Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभित्र खपत गरी बचत भएको विद्युत् भारतीय बजारमा बिक्री

देशभित्र खपत गरी बचत भएको विद्युत् भारतीय बजारमा बिक्री


काठमाडौँ । रु. १५ अर्ब २४ करोड बराबरको विद्युत् यस वर्षको वर्षायाममा भारततर्फ निर्यात गरिएको छ । देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् नेपाल विद्युत् प्राधिकरणले यस वर्ष गत जेठ २८ गतेबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा प्राधिकरणले एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु. १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । यस अवधिमा प्राधिकरणले दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि २० मङ्सिरसम्ममा रु. १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ ।

खोला तथा नदीहरुमा सुक्खायाम सुरु भएसँगै पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ भने शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।

अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया