Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी

कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी


काठमाडौं । दक्षिण कोरियाले नेपाली श्रमिकलाई निर्माण र सेवा क्षेत्रमा पनि रोजगारी दिने भएको छ । यसअघि कृषि तथा पशुपालन, उत्पादन र ‘सीप बिल्डिङ’ क्षेत्रमा मात्र नेपाली युवालाई रोजगारी दिँदै आएकोमा निर्माण र सेवा क्षेत्र पनि थप गरेको हो ।

वैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका अनुसार कोरियाले आगामी वर्ष ठूलो संख्यामा आप्रवासी श्रमिक आवश्यक पर्ने हुँदा नेपाली श्रमिकका लागि रोजगारको क्षेत्र थप गरेको हो । शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार यस वर्षको तुलनामा बढी श्रमिक लैजाने तयारीमा रहेको कोरियाले सोहीअनुरूपको तयारी गरेको छ जसले गर्दा नेपाली युवाहरूको रोजगारीको क्षेत्र थप हुनेको साथै कोटामा समेत वृद्धि हुने आकलन गरिएको छ । नेपाली पक्षले भने काम गर्ने क्षेत्र विस्तार गर्नुपर्ने माग गर्दै आएका थिए । नेपाली श्रमिक कोरिया जान थालेको एक दशकभन्दा बढी समय भइसक्दा पनि निश्चित र न्यून क्षेत्रमा मात्र रोजगारी दिने अवस्था रहेको भन्दै त्यसमा बढुवा गर्नुपर्ने माग गर्दै आएका थिए । श्रमविज्ञ डा. गणेश गुरुङ सन् २००८ देखि नेपाली श्रमिक कोरियाको रोजगारीमा जाने गरेको भए पनि दुई/तीनवटा क्षेत्रमा मात्र काम गर्न पाउने कुरा उचित नभएको बताउँछन् । उनले कोरियाले नेपाली श्रमिकले काम गर्नसक्ने क्षेत्र विस्तार गर्नु राम्रो भएको बताउँदै यसलाई अझै विस्तार गर्नुपर्ने बताए ।

सन् २०२३ मा ईपीएसमार्फत एक लाख १० हजार जना आप्रवासी अर्थात् विदेशी श्रमिक भित्र्याउने तय गरेको कोरियाले आगामी वर्षको लागि भने कोटा थप गर्ने भएको छ । सन् २०२४ को लागि कोरियाले ईपीएसअन्तर्गत एक लाख ६५ हजार आप्रवासी श्रमिक भित्र्याउने तयारी गरेको छ । यसैबीच सन् २०२४ को लागि १४ हजार नेपाली श्रमिक लैजाने तय भएको बताइएको छ । कोरियाली पक्षले आवश्यक नेपाली श्रमिकको संख्या किटान गरे पनि कुन क्षेत्रमा कति संख्यामा लैजाने भन्ने तय नभएको शाखाले जनाएको छ । आगामी वर्ष कोरियाले उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालनमा १६ हजार, सेवा क्षेत्रमा १३ हजार, निर्माणमा छ हजार, सीप बिल्डिङमा पाँच हजार र अन्यमा २० हजार जना विदेशी श्रमिकको कोटा निर्धारण गरेको छ । नेपालबाट भने कृषि र पशुपालन क्षेत्रमा लामो समयदेखि नेपाली श्रमिक लैजाँदै आएको थियो ।

नेपाल र कोरियाबीच भएको श्रम सम्झौताअनुरूप कोरिया जान चाहने नेपालीले भाषा र सीप परीक्षा पास गर्नुपर्ने हुन्छ । भाषा र सीप परीक्षा पास गरेपछि कोरियाले तोकेको क्षेत्रमा रोजगारी पाउने हुन्छ । नेपाली पक्षले कोरिया जान चाहनेको लागि चरणबद्धरूपमा भाषा परीक्षा सञ्चालन गर्ने गर्दछ र उत्तीर्ण भएकालाई चरणबद्धरूपमा पठाउने गर्छ । सन् २०२२ सम्म कोरियाले विदेशी श्रमिकको हकमा निश्चित देशबाट निश्चित संख्यामा श्रमिक लैजाने गरी कोटा तोक्ने गरेको थियो । सन् २०२३ देखि ईपीएसमा सूचीकृत १६ मुलुकहरूका लागि एक लाख १० हजार जनाको कोटा तोक्दै आएको छ । कोरियाको आन्तरिक श्रमबजारमा श्रमिक आवश्यक परेसँगै संख्या वृद्धि गर्दै कोटा तोकेको हो । कोरियाको प्रथामिकतामा भने नेपाली श्रमिक पर्दै आएको पाइन्छ । नेपालीहरू इमान्दारिताका कारण उनीहरूको प्राथमिकतामा पर्न सफल भएको शाखाका अधिकारीहरू बताउँछन् ।

नेपाली युवालाई भने आकर्षक कमाइ र सुरक्षित गन्तव्य भएकाले कोरियाली रोजगारी आकर्षक बन्दै आएको छ । मासिक एक लाख ५० हजार तलब बुझने तथा थप समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म पाउने हुँदा नेपाली श्रमिक कोरियाली रोजगारीमा आकर्षित भएको बताइन्छ । यतिमात्र सीमित नभई नेपाल र कोरियाको अर्थतन्त्रमा समेत नेपाली श्रमिकको योगदान रहेको पाउन सकिन्छ । नेपालका साथै बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडियालगायतका १६ वटा मुलुकबाट कोरियाले श्रमिक लैजाने गरेको छ । १६ वटा मुलुकहरूमध्ये सन् २०२२ मा कोरिया प्रवेश गर्ने सबैभन्दा धेरै नेपाली श्रमिक थिए । जुन संख्या १४ हजार चार सय ९५ जना रहेको छ । नेपाली श्रमिकहरूको गन्तव्य मुलुकको रूपमा पहिचान भएको मलेसिया र खाडीका छ राष्ट्रहरूमा भन्दा आकर्षक सेवा–सुविधा र सुरक्षाका कारण कोरियाको रोजगारी आकर्षणको केन्द्र बन्न पुगेको छ ।

त्यस्तै, पछिल्लो समय कोरियाले पानी जहाज निर्माणको लागि ठूलो संख्यामा विदेशी श्रमिक लिने निर्णय गरेको थियो, सोहीअनुरूप उसले विदेशी श्रमिक कोरिया भित्र्याउने तयारीमा रहेको छ । शाखाका अनुसार कोरियाली पानीजहाज निर्माण क्षेत्रमा श्रमिक पठाउन पहिलो चरणमा लिइएको भाषा परीक्षामा चार हजार ९८ जना उत्तीर्ण भएका थिए । एचआरडी सर्भिस अफ कोरियाले लिएको परीक्षामा ३२ हजार पाँच सय सात जना सहभागी थिए । परीक्षा करिब एक महिना सञ्चालन भएको थियो भने दैनिक करिब आठ सय जनाका दरले परीक्षामा सहभागिता जनाएका थिए ।

कोरियाको पानीजहाज निर्माणको लागि ३५ हजार चार सय ७८ जनाले आवदेन दिएका थिए । जसमध्ये ३३ हजार दुई सय एक जना पुरुष र दुई हजार दुई सय ७७ जना महिला छन् । भाषा परीक्षा उत्तीर्ण भएकाहरू सीप परीक्षामा सहभागी हुनेछन् । सीप परीक्षा लिनका लागि भने कोरियाली पक्षको सहभागता हुनेछ । करिब १५ वर्षको अन्तरालमा ८५ हजार जनाभन्दा बढी नेपाली श्रमिक कोरिया पुगेका छन् भने ४५ हजार जना अहिले पनि कोरियामा कार्यरत छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया