Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधुलिखेल अस्पतालका नाममा छुट्टै विश्वविद्यालय खोल्न आवेदन

धुलिखेल अस्पतालका नाममा छुट्टै विश्वविद्यालय खोल्न आवेदन

भ्रष्टाचार छोप्न पूर्वउपकुलपति माकाजुको ‘बार्गेनिङ’


काठमाडौं । धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच दूरी बढेपछि यी दुई संस्थाको सहकार्य टुङ्गिने अवस्थामा पुगेको छ । २०५९ चैत १९ गते यी दुई संस्थाले५० वर्षसम्म सहकार्य गर्ने सम्झौता गरेपछि शिक्षा र स्वास्थ्य सेवामा नयाँ फड्को मारेका थिए । तर, सहकार्यको २१ वर्षमै अहिले यी दुई संस्था अलग हुने बाटोमा पुगेका छन् ।

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेल अस्पतालका तत्कालीन निर्देशक डा. रामकण्ठ माकाजुको अगुवाइमा दुई संस्थाबीच सहकार्य गर्ने सम्झौता भएको थियो । यही सहकार्यको जगमा काठमाडौं विश्वविद्यालयले आफ्नै आङ्गिक मेडिकल कलेज (धुलिखेल मेडिकल कलेज) सञ्चालन गरेको छ भने अन्य नौवटा मेडिकल कजेललाई सम्बन्धन दिएको छ । यस्तै केही नर्सिङ कलेज पनि काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा छन् । यसले मुलुकमा स्वास्थ्यकर्मी उत्पादनमा ठूलो योगदान गरेको छ ।

५० वर्षे सम्झौताअनुसार धुलिखेल विकास समाजद्वारा सञ्चालित धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयलाई जिम्मा लगाएपछि टिचिङ हस्पिटलको रूपमा साढे छ सय बेड क्षमतामासञ्चालनमा छ । त्यसअघि समाज कल्याण परिषद्को स्वीकृतिमासञ्चालित धुलिखेल अस्पताल ४५ बेडको थियो ।

यतिमात्रै होइन, अस्पतालका निर्देशक डा.माकाजुले दुई पटकसम्म काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्ने सौभाग्य पनि प्राप्त गरे । उनी उपकुलपति रहँदा यी दुई संस्था एउटै भएको जस्तै गरी काम गरिरहे । तेस्रोपटक पनि उपकुलपति बन्ने दौडमा रहेका डा. माकाजु असफल भएपछि अहिले अस्पताललाई विश्वविद्यालयबाट अलग्याउने तिकडम गरिरहेका छन् ।

छुट्टै विश्वविद्यालय खोल्ने आवेदन
धुलिखेल अस्पतालले बागमती प्रदेशबाट ‘धुलिखेल मेडिकल विश्वविद्यालय’को आशयपत्र लिन आवेदन दिएपछि काठमाडौं विश्वविद्यालय र अस्पतालबीच दूरी बढेको स्पस्ट भएको छ । अस्पतालले कात्तिक १० गते बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा विश्वविद्यालयको सम्बन्धनका लागि निवेदन दर्ता गराएको हो । अस्पतालको यो कदमपछि नेपालको सर्वाधिक ख्यातिप्राप्त नमूना संस्थाको रूपमा रहेका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्य समाप्त हुने अवस्थामा पुगेको छ ।

दुई संस्थाबीचको सहकार्य तोड्न चलखेल गरिरहेका व्यक्ति डा. रामकण्ठ माकाजु हुन् । धुलिखेल अस्पतालका संस्थापक एवं अगुवा डा. माकाजु केयूमा तेस्रो पटक उपकुलपति बन्ने दौडमा थिए । तर,केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला केयूकै पूर्वरजिष्ट्रार डा. भोला थापा उपकुलपति बने । त्यसपछि केयू र धुलिखेल अस्पतालबीच दरार सिर्जना भयो । केयूको उपकुलपतिबाट हटेपछि माकाजुलेधुलिखेल अस्पतालमा आफ्ना लागि कार्यकारी निर्देशक पद खडा गरेर केयूसँगको सहकार्य तोड्ने खेलमा लागे ।

आर्थिक कारोबारमा विश्वविद्यालयको निगरानी
अस्पताल र विश्वविद्यालयबीच २०६७ कात्तिक १८ गतेको सम्झौताअनुसार स्कुल अफ मेडिकल साइन्सेजको दैनिक कार्य सञ्चालन गर्नका लागि छुट्टै शिक्षक तथा कर्मचारी सेवासर्त, नियम र आर्थिक नियम सञ्चालनमा रहँदै आएको छ । सो आर्थिक नियमको दफा ३.२(ख) अनुसारको आम्दानी खाता सञ्चालनका लागि स्कुलका डिन र धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय अधिकृतको दस्तखत चल्दै आएको थियो ।

काठमाडौं विश्वविद्यालयले स्कुल अफ मेडिकल साइन्सेजको खाताबाट अस्पतालले ठूलै रकम हिनामिना गरेको सुइँको पाएपछि विश्वविद्यालयले नियमन गर्ने नीति लियो । विश्वविद्यालयले उपकुलपति र रजिष्ट्रारको हस्ताक्षर चल्नेगरी खाताको हस्ताक्षर परिवर्तन ग¥यो । त्यसपछि धुलिखेल अस्पतालले असहमति जनाउँदै डिन र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाटै खाता सञ्चालन गर्ने व्यवस्था गर्न बैंक, काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्, संरक्षक समितिका अध्यक्ष, विश्वविद्यालयका सहकुलपति र कुलपतिलाई पत्राचार गर्ने निर्णय अस्पतालको सभाबाट २०८० कात्तिक २४ गते गरेको थियो । सोहीअनुसार २०८० मंसिर १ गते अस्पतालले बैंकलाई पत्राचार गरेको छ । तर, बैंकले धुलिखेल अस्पतालको निवेदनअनुसार खातामा हस्ताक्षर परिवर्तन गर्न मानेन ।

विश्वविद्यालयले काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल र चिकित्सा संकायको आयव्ययको छुट्टाछुट्टै लेखापरीक्षण गर्ने र विश्वविद्यालय सिनेट बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि स्कुल अफ मेडिकल साइन्सेजलाई सधैँ घाटामा देखाउने गरिएको छ । जब कि स्कुलको वार्षिक आम्दानी ९८ करोड हाराहारी हुन्छ । त्यसमा ६३ करोड रुपैयाँ तलब भत्तामा खर्च हुनेगरेको छ भने बाँकी ३५ करोडको हिसाब अस्पतालले लुकाउँदै आएको छ । अस्पताल र स्कुलको खर्च एकै ठाउँमा देखाउँदा समस्या आएको देखिन्छ । तर, आम्दानी भने फरक–फरक देखाउने गरिएको छ । १० लाखभन्दा बढीको खरिद गर्दा परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि तत्कालीन डिन राजेन्द्र कोजुले सिधै खर्च गर्नेगरेका थिए ।

राजेन्द्र कोजु गतसाउन ८ गते स्कुल अफ मेडिकल साइन्सेजको डिनबाट अवकाश पाएका थिए । उनले यस वर्षको पहिलो किस्ताबापत उठेको २६ करोड रुपैयाँको हिसाबमा गडबडी गरेको स्कुलले जनाएको छ । २६ करोडमध्ये १० करोड रुपैयाँ केयूको खातामा फिक्स्ड डिपोजिटमा राखेको देखिन्छ । उनी डिनबाट अवकाश पाउँदा खातामा जम्मा एक लाख ५७ हजार रुपैयाँ छाडेका थिए । बाँकी १६ करोड रुपैयाँको हिसाबकिताब स्पस्ट नभएको स्कुल व्यवस्थापनले जनाएको छ ।

कोजुले आफू अवकाश हुँदा तलबभत्ता समेत खुवाउन नपुग्ने गरी खाता रित्याएर छाडेपछि स्कुलले विश्वविद्यालयबाट ऋण लिएर साउन महिनाको तलब बाँडेको थियो । यसपछि हिसाबमा गडबडी भएपछि विश्वविद्यालयले आर्थिक पारदर्शिता खोजेको थियो । आर्थिक पारदर्शितामा धुलिखेल अस्पताल फस्ने देखिएपछि डा. माकाजुले केयू र अस्पतालबीचको सहकार्य तोड्ने बाटो रोजेका छन् ।

सम्झौतामाथि नै प्रश्न
विश्वविद्यालय र अस्पतालबीच अहिलेसम्म सातवटा सम्झौता भएका छन् । २०५५ पुस २४ देखि २०६७ कात्तिक १८ गतेसम्म विभिन्न सातवटा सम्झौता भएका छन् । यसमध्ये मुख्य सम्झौता २०५९ चैत १९ गतेको हो । जुन काठमाडौं विश्वविद्यालयको सिनेटले अनुमोदन गरेको छ । बाँकी सम्झौताहरू सिनेटबाट अनुमोदनभएका छैनन् ।

२०५९ चैत १९ गतेकोसम्झौताको बुँदा नं. १ मा विश्वविद्यालय र अस्पताल एक–अर्काका पूरक भई परस्पर अभिन्न अङ्गका रूपमा काम गर्दै विश्वविद्यालयले सम्झौता भएको मितिले ५० वर्षसम्म धुलिखेल अस्पताललाई विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा विकास तथा प्रयोग गर्ने विषय उल्लेख छ ।

तर, २०६७ कात्तिक १८ गतेको सम्झौताले पुराना सबै सम्झौताहरू खारेज गरी दुई संस्थाबीच विवाद उत्पन्न भएमा सम्झौता रद्द गर्नसक्ने व्यवस्था गरेको छ । जुन नियोजित देखिन्छ । यो सम्झौता विश्वविद्यालयको सिनेटबाट अनुमोदन गरिएको छैन । विश्वविद्यालयको सिनेटले अनुमोदन गरेको सम्झौता अर्को सामान्य सम्झौताबाट खारेज गरिएको छ । जुन कानुनीरूपमा कमजोर देखिन्छ ।

२०६७ कात्तिक १८ गतेको सम्झौताले सम्झौता रद्द गर्नुपरेमा दुवै पक्षले मनासिब माफीको कारणसहित साढे पाँच वर्षअगाडि लिखित सूचना अर्को पक्षलाई दिनुपर्नेछ र अर्को पक्षले सो सूचना लिखित प्रत्युत्तर पठाई अनुमोन गर्नुपर्नेछ । यसरी सहकार्य टुंग्याउँदा सञ्चालनमा रहेका शिक्षण कार्यक्रमहरूमा नकारात्मक असर नपर्नेगरी गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

अस्पतालबाट सम्झौता उल्लंघन
धुलिखेल अस्पतालले २०६७ सालको सम्झौतालाई पनि उल्लंघन गरेको छ । विश्वविद्यालयलाई खबरै नगरी प्रदेश सरकारबाट नयाँ विश्वविद्यालयको सम्बन्धन लिन निवेदन दिएपछि सम्झौता एकतर्फी रूपमा उल्लंघन भएको हो ।

अस्पतालका अगुवा डा. माकाजुले अस्पताल र विश्वविद्यालयलाई आफ्नो निजी कम्पनीजस्तो गरी तजबिजीमा उपयोग गर्न नपाउँदा आत्मघाती कदम चाल्न सक्रिय भएका छन् । अझ अस्पतालको आर्थिक अनियमिततामाथि विश्वविद्यालयले निगरानी बढाएपछि माकाजु तर्सिएका छन् ।

माकाजुको हालीमुहाली
धुलिखेल अस्पतालका संस्थापक निर्देशक (हाल कार्यकारी निर्देशक) डा. रामकण्ठमाकाजु लामो समय युरोपमा बसेर फर्किएका व्यक्ति हुन् । श्रीमती युरोपकी, एउटी छोरी मात्र भएका माकाजुले अस्पतालको नाममा आएका सबै वैदेशिक सहायताका रकम नबिल बैंकमा आफू र आफ्नी श्रीमतीको नाममा चल्ने डलर एकाउन्ट खोलेर आफूखुसी चलाएको स्रोतले बताएको छ ।

डा. माकाजुले हस्पिटलमा निर्देशक बलराम मल्ल छदाछँदै प्रमुख कार्यकारी अधिकृतको पद सिर्जना गरी कार्यकारी निर्देशकमा आफैँ बसेका छन् । त्यतिमात्रै होइन उनले गैरकानुनी तरिकाले अनधिकृतरूपमा कर्मचारी नियुक्ति गरेको पाइएकोे छ ।

यस्तै, हस्पिटलका सबै मिटिङहरू आफ्नो सहोदर भाइ प्रेमकण्ठ माकाजुको धुलिखेल लज रिसोर्टमा गर्नेगरेका छन् । त्यहाँ गरिएका कार्यक्रमको एक लाखको बिललाई पाँच लाख बनाएर बढाएर भुक्तानी दिनेगरेका छन् । आफ्नो सबै परिवार र आफन्तलाई धुलिखेल लजमा बस्ने व्यवस्था गरेर बिल हस्पिटललाई तिराउने गरेको पनि स्रोतको दाबी छ ।

माकाजु विश्विद्यालयमा उपकुलपति रहँदा पनि विवादमा पर्दै आएका थिए । उनले अस्पतालका लागि विदेशबाट प्राप्त हुने कतिपय विदेशी मुद्रा आफनो र आफ्नो परिवारको खातामा सोझै लिनेगरेको आरोप लागेको थियो ।

विश्वविद्यालय अनुदान आयोगको रकम दुरूपयोग
२०६७ सालको सम्झौतापछि विश्वविद्यालयको चिकित्सा संकाय ‘स्कुल अफ मेडिकल साइन्सेज’ धुलिखेल अस्पतालमा राखियो । काठमाडौं विश्वविद्यालयबाट पैसा ल्याएर अस्पतालको जग्गामा भवन बनाउने काम भयो । नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगबाट आएको रकमबाट पनि धुलिखेल अस्पतालको जग्गामा भवन संरचना बनाइएको छ ।

चिकित्सा संकायका विद्यार्थीबाट उठ्ने शुल्क र विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भएका मेडिकल कलेजबाट उठेको शुल्क पनि अस्पताल निर्माणका लागि अस्पताल नेतृत्वले नै खर्च गर्दै आयो । किनभने अस्पतालका अगुवा डा. नै विश्वविद्यालयका उपकुलपति थिए । प्रश्न उठाउने कोही थिएन ।

यतिसम्म कि स्कुल अफ मेडिकल साइन्सेजको आम्दानी खर्चको विवरण धुलिखेल अस्पतालको वित्तीय विवरणमा समावेश गरियो । छुट्टै लेखापरीक्षण नै गरिएन । विश्वविद्यालयलाई देशी–विदेशी सबै दाताबाट आउने रकम धुलिखेल अस्पतालको संरचना निर्माणमा खर्च गरियो ।

विश्वविद्यालयको आम्दानीले अस्पतालको संरचना निर्माण भएको हुँदा यी दुई संस्था छुटिँदा ठूलै कानुनी लडाइँ पर्ने निश्चित छ । सबै लगानी विश्वविद्यालयको भएको छ भने भौतिक संरचना, चल–अचल सम्पत्ति अस्पतालको छ ।

अस्पतालका कार्यकारी निर्देशकलाई विश्वविद्यालयले चिन्दैन
२०६७ कात्तिक १७ गतेको सम्झौताअनुसार स्वास्थ्य विज्ञान कार्यक्रम सञ्चालन गर्नको लागि विश्वविद्यालय र अस्पतालको प्रतिनिधित्व हुने गरेर एउटा ‘स्वास्थ्य विज्ञान कार्यकारी परिषद्’ रहने व्यवस्था गरेको छ । त्यसको अध्यक्षता विश्वविद्यालयका उपकुलपतिले गर्ने व्यवस्था छ भने सदस्यहरूमा विश्वविद्यालयका रजिष्ट्रार, स्कुल अफ मेडिकल साइन्सेजका डिन, अस्पतालका निर्देशक (एसोसिएट डिन) रहने व्यवस्था छ भने सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत (प्रशासकीय निर्देशक) रहने व्यवस्था छ ।

सम्झौताको यो व्यवस्थाअनुसार धुलिखेल अस्पतालका कार्यकारी निर्देशकलाई स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले नचिन्ने स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईंले बताए ।‘परिषद्ले अहिलेका कार्यकारी निर्देशक डा. राकमण्ठ माकाजुलाई चिन्दैन, निर्देशकलाई मात्रै चिन्छ’, हुमागाईंले भने ।

तर, विश्वविद्यालयले अस्पतालका कार्यकारी निर्देशक माकाजुसँग छलफल नगरी कार्य गर्दै आएकाले विवाद आएको अस्पतालका सदस्य राधव रेग्मीले जानकारी दिए । उनले अस्पतालका कार्यकारी निर्देशकसँग छलफल नै नगरी विश्वविद्यालयले एकतर्फीरूपमा खाता रोकेको, फ्याकल्टीको तलब रोकेको र बैंकखातामा हस्ताक्षर परिवर्तन गरेपछि विवाद उत्पन्न भएको बताए । उनले डिन नियुक्तिमा पनि विश्वविद्यालयका उपकुलपतिले अस्पतालका कार्यकारी निर्देशकसँग औपचारिक छलफल नगरेको गुनासो गरे ।

धुलिखेल अस्पतालको बार्गेनिङ
सम्झौताअनुसार सहकार्यमा मतभेद वा विवाद उत्पन्न भएमा सोको निराकरण दुवै पक्षको आपसी सहमतिबाट हुने उल्लेख छ । तर, दुवै पक्षबीच एकपटक पनि छलफल भएको छैन । यदि सम्झौता रद्द गर्नुपरेमा दुवै पक्षले मनासिव माफिकको कारणसहित साढे पाँच वर्षअगाडि लिखित सूचना अर्को पक्षलाई दिनुपर्ने र अर्को पक्षले सूचनाको लिखित प्रतिउत्तर पठाई अनुमोदन गरेपछि मात्रै सम्झौता खारेज हुनेछ । यसरी सम्झौता रद्द हुँदा सञ्चालनमा रहेका शिक्षण कार्यक्रमहरूलाई नकारात्मक असर नपर्नेगरी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, धुलिखेल अस्पतालले छुट्टै मेडिकल विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारमा आवेदन दिँदा काठमाडौं विश्वविद्यालयलाई कुनै सूचना दिएको छैन । बरु छुट्टै विश्वविद्यालय सञ्चालन गर्न निवेदन दिएर दुई संस्थाबीचको सम्झौता एकतर्फीरूपमा भङ्ग गर्न खोजेको छ ।

धुलिखेल अस्पतालले विश्वविद्यालय सञ्चालनको स्वीकृति माग्ने, स्वीकृति पाएको अवस्थामा छुट्टिने र नपाएको अवस्थामा काठमाडौं विश्वविद्यालयसँग नै अगाडि बढ्ने किसिमले बार्गेनिङ गरिरहेको हुनसक्ने आशंका विश्वविद्यालयको छ ।

धुलिखेल अस्पतालले केयूसँगको सहकार्य तोड्दै छुट्टै विश्वविद्यालय बनाउन खोज्नुमा अरु केही नभएर माकाजुकै स्वार्थ जोडिएको छ । केयूले स्कुल अफ मेडिकल साइन्सेजको बैंक खातामा हस्ताक्षर परिवर्तन गरेपछि त्यसमा आफूले भनेजसरी खर्च गर्न नपाउने भएपछि माकाजु सम्झौता उल्लंघन गरी सहकार्य तोड्ने अवस्थामा पुगेको देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया