Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजारमा पाइने खाद्यान्न तथा पानीको गुणस्तर मापदण्डविपरीत

बजारमा पाइने खाद्यान्न तथा पानीको गुणस्तर मापदण्डविपरीत


काठमाडौं । बजारमा उपलब्ध अधिकांश खाद्यान्न तथा पिउने पानी गुणस्तरहीन भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार बजारमा पाउने खाद्यान्न/दलहनजन्य पदार्थ, फलफूल तथा सागपातजन्य पदार्थ र पिउने पानी गुणस्तर मापदण्डअनुरूप नभएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा दाना उद्योग तथा बजार निरीक्षण अनुगमन गरी तीन हजार एक सय १३ वटा नमूना संकलन गरी परीक्षण गर्दा खाद्यान्न/दलहनजन्य पदार्थ, फलफूल तथा सागपातजन्य पदार्थ र पिउने पानीमा कैफियत भेटिएको हो ।

संकलित नमूनाहरूमध्ये खाद्यान्न/दलहनजन्य पदार्थका ४७ वटा, पिउने पानीको ४१ वटा, फलफूल तथा सागपातजन्य पदार्थका २५ वटा, दुध तथा दुग्धजन्य पदार्थका २१ वटा, तेलका १५ वटा, गुलियो पदार्थका १४ वटा, दानाका १३ वटा, मसलाका सातवटा, चिया तथा कफीका चारवटा, नूनको एउटा र अन्य खाद्यपदार्थको १० वटा नमूनाहरू गुणस्तरहीन अर्थात् मापदण्डअनुरूप गुणस्तर नभएको पाइएको हो । समीक्षा अवधिमा खाद्यान्न/दलहनजन्य पदार्थ नौ सय १० वटा, फलफूल तथा सागपातजन्य पदार्थ तीन सय ५१ वटा, तेल तथा घ्यू तीन सय ४९ वटा, मसला पदार्थ दुई सय ८३ वटा, दाना पदार्थ दुई सय १७ वटा, प्रशोधित पिउने पानी एक सय ५५ वटा, चिया तथा कफी एक सय २७ वटा, दुध तथा दुग्धजन्य पदार्थ एक सय १६ वटा, गुलियो पदार्थ ४२ वटा, नून ५३ वटा, चकलेट तथा कन्फेक्सनरीजन्य पदार्थ ९४ वटा, मासु तथा मासुजन्य पदार्थ ४२ वटा र अन्य खाद्यपदार्थ एक सय २५ वटाको नमूना संकलन गरिएको थियो । कुल दुई हजार आठ सय ८१ वटा नमूना संकलन गरिएकोमा एक सय ९८ वटा पदार्थमा गुणस्तरको मापदण्ड अपुग देखिएको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खाद्यान्न/दलहनजन्य पदार्थ, फलफूल तथा सागपातजन्य पदार्थ र पिउने पानीमा कैफियत भेटिएसँगै कानुनसम्मत तवरबाट विभागले अदालतमा मुद्दा समेत दायर गरेको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री–वितरण गरेको कसुरमा एक सय २१ वटा थान मद्दाहरू जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ । दायर गरिएको मुद्दाहरूमध्ये प्रशोधित पिउने पानीका २१ वटा, दुध तथा दुग्ध पदार्थका १७ वटा, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ १६ वटा, दाना पदार्थका १५ वटा, मसला पदार्थका सातवटा, चियाका सातवटा, फल तथा सागपातजन्य पदार्थका सातवटा, महका पाँचवटा र अन्य खाद्यपदार्थका २६ वटा गरी एक सय २१ वटा मुद्दाहरू दायर गरेको छ । उक्त एक सय २१ वटा मुद्दाहरूमध्ये ४४ वटा दूषितका, ३७ वटा न्यून गुणस्तरका, १४ वटा लेबलसम्बन्धी र २६ वटा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धीका मुद्दाहरू थिए ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था भएअनुरूप सोहीबमोजिम दायर भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनको क्रममा गुणस्तरमा ध्यान नदिएको भन्दै खाद्यपदार्थ जफत तथा नष्ट समेत गरेको छ । समीक्षा अवधिमा विभागका अधिकारीहरूले अनुगमनका क्रममा म्याद गुज्रेका तथा लेबल विवरणमा कैफियत भएका करिब एक करोड २६ लाख रुपैयाँबरारबको खाद्यपदार्थ जफत तथा नष्ट गरी कारबाही गरेका छन् । अनुगमनको क्रममा पर्सामा म्याद गुज्रिएको तथा ‘रि लेबलिङ’को कैफियत पाइएको ७० लाख रुपैयाँबराबरको खाद्यपदार्थ जफत र नष्ट गरी कारबाही गरेको छ । साथै फलफूल पकाउन विषादी प्रयोग सम्बन्धमा ७० वटा पसल गोदाममा, च्याम्बरमा भएको विशेष अनुगमनमा सिन्धुली र सुर्खेत जिल्लामा प्रतिबन्धित कार्बाइड प्रयोग भएको पाइएकोले करिब ८५ किलोग्राम आँप जफत तथा नष्ट गरी कारबाही समेत गरिएको थियो ।

बजारमा खाद्यपदार्थको स्वच्छता र गुणस्तर कायम राख्न नसक्दा उपभोक्ताले अस्वस्थ सामग्रीहरूको उपभोग गर्दै आएका छन् । विभागले सक्रियता नदेखाउँदा बजारमा पर्याप्त मात्रामा गुणस्तरहीन सामग्री पाउने गरेको सरोकारवालाहरू बताउँछन् । सरोकारवालाहरूका अनुसार उत्पादनकर्ता तथा बिक्रीकर्ताले जस्तोसुकै सामग्री उत्पादन तथा बिक्रीवितरण गर्ने तथा विभागले अनुगमन नगर्दा समस्या देखिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया