Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभावी सेनापति सिग्देलविरुद्ध जता उजुरी उतै अलपत्र

भावी सेनापति सिग्देलविरुद्ध जता उजुरी उतै अलपत्र


काठमाडौं । नेपाली सेनाका भावी प्रधानसेनापतिका रुपमा अगाडि बढाइएका उपरथी अशोकराज सिग्देलको जन्ममिति विवादमा जताततै परेका उजुरीहरुलाई अलपत्र पारिएको छ । त्यही मौका पारेर जंगी अड्डाले उनीविरुद्धको उजुरीको मापदण्ड परिवर्तन गरी सर्वसाधारण नागरिकलाई उजुरी दिन प्रतिबन्ध मात्र लगाएन उनीविरुद्ध उजुरी दिनका लागि सेनाका अधिकारीले पनि नाम, थर, दर्जा, ठेगाना र फोन नम्बर खुलाएर उजुरी गर्नुपर्ने गरी पूर्ववत् मापदण्ड परिवर्तन गरेर उजुरी आह्वान गरेजस्तो गरी सबैको मुख थुनेर आइतबार प्रक्रिया पूरा गरेर रथी बढुवाका लागि सिफारिस गरेको छ ।

उजुरीका लागि सर्वसाधारणको मुख थुनेपछि उनको दोहोरा जन्ममितिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासमक्ष गत ६ गते परेका उजुरी तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गत १३ गते परेका उजुरीहरु परेका थिए । ती उजुरीहरुमाथि कुनै सुनुवाइ भएको छैन ।

सिग्देलको बढुवाविरुद्ध अख्तियारमा मात्रै तीनवटा उजरी परेका छन् । ती उजुरीहरुमाथि छानबिन गरेर सकेसम्म क्लिनचिट दिएर बढुवाको सिफारिस भएको भए सेनाभित्र विवादका स्वर उठ्न पाउने थिएन । ओहोदाधारीहरुले त्यतातर्फ ध्यान नदिँदा सेनामा विवादको बीजारोपण हुनपुगेको छ । यो विवादले नेपाली सेनाको राष्ट्रिय/अन्तर्राष्ट्रिय छविमा समेत असर पार्ने देखिएको छ । तर, सधैँ सेनामा विवाद निकालेर आफूअनुकूल परिणाम निकाल्न खोज्ने माओवादी नेतृत्वको चालबाजी बेलैमा बुझ्न नसक्ने हो भने यसले रुक्मांगद कुटवाल काण्डभन्दा अनिष्ट रुप नलेला भन्न सकिने अवस्था देखिँदैन । जर्नेल सिग्देलले २०४३ साल, २०५८ र २०७६ सालमा जन्ममिति हेरफेर गराएको आरोप विभिन्न ठाउँमा गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

जन्ममितिको यस्तो विवादमा जुन पहिलो हुन्छ, त्यसैलाई मान्ने परम्परा छ । तर, यस पटक त्यस मान्यतालाई उल्लंघन गरेर सबैको मुख थुनेर जंगी अड्डाले उपरथी सिग्देलको नाम रथीमा बढुवाका लागि सिफारिस गरेको छ । यसरी जंगी अड्डाले सिफारिस गरेको नाम नेपाली सेनाको इतिहासमै अहिलेसम्म फर्किएको रेकर्ड छैन । यस पटक नफर्के पनि यसले विवादको बीजारोपण गर्ने संकेत देखिएको छ ।

उजुरीहरुमा उल्लेख भएअनुसार सिग्देलले रुपन्देही जिल्लाको सिदार्थनगर नगरपालिका–७ ठेगानामा लिएको नागरिकतामा जन्ममिति २०२१ साल चैत १९ गते भएको उल्लेख छ । २०३९ सालको प्रवेशिका परीक्षाको सिम्बोल नम्बर ८८०५९ डब्लूमा दोस्रो श्रेणीमा उत्तीर्ण गर्दा पनि सोही जन्ममिति कायम छ भने २०४० सालको भदौ÷असोज महिनामा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख अर्थात् त्रिभुवन विश्वविद्यालयको रिजस्ट्रेसन नम्बरमा ७०८–८४ मा समेत सोही जन्ममिति उल्लेख छ । उनले उक्त नागरिकता २०४० साल असोज ९ गते बनाएका थिए । सो नागरिकतामा जन्ममितिमा १९ वर्ष उल्लेख छ । त्यतिबेला नागरिकता बनाउँदा उमेर मात्र उल्लेख गर्ने चलन थियो ।

उनै सिलवालले २०४३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख कमलराजसिंह राठौरले क्याम्पसको अभिलेखअनुसार भन्दै उनको जन्ममिति २०२३ साल माघ १९ गते भएको उल्लेख गरी २०४३ साल भदौ १२ गते ‘जो जससँग सम्बन्धित छ’ भन्ने प्रमाणपत्र दिएका थिए । सो प्रमाण क्याम्पसबाट पाएपछि सिग्देलले आफ्नो नागरिकताको प्रमाणपत्रमा उल्लिखित उमेर १९ वर्षलाई केरमेट गरी १७ वर्ष बनाई सुपिङ क्याम्पसको उल्लिखित प्रमाणपत्रसमेतको आधारमा २०४३ साल फागुन महिनामा नेपाली सेनामा भर्ना भएको अख्तियारलगायतका विभिन्न सरकारी निकायमा गरिएको उजुरीमा उल्लेख गरिएको छ । यद्यपि सेनाले भने उजुरीमा आंशिक प्रतिबन्ध लगाएको कारण सेनामा त्यस्तो उजुरी पर्न सकेको छैन । सोही कारण उनलाई बढुवाको लागि आइतबार सिफारिस गरिएको हो । वास्तविक जन्ममितिको आधारमा सेनामा भर्ना हुन २१ वर्ष उमेर नाघ्न हुँदैन । उनले सेनामा जागिर खानका लागि नागरिकताको प्रमाणपत्रमा उमेर केरमेट गरेको दाबी गरिएको छ । उजुरीमा उल्लेख भएअनुसार सिग्देलले आफ्नो वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते साल मात्र मिलाई २०२३ साल चैत १९ गते बनाउँदा २०३९ साल फागुन ८ गतेदेखि १९ गतेसम्म सञ्चालित एसएलसी परीक्षा दिन आवश्यक १६ वर्षको उमेर नपुग हुने भएकाले क्याम्पस प्रमुख ठारौरको सुझावअनुसार महिनासमेत मिलाई जन्ममिति २०२३ साल माघ १९ बनाएका हुन् ।

उजुरीमा उपरथी सिग्देलले २०४३, २०५८ र २०७६ सालमा किर्ते गरेकाले जिल्ला प्रशासन कार्यालय रुपन्देही, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयमा रहेका अभिलेखहरुको स्वतन्त्र र निष्पक्ष जाँच गर्न माग गरिएको छ । साथै किर्ते कार्यमा सिग्देललाई सहयोग गर्ने सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख राठौरसँग पनि बयान लिन उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा उल्लेख गरिएअनुसार सिग्देलले रुपन्देही जिल्लाबाट बनाएको नागरिकता केरमेट गरी गरेको किर्ते कार्यबाट बच्न २०५८ सालमा आफ्नो पद र नियुक्तिको आधारमा अनुचित प्रभाव पार्दै जाजरकोट जिल्लाबाट २०२३ साल माघ १९ गते जन्ममिति हुनेगरी नागरिकताको प्रतिलिपि बनाएका थिए । त्यसपछि २०७६ साल साउन ३० गते त्रिविको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ साल चैत १९ लाई केरमेट गरी २०२३ साल माघ १९ गते बनाई पुनः किर्ते गर्नुको साथै प्रवेशिका परीक्षाको अभिलेख रहेको पनिकाको ढड्डासमेतमा सोही बखत करेमेट गरी जन्ममिति संशोधन गरिएको जिकिर उजुरीहरुमा गरिएको छ ।

No description available.

उजुरीमा उल्लेख भएअनुसार ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ को नियम ६ बमोजिम प्रमाणपत्र पाएको मितिले त्यतिबेला छ महिनाको म्यादमा दरखास्त दिई सच्याउनुपर्नेमा २०४३ सालमा दिइएको प्रमाणपत्रमा उल्लिखित जन्ममिति नियमविपरीत २०७६ सालमा ३३ वर्षपछि गैरकानुनी रुपमा बदलिएको दाबी गरिएको छ ।

ताराध्वज पाण्डेले पनि किर्ते गरेर उमेर सच्याएको उजुरी परेपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । सोही पदका लागि सिग्देलको नाम सिफारिस भएको हो । एकै प्रकृतिको किर्तेमा पाण्डेले राजीनामा दिनुपर्ने र सिग्देलले भने भावी प्रधान सेनापतिको लाइनमा उभिन पाउने अवस्थाले नेपाली सेनामा भाँडभैलो छ भन्ने देखाएको छ ।

उजुरी लिने निकायले उजुरीमा दाबी गरिएको कुरा के हो त्यसको सत्यतथ्य जाँच गरेर क्लिनचिट दिनुपर्ने हो वा कारबाहीका लागि सिफारिस गर्नुपर्ने हो त्यसको बारेमा निक्र्यौल गरेको भए सेनाको छवि सधैँ उच्च हुनेथियो । तर, उजुरी लिने निकायहरुले बेवास्ता गर्दा सिग्देल सेनापति भए पनि उनीमाथि सधैँ प्रश्न उठिरहने देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया