Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरकाठमाडौंमा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध

काठमाडौंमा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध


काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(बुधबार)देखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले १५ दिन अगाडिनै सूचना निकालेर काठमाडौंमा उक्त नियमको पालना आजदेखि लागू हुने जनाएको थियो ।

विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ । चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मानव स्वास्थ्यलाई हानी हुने मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने उनले बताए ।

स्वास्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका लागेको र सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको प्रमुख पौडेलले बताए । साथै, काठमाण्डौ महानगरपालिकाले यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ । महानगरले ल्याएको यो नियमको कार्यान्वयन भने चुनौती देखिएको छ । यसअघि महानगरले गएको असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको थियो तर यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन ।

महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्कलगायतका क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ भने नियमको अटेर गर्नेलाई कारबाही हुने जनाएको छ ।


क्याटेगोरी : समाचार, महानगर

तपाईको प्रतिक्रिया