुलाउने तयारी


प्रवीण राउत
काठमाडौँ, वैशाख १८
कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकभर लकडाउन भएको अवधिमा सरकारले बन्द रहेका उद्योग खुलाउने तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन चरण गरी लकडाउनका कारण बन्द रहेको उद्योगहरु खुलाउने तयारी गरेको हो । सोही क्रममा मन्त्रालयले पहिलो चरणमा खाद्यान्नसँग सम्बद्ध सम्पूर्ण उद्योगहरु, दोस्रो चरणमा विकास र निर्माणसँग सम्बद्ध उद्योगहरु र तेस्रो चरणमा निर्यातजन्य उद्योगहरु पुनः सञ्चालनमा ल्याउन पहल गर्नेछ ।

मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले लकडाउनका कारण सञ्चालनमा नरहेका उद्योगहरुलाई समेत सञ्चालनमा ल्याउने तयारी थालेको बताइन् । लकडाउनका कारणले सञ्चालनमा नरहेका उद्योगहरुलाई क्रमशः तीन चरणमा सञ्चालनमा ल्याउनेको लागि मन्त्रालयले खाका तयारीको काम अघि बढाएको उनको भनाइ छ । उनले भनिन्, ‘खाका तयार भएसँगै मन्त्रालयको तर्फबाट उच्च तहमा पेश गरिनेछ ।’

यसका लागि उसले व्यवसायी तथा उद्योगीहरु, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र उद्योग परिसंघ (सीएनआई)लगायतका सम्बद्ध पक्षहरुसँग निरन्तर छलफल चलाएको छ भने कतिपय अति आवश्यक उद्योग सञ्चालन र आपूर्ति सुचारु राख्ने वातावरण निर्माणको लागि समेत काम गर्दै आएको बताएको छ ।

मन्त्रालयले उद्योग सञ्चालनको लागि पछिल्ला दिनमा भारत, चीन वा तेस्रो मुलुकबाट आयातमा भर पर्नुपर्ने कच्चा पदार्थ ल्याउने कार्यमा पारवहन दौरान निरन्तर अनुगमन र सहजीकरण गरेको तथा उद्योगका सवारीसाधन तथा कामदारहरुका लागि सवारीसाधन पासको व्यवस्था गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उपलब्ध गराउँदै आएको बताएको छ ।

यस्तै बजारमा अहिले एकाएक बढेको औषधि, मास्क तथा सेनिटाइजरको मागलाई आपूर्ति गर्न उत्पादन अनुमति दिई सहजीकरण गर्नुको साथै कोरोना संक्रमण रोक्न अत्यावश्यक सामग्रीका रुपमा बजारमा एकाएक बढेको मागका लागि आपूर्ति गर्न नेपाल औषधि लिमिटेडबाट हेण्ड स्यानिटाइजरको उत्पादन र बिक्री थालिएको तथा हालसम्म सो लिमिटेडबाट एक लाख ३० हजार सिसी उत्पादन गरी बजारमा आपूर्ति गरिएको छ ।

मन्त्रालयले असुरक्षाको कारण देखाई श्रमिकहरुले काम गर्न अनिच्छा गरेकोमा मन्त्री लेखराज भट्टको संयोजकत्वमा गत चैत २३ मा सबै ट्रेड युनियन महासंघका पदाधिकारीहरुसँग छलफल आयोजना गरी यस विषम परिस्थितिमा अति आवश्यक वस्तुको उत्पादनमा लाग्न सबै महासंघसँग आबद्ध श्रमिकहरुलाई आह्वान गर्नुको साथै मन्त्रालय र विभागहरुबाट सचिव र सहसचिवहरु संलग्न भई निरन्तर उद्योगहरुको अवस्थाको अनुगमन गरिरहेको । सहसचिवहरुको एक टिमलाई अत्यावश्यक कच्चा पदार्थको आयात, कच्चा पदार्थको स्टक, उद्योगको सञ्चालन अवस्था, बजारसम्म ढुवानी, उत्पादनको वितरण र आपूर्ति व्यवस्थालाई सहजीकरण र समन्वय कामका लागि फिल्डमा समेत सूचना संकलनको कार्यमा खटाइएको छ । सो उच्चस्तरीय टिमले दैनिक गुनासो व्यवस्थापनमा कार्य गरिरहेको बताइएको छ ।

यस्तै उद्योगहरु सञ्चालन गर्न उद्योगी एवं व्यवसायीहरुसँग निरन्तर समन्वय तथा उनीहरुका समस्याहरु सुनी तत्काल समाधान गर्दै आएको तथा उच्चस्तरीय समन्वय समितिबाट फुकाउनुपर्ने विषय समितिमा पेश गर्ने र समाधान गर्दै आएको छ । कोरोना संक्रमणबाट उद्योग क्षेत्रमा परेको प्रभावका बारेमा मूल्यांकन गर्न र सरकारलाई सिफारिस गर्न मन्त्रालयका सहसचिवहरु सम्मिलित एक विज्ञ समिति बनाई सूक्ष्म अध्ययन समेत भइरहेको छ ।

यस्तै मन्त्रालयले प्रमुख चार औद्योगिक कोरिडोरहरु (मोरङ–सुनसरी, बारा–पर्सा, भैरहवा र नेपालगञ्ज)मा रहेका उद्योगहरु सञ्चालन भइरहेको जानकारी दिएको छ । उनले कोरिडोरमा रहेका खाद्य, डेरी, चिया, पानी, चिनी, औषधि र अक्सिजन प्लाण्टका उद्योगहरु सञ्चालनमा आएको बताइन् । ‘करिडोरभित्रका उद्योगहरु पूर्ण क्षमतामा भने सञ्चालन भएका छैनन्’, उनले भनिन्, ‘श्रमिक र कच्चा पदार्थअनुसारको क्षमताअनुरुप उद्योग सञ्चालन गरी उद्योगबाट नियमित उत्पादन भइरहेको छ ।’

सो क्षेत्रमा रहेको खाद्यान्न (चामल, चिउरा, दाल, पिठो, तेल आदि), खाद्य उद्योग (बिस्कुट, चाउचाउ, स्न्याक्स आदि), चिया , औषधि उद्योग भने ५० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् भने डेरी उद्योग ४० प्रतिशत, खानेपानी उद्योग ७० प्रतिशत, चिनी उद्योग ५० हजार मेट्रिक टन (४ महिनालाई धान्ने), अक्सिजन प्लाण्ट उद्योग शतप्रतिशत, एलपीजी ग्यास रिफिलिङ्ग उद्योग शतप्रतिशत, पशुपक्षीको दाना उद्योग ४० प्रतिशत र इँट्टा उद्योग २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । उद्योगहरुले भने पछिल्लो समय कच्चा पदार्थ र श्रमिकको अभाव हुँदा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको बताइरहेका छन् । उनीहरुले सरकारले उचित वातावरण नबनाँउदा उद्योग सञ्चालनमा असहज भएको बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x