Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिभदौरे–पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला पुस ५ देखि

भदौरे–पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला पुस ५ देखि


पोखरा । कस्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा २५औँ भदौरे–पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहद्वारा संयुक्तरुपमा आयोजित महोत्सव पुस ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीब्र बनाइएको आयोजकले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउने उद्देश्यले मेला आयोजना गरिएको संयोजक विश्वदल गुरुङले जानकारी दिए । ‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका थियौंं, यसवर्ष रजत जयन्ती पनि भएकाले २५औँ संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने ।

भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिँडो खाने प्रतियोगिता, आमा समूहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।

खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०/२० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डरले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको आयोजकले जनाएको छ ।

यस्तै, खुल्ला नृत्यतर्फ प्रथम हुनेले आठ हजार, द्वितीय हुनेले पाँच हजार, तृतीय हुनेले तीन हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिँडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ । मेलामा २३ लाख रुपैयाँ आम्दानी र २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भदौरे क्लवका अध्यक्ष दिव्य गुरुङले बताए ।


क्याटेगोरी : कला / संस्कृति, समाचार

तपाईको प्रतिक्रिया