Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिअन्तरधार्मिक आयोग गठनको पहलकदमी गरिदिन सांसद ढकालसँग अनुरोध

अन्तरधार्मिक आयोग गठनको पहलकदमी गरिदिन सांसद ढकालसँग अनुरोध


ललितपुर । संघीय सांसद तथा पूर्वमन्त्री एकनाथ ढकालले धार्मिक क्षेत्रका विभिन्न अगुवाहरुसंग अन्तरक्रिया गरेका छन् । उनको सचिवालयका अनुसार ललितपुरमा आयोजित छलफलमा सांसद ढकालले देशमा सामाजिक सदभाव अभिवृद्धि गर्न अन्तरधार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समयको संकेत र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न धार्मिक गुरुहरुले विवेकको प्रयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले धार्मिक क्षेत्रले समाजमा नैतिक कम्पासको रुपमा काम गर्नुपर्छ भन्दै युवाहरुलाई धार्मिक क्षेत्रप्रति घट्दै गएको विश्वासको अभिवृद्धि गर्न धार्मिक अगुवाहरुले आफ्नो दैनिक दिनचर्यामा आ–आफ्नो धर्मका शिक्षाहरुको सहि अभ्यास गर्नु पर्ने बताए । उनले एक धर्मालम्बीले अर्को धर्मालम्बीलाई सहर्ष स्वीकार गर्ने, एक–आपसमा सम्मान गर्ने र कुनै एक धर्म माथि आक्रमण हुँदा सबै धर्म एक भएर सामना गर्ने सहयोगी सस्कारले मात्रै धार्मिक क्षेत्रले आफ्नो ऐतिहासिक दायित्व बोध गर्न सक्ने बताए ।

उनले नेपालमा बसोबास गर्ने जुनसुकै धर्मालम्बी भएपनि नेपालको मौलिक पहिचान भने अङ्गीकार गरि धर्मगुरुहरु अन्तर्राष्ट्रियस्तरमा देशको सदभावनादूतको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका नेता ढकालले धार्मिक क्षेत्रलाई ‘सफ्ट पावर’ अथवा ‘नरम शक्ति’को रुपमा राज्यले शान्ति स्थापनार्थ पनि सदुपयोग गर्नुपर्ने भन्दै नेपाल धार्मिक सदभावको हिसाबले अनुकरणीय रहेको बताए । धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्नेमा जोड दिदैं धार्मिक समुह एकअर्काको प्रतिस्पर्धी नरहेको पनि बताए ।

उनले आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि कसैको मौलिक अधिकार हनन गर्न नहुने स्पष्ट पारे । नेपालमा पनि धार्मिक र सांस्कृतिक द्वन्द्व बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको उनले बताए ।

सांसद ढकालले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न सक्ने भएकोले धार्मिक क्षेत्र र राज्यबीच नजिकको सम्बन्ध हुनुपर्नेमा जोड दिए । अन्तरधार्मिक संवाद कार्यक्रमका वक्ताहरुले धार्मिक क्षेत्रको मुद्दाहरु हेर्न ‘अन्तरधार्मिक आयोग’गठन गर्न पहलकदमी गरिदिन पनि सांसद ढकाललाई आग्रह गरे ।

कार्यक्रमममा डा.महेन्द्र भट्टराईले धार्मिक क्षेत्र राजनीतिमुक्त हुनुपर्नेमा जोड दिए । डा.केबी रोकायाले बढ्दै गएको सामजिक विकृति र विसंगति रोक्न धार्मिक क्षेत्रको नेतृत्वदायी भूमिका रहने बताए । त्यस्तै, मुस्लिम आगुवा नजरुल हुसेनले धार्मिक संस्थाहरुको पहिचानसहित राज्यले दर्ता गर्नुपर्ने बताउँदै मृत्युपरान्त दाहासंस्कारको लागि आवश्यक जमिन उपलब्ध गराउन राज्यले सहजीकरण गर्नु पर्ने बताए ।

बुद्धिष्ट आगुवा धर्ममूर्ती भिक्षुले सरकारले धेरै आयोग गठन गर्नु भन्दा ‘अन्तरधार्मिक आयोग’ गठन गरि धार्मिक क्षेत्रको मुद्दाहरु उठाउनु पर्नेमा जोड दिए । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले समाजमा धर्मको नाममा विभिन्न हिंसाहरु हुने र त्यसलाई नियन्त्रण गर्न धर्म गुरुको महत्वपूर्ण भूमिका रहने बताउँदै आफ्नो नगरपालिकाको पहलमा निर्माण हुने अन्तरधार्मिक स्मारकलाई सहयोग गर्न अपिल गरे ।

कार्यक्रममा हिन्दु अगुवाहरु पण्डित केशव प्रसाद चौलागाई, रामचन्द्र भण्डारी र प्राध्यापक स्वामी आन्नन्द बिनोद, बुद्धिष्ट अगुवाहरु धर्ममूर्ती भिक्षु र मुस्लिम अगुवाहरु नजरुल हुसेन, अथर अलि फलाही र अधिकारकर्मी सीमा खान, किरात अगुवा तथा अन्तरधार्मिक शान्ति संघ नेपालका अध्यक्ष राम भक्त कुरुम्बाङ्ग, बुद्धिजिबी तथा इशाई अगुवाहरु डा.केबी रोकाय र डा.महेन्द्र भट्टराई, नेपोलियन राइ, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका अध्यक्ष प्रकाश बाबु थापा, डा.पियारत्न मर्हजन, संचारकर्मी तथा कानुन व्यवसायी अधिवत्ता बिष्णु गिरीलगायत तीन दर्जन धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।

अन्तरधार्मिक संवादको आयोजना संघीय सांसद एकनाथ ढकालको सचिवालयद्वारा गरिएको थियो । सांसद ढकाल बिगत दुई दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिको लागि अन्तरधार्मिक आन्दोलनको पहलकदमी लिदैं आएका छन् । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सदस्य समेत हुन् ।


क्याटेगोरी : कला / संस्कृति, समाचार

तपाईको प्रतिक्रिया