भारत र अमेरिका बने नेपालको प्रमुख निर्यात व्यापार साझेदार
काठमाडौं । नेपालको प्रमुख निर्यात व्यापार साझेदारी मुलुकमा भारत र अमेरिका बन्न पुगेका छन् । गत आर्थिक वर्षमा नेपालले प्रमुख निर्यात व्यापार साझेदारीको रूपमा रहेको भारत र अमेरिकासँग मात्र सवा खर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार गरेसँगै ती मुलुक प्रमुख निर्यात व्यापार साझेदारी मुलुक बन्न पुगेका हुन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा नेपालले भारत र अमेरिकामा क्रमशः एक खर्ब छ अर्ब रुपैयाँ र १९ अर्ब ५७ करोड रुपैयाँबराबरको निर्यात व्यापार गरेको छ । भारत र अमेरिकापछि जर्मनी, बेलायत, टर्की, फ्रान्स, क्यानडालगायतका दर्जनभन्दा बढी मुलुकसँग नेपालले निर्यात व्यापार गरेको छ । यस्तै सिमाना जोडिएको भारतपछिको अर्को मुलुक चीन भने नेपालसँगको निर्यात व्यापारको क्रममाः आठौँ स्थानमा छ ।
गत आर्थिक वर्षमा नेपालले जर्मनीसँग चार अर्ब ३५ करोड रुपैयाँ, बेलायतसँग तीन अर्ब ३३ करोड रुपैयाँ, टर्कीसँग दुई अर्ब १५ करोड रुपैयाँ, फ्रान्ससँग एक अर्ब ८३ करोड रुपैयाँ, चीनसँग एक अर्ब ७६ करोड रुपैयाँ र अष्ट्रेलियासँग एक अर्ब ६१ करोड रुपैयाँबराबरको निर्यात व्यापार गरेको छ । नेपालबाट प्रमुख निर्यात व्यापार साझेदारी मुलुकहरूमा पाम आयाल, यार्न, ऊनी गलैँचा, फलाम र स्टीलका उत्पादन, सोयाबिन तेल, अलैँची, तयारी पोशाक तथा एक्सेसरिज, जुट र जुटका उत्पादन, जुस र ऊनी फेल्टका सामानहरू ठूलो परिमाणमा निर्यात भएको हो ।
त्यस्तै, नेपालसँगको आयात व्यापारमा प्रमुख साझेदार मुलुकको रूपमा भारत, चीन, इन्डोनेसिया, संयुक्त अरब इमिरेटस (यूएई), अर्जेन्टिना, मलेसियालगायतका मलुक छन् । यद्यपि नेपालसँगको आयात व्यापारमा भने अमेरिका सातौँ स्थानमा छ । गत आर्थिक वर्षमा नेपालले भारतसँग १० खर्ब २७ अर्ब रुपैयाँ, चीनसँग दुई खर्ब २२ अर्ब रुपैयाँ, इन्डोनेसियासँग ४१ अर्ब ८२ करोड रुपैयाँ, यूएईसँग ३२ अर्ब २१ करोड रुपैयाँ, अर्जेन्टिनासँग २४ अर्ब ८६ करोड रुपैयाँ, मलेसियासँग २२ अर्ब ४० करोड रुपैयाँ र अमेरिकासँग १९ अर्ब ४२ करोड रुपैयाँबराबरको आयात व्यापार गरेको छ । आयात व्यापार साझेदार मुलुकसँग नेपालले आयात गर्ने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलाम र स्टीलका उत्पादन, मेसिनरी र पार्ट, विद्युतीय सामग्री, अन्न, यातायात साधन, औषधि, सुन, मल, दूरसञ्चार उपकरणलगायतका सामग्रीहरू रहेका छन् । उच्च आयात र न्यून निर्यातका कारण नेपालको व्यापारघाटा भने ठूलो छ ।
यद्यपि नेपालसँगको निर्यात व्यापारमा प्रमुख साझेदारको रूपमा देखा परेको भारत र अमेरिकासँग नेपालको व्यापार तुलना गर्दा भने क्रमशः घाटा र नाफा रहेको देखिन्छ । समीक्षा अवधिमा नेपालको भारतसँग नौ खर्ब २१ अर्बले व्यापारघाटा छ भने अमेरिकासँग १४ करोड ६५ लाख रुपैयाँले व्यापार नाफा छ । केन्द्रका सूचना अधिकारी रविन्द्र दुवडीका अनुसार भारतसँगको व्यापारघाटा देखिनुमा भने उच्च आयात हो । उनका अनुसार ठूलो परिमाणमा पेट्रोलियम पदार्थ तथा मेसिनरी सामग्री र पाट्र्स भारतबाट आयात हुने हुँदा नेपालको भारतसँग व्यापारघाटा उच्च देखिएको हो ।
अमेरिकासँगको व्यापार भने केही हदसम्म नाफामूलक देखिनुमा भने अमेरिकाले दिँदै आएको भन्सार छुट व्यवस्थाले गर्दा हो । २०७२ सालको भूकम्पपछि अमेरिकी तत्कालीन राष्ट्रपति बाराक ओबामा सरकारले नेपालका लागि स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) सेवा उपलब्ध गराएको थियो । अमेरिकाले नेपालको लागि उक्त छुट व्यवस्था १० वर्षसम्म प्रदान गरेको छ । सन् २०१५ को अमेरिकी व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयनसम्बन्धी ऐनले नेपाली उत्पादन गलैँचा, टोपी, गलबन्दी, झोला, च्यादर र छाला तथा भ्रमण सामग्रीलगायतमा छुट प्रदान गरेको हो । जुन हालसम्म पनि यथावत् हुँदा अमेरिकासँगको व्यापार नेपालको लागि सकारात्मक देखिएको हो । केन्द्रका अनुसार अमेरिकामा उनी गलैँचा, कुकुर बिरालोको आहार, ऊनी फेल्टका सामान, तयारी पोशाक, हस्तकलाका सामग्रीहरू निर्यात भएको छ । भारतमा भने नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरूमा सोयाबिन तेल, पाम आयाल, अलैँची, जुस, फलाम र स्टीलका उत्पादन, यार्न, चिया, जुट र जुटका उत्पादन छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया