Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्री प्रचण्ड: तेस्रो शासनकालमा के ‘झनै फस्टायो परिवारवाद’ ?

प्रधानमन्त्री प्रचण्ड: तेस्रो शासनकालमा के ‘झनै फस्टायो परिवारवाद’ ?


काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेको वर्ष दिन पुग्नै लाग्दा पुष्पकमल दाहाल प्रचण्डकी एक नातिनीको विवाह काठमाडौंको महँगोमध्येमा पर्ने गोकर्ण रिसोर्टमा भव्य रूपमा भयो । हिंसात्मक आन्दोलनमा हुँदा कुनैबेला स्वयंले विरोध गर्ने भड्किलो विवाहमा प्रचण्डले घरपट्टि बनेर कानुनले तोकेभन्दा बढ्ता सयौँ निम्तालुको स्वागत गरिरहेका थिए ।

त्यसको पर्सिपल्ट माओवादी पार्टीको विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्न नुवाकोटको एक गाउँ पुगेका पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा स्ट्याटस लेखे: ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन ।’ थप टिप्पणीका लागि बीबीसीले गरेको आग्रहमा न्यौपानेले ‘केही समय नबोल्ने’ बताए । कुनै समय माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका रूपमा तत्कालीन व्यवस्था र विरोधी दलविरुद्ध चर्को भाषण गर्ने न्यौपानेका पछिल्लो समयका सामाजिक सञ्जालका पोस्ट धेरैजसो आफ्नै पार्टी र नेतृत्वतर्फ बढ्ता सोझिएका देखिन्छन् ।

प्रश्नको घेरामा प्रचण्ड

प्रचण्ड स्वयं पुस पहिलो साता एनसेलको सेयर बिक्रीबारे जबाफ दिन एक संसदीय समिति पुग्दा आफ्ना परिवार जोडिएको प्रश्नहरूको सामना गरे । परिवारलाई जोडेर आफूलाई ‘ह्युमिलेट’(अपमानित) र ‘डिप्रेस’(निराश) गराउन खोजिएको उनको जबाफ थियो । खासगरी त्यहाँ उनकी कान्छी छोरी गङ्गा दाहाललाई जोडेर कतिपय सांसदले प्रश्न उठाएपछि उनले भने, ‘मेरो परिवारका सदस्यहरू घट्दै गएर तीनजना रहेका छौँ जसमध्ये एकजना (रेणु दाहाल) भरतपुर नगरपालिकाको मेयर छ । ऊ उतै बढी इन्जेग (संलग्न) हुन्छ ।’

गङ्गा दाहाललाई इङ्गित गर्दै प्रचण्डले थपे, ‘उनलाई जोडेर….. बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो ।’ राजकाजको नेतृत्व गरिरहँदा किन प्रचण्डमाथि बारम्बार परिवार मोहको आरोप लाग्छ ? माओवादी नेता राम कार्की ‘आरनमा बसेका, हुर्किएका केटाकेटीले आरनको काम केही जान्ने’ भनेर उनीहरूले पाएका हालका जिम्मेवारीलाई अस्वाभाविक नठाने तापनि त्यसका केही सीमाहरू हुने बताउँछन् ।

‘उनीहरू राजनीतिको असाध्यै अस्वाभाविक समयमा हुर्किए, त्यसैले दबिएर बसेका थुप्रै इच्छाहरू होलान’, कार्की भन्छन्’, ‘उनीहरूलाई माया पनि गर्नुपर्छ, स्नेह पनि गर्नुपर्छ र मर्यादाभित्र पनि राख्नुपर्छ ।’

कहाँ देखिन्छ प्रचण्डको परिवारमोह ?

गङ्गा दाहाल: स्वकीय सचिव रहेकी प्रचण्डकी कान्छी छोरी देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएकी देखिन्छिन् । खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिन्पिङसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा उनी प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना भएको थियो ।

रेणु दाहालः माइली छोरी हाल दोस्रो कार्यकाल चितवन महानगरपालिकाकी मेयर छिन् । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी थिइन् । उनलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए ।

जीवन आचार्यः गङ्गा दाहालका पति कोशी प्रदेशमा यसै वर्ष दुई पटक मन्त्री बने । एक महिनाको अन्तरालमै उनी कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्री बने । दोर्होयाएर उनैलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीबीच समेत प्रचण्ड आफ्नो निर्णयमा पछि हटेनन् । यसअघि समेत प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्य बनाएका थिए ।

प्रधानमन्त्रीको जिम्मेवारी के ?

राजनीतिशास्त्री हरि शर्मा प्रधानमन्त्रीका दुई छोरीमध्ये एक निर्वाचित जनप्रतिनिधि भएकाले उनको मूल्याङ्कन भरतपुर नगरपालिकाको मेयरका रूपमा उनकै कामबाट हुनुपर्ने बताउँछन् । तर, स्वकीय सचिवको भूमिकामा रहेकी छोरीको भूमिकाको समीक्षा गर्नु अप्ठ्यारो कुरा रहेको उनी ठान्छन् ।

‘आफ्नी श्रीमतीको देहान्तपछि प्रधानमन्त्री एक्लो हुनुहुन्छ । परिवारमा उहाँको रेखदेख गर्ने निकटतम व्यक्तिको रूपमा छोरी हुनुहुन्छ । तर आलोचना …. किन छोरीलाई नै स्वकीय सचिवजस्तो पदमा राख्नुपर्यो भनेर हुनसक्छ’, राजनीतिशास्त्री शर्मा भन्छन् । ‘उहाँको खानपान, स्वास्थ्य, घरको व्यवस्था हेर्नलाई त कसैले रोक्दैन । यदि त्यो गर्ने उहाँको काम हो भने र अर्को काम शासन व्यवस्थामा हुने हो भने स्पष्ट निर्धारण हुनुपर्छ ।’

प्रधानमन्त्रीलाई सघाउन बस्ने समूहका व्यक्तिहरू सार्वजनिक रूपमै जबाफदेखि हुनुपर्ने उनी ठान्छन् । ‘किनकि उनीहरू जुन व्यक्ति वा संस्थालाई सघाउन बसेका हुन्छन् त्यसको सार्वजनिक चासो निकै ठूलो हुन्छ । नेपालमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बस्नेहरूले आफ्ना सहयोगी समूहमा जहिलेसम्म कसलाई के कारण लिएको भन्ने जबाफ दिन सक्दैनन् तबसम्म ती नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि आएको भन्न सकिने’, राजनीतिशास्त्री शर्माको मत छ । त्यसैले उनीहरूको योग्यता, बुझ्न र बुझाउन सक्ने क्षमता, सार्वजनिक चरित्र निकै महत्त्वपूर्ण हुने उनी बताउँछन् ।

हरि शर्मा थप्छन्, ‘विगतमा राजाकै पालादेखि नै नेता ठीक छन् भनेर वरपरका ठीक भएनन् भनेर नेतृत्वलाई चोखो राख्न खोज्ने प्रवृत्ति देखिन्छ । तर यसमा जबाफदेखि हुनुपर्ने मुख्य व्यक्ति भनेको तिनलाई नियुक्ति गर्ने नेतृत्व हो ।’

कति स्वाभाविक, कति अस्वाभाविक ?

नेता राम कार्कीले प्रचण्डको परिवारका कोही अहिले पार्टीको भयङ्कर महत्त्वपूर्ण भूमिकामा नरहे पनि परिवार मोह असामान्य रूपमा देखिनुपछाडि उनी नेतृत्वमा हुँदा भएका कामसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।

‘कुरूप प्रणालीलाई फेर्ने प्रयास रहुन्जेल मान्छेको जीवन, पारिवारिक जीवन सबै सुन्दर देखिन्छ । जब त्यसलाई बचाउनेतिर गइन्छ तब मानिस कुरूप हुँदै जान्छ’, उनी भन्छन्, ‘मूल रूपमा जसले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता जस्तो कुराको वकालत गरेर ल्याए तिनले त्यसलाई समाजमा लागू गर्ने प्रयास नै गरेनन् । जस्तो गणतन्त्र सबैभन्दा बढी देखापर्नु पर्ने परिवारमा, समुदायमा, विद्यालयमा हो, जुन छैन् ।’ राजनीतिक विश्लेषक हरि रोकाको मत कार्कीसँग मिल्दो छ ।

उनको बुझाइमा प्रचण्डले पार्टीका नेताहरू राखेर गर्नुपर्ने धेरै राजनीतिक बैठकहरू छोरी र स्वकीय सचिवहरूलाई राखेर गर्न थालेदेखि त्यो अस्वाभाविक देखिन थालेको देखिन्छ । प्रचण्डले अघिल्ला कार्यकालमा छोरा प्रकाशदेखि अहिले छोरी गङ्गासम्मलाई स्वकीय सचिव बनाउने नराम्रो अभ्यास सुरु गरेको उनको बुझाइ छ । नातिनीको विवाहसम्म आइपुग्दा प्रचण्डले ‘सैद्धान्तिक, राजनीतिक र करिअरकै हिसाबले ब्लन्डर गरेको’, रोका बताउँछन् ।

‘वहाँले यति ठूला गल्ती गर्दै जानुभयो, कम्युनिस्ट नेता हुँ, मैले राम्रो आचरण राख्छु र जनताको पक्षमा काम गरिरहन्छु भन्नु झुटो कुरा हो’, विश्लेषक रोका भन्छन, ‘वहाँले आफ्नो हिसाबले आत्म समीक्षा गर्नुपर्छ र यही गतिले निरन्तरता दिनुको अर्थ पनि छैन ।’

प्रचण्डको दोधार

द्वन्द्व कालमा माओवादी राजनीतिमा संलग्न रहिसकेका राजनीतिक विश्लेषक मुमाराम खनालका विचारमा प्रचण्डसामु यतिखेर लोकतान्त्रिक मुलुकको सत्ता र कम्युनिस्ट पृष्ठभूमिको राजनीतिबीचको दोधार देखिन्छ । ‘त्यस्तोमा संस्थाप्रति होइन स्वयं व्यक्तिप्रतिको विश्वास निकै उच्च हुन्छ’, खनालको भनाइ छ ।

‘संस्थाप्रतिको विश्वास हो भने परिवारबाट मात्र होइन कैयौँ ठाउँमा दलबाट पनि मुक्त गर्नुपर्छ ।’ उनले भने, ‘प्रचण्डको परिवारको सदस्य भएकै कारण मात्र भूमिका पाएको देखिनुलाई चिन्ताजनक मानिन्छ । प्रचण्डनिकट रहेकै कारण र पारिवारिक निकटता भएकै कारण मात्र जिम्मेवारी पाउँदा त्यसले देशका लागि नतिजा दिँदैन ।’

तर त्यो नेतृत्वलाई केन्द्रीकृत गर्ने प्रचण्डको घोषित सोच अनुसार नै रहेको खनाल मान्छन् । उनले भने, ‘त्यो शक्तिमा कुनै पनि प्रकारको अवरोध नहोस् भनेर उनले पार्टीबाट समेत आफ्ना मान्छे र आफन्तहरूलाई कुनै न कुनै नियुक्ति दिएका छन ।’ बीबीसी


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया