Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ४० अर्ब संकलन

सामाजिक सुरक्षा कोषमा ४० अर्ब संकलन


काठमाडौं । सामाजिक सुरक्षा कोषमा झण्डै ४० अर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि चालू आर्थिक वर्षको पहिलो महिना साउनसम्म ३९ अर्ब ९० करोड ३३ लाख रुपैयाँ योगदान रकम संकलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिएका छन् । प्रवक्ता पन्थीका अनुसार अहिलेसम्म सात लाख २१ हजार तीन सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन सुरु गरेको थियो । कोषले चार वर्षको अवधिमा करिब ४० अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ ।

प्रवक्ता पन्थीका अनुसार साउनमा करिब चार अर्ब रुपैयाँ संकलन भएको छ । असार मसान्तसम्म ३५ अर्ब ९५ करोड रुपैयाँ कोषमा जम्मा भएकोमा साउनमा तीन अर्ब ९५ करोड रुपैयाँ थपिएको पन्थीले बताए । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्ध गरेपछि सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको छ । कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । त्यसयता वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख श्रमिक कोषमा आबद्ध भइसकेका छन् । औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूसँगै वैदेशिक रोजगारीमा गएकालाई आबद्ध गराउने रणनीतिका कारण कोष सफल हुँदै गएको प्रवक्ता पन्थीले बताए ।

चालू आर्थिक वर्षको साउनमा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार एक सय ७८ रहेको छ । कोषले बुधबारदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्न सुरु गरेको छ । जसले गर्दा योगदानकर्ता र योगदान रकम अझै बढ्ने प्रवक्ता पन्थीले बताए । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो ।

कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा कोषको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सक्नेगरी दायरा तोकिएको छ ।

यो अवधिमा कोषले पाँच अर्ब ४४ करोड ३६ लाख रुपैयाँबराबरको दाबी भुक्तानी पनि गरेको छ । कोषले अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६२ करोड ८३ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत सात करोड ४६ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आठ अर्ब ९३ करोड रुपैयाँ र अवकाश दाबीतर्फ चार अर्ब ६५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानीको प्रक्रिया अघि बढाएको छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो एक वर्ष सात लाख २१ हजार तीन सय ५५ जना योगदानकर्ताहरू कोषमा आबद्ध भए भने अघिल्ला आर्थिक वर्षहरूमा सो संख्यामा कमी रहेको थियो । आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।

कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।

कोषले पछिल्लो समय ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा पनि प्रदान गरेको छ । सो निर्देशिकाअनुरूप ‘योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको छ । योगदानकर्ता घर सापटीअन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्र्तगत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सुविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिन सुरु गरिसकेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याजदर स्वीकृत गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया