Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश

अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश


काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिद बिक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज(बिहीबार) एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो ।

आदेशमा भनिएको छ,  ‘मंसिर २५ गतेसम्मका लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

अदालतले उक्त विवादमा दुबै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय गर्नेछ ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले शेयर खरिद–बिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया