Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुद्धको पवित्र रामग्राम घरबेटीलाई सुम्पने आपराधिक काम

बुद्धको पवित्र रामग्राम घरबेटीलाई सुम्पने आपराधिक काम


काठमाडौं । बाँकी जीवन राम्रा र जनमुखी काम मात्र गर्ने घोषणा गरेर वैशाखीमा तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा आफ्नो जन्मदिन पारेर ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थल रामग्राम आफ्ना विवादास्पद घरबेटी सारदाप्रसाद अधिकारीलाई सुम्पने काम गरेका छन् ।

पश्चिम नवलपरासीमा रहेको रामग्राम लुम्बिनी विकास कोषअन्तर्गत रहेको छ । यसलाई युनेस्को र पुरातत्व विभागले संरक्षण गर्दै आएका छन् ।

रामग्राम बुद्धको अस्थिधातु राखेका आठ स्थानमध्येको एक हो । सम्राट अशोकले ८४ हजार स्तुप बनाउने क्रममा अरु सात स्तुपबाट अस्थिधातु निकालेर लगेका थिए । किंवदन्तीअनुसार रामग्राममा रहेको अस्थिधातु निकाल्न खोज्दा सम्राट अशोकलाई नागराजले रोकेर आफूले संरक्षण गरेजस्तै गरी संरक्षण गर्ने हो भने मात्र बुद्धको अस्थिधातु निकालेर लैजानु भनेपछि अनिष्ट हुने भयले सम्राट अशोकले निकाल्न नसकेको बुद्धको अस्थिधातु यद्यपि रामग्राममा नै रहेको विश्वास गरिन्छ । सम्राट अशोकले रामग्रामबाहेक तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदहलगायतका स्तुपाबाट बुद्धको अस्थिधातु निकालिए पनि रामग्रामबाट निकालिएको थिएन । अहिले त्यही पवित्र बुद्ध अस्थिधातु स्थल रामग्रामलाई प्रधानमन्त्री प्रचण्डले आफ्ना घरबेटी सारदाप्रसाद अधिकारीको छोरा निकेश अधिकारीको नाममा र प्रोमिस ल्यान्ड नामको रहस्यमय कम्पनी खडा गरेर जिम्मा लगाउन खोजेका छन् ।

रामग्राम लुम्बिनी विकास कोषले परिकल्पना गरेको बृहत् लुम्बीनी क्षेत्रभित्रको एक पवित्र स्थल हो । कोषले तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह र रामग्रामलाई समेटेर बृहत् लुम्बीनी क्षेत्रको परिकल्पनाबमोजिम पर्यटकीय क्षेत्र बनाउने तयारी गरेको छ । तीमध्येको रामग्रामका चार कुनामा चारवटा स्तुपा बनाइने र १६ वटा विभिन्न देशका विहार बनाइने बताइएको छ । त्यही बहानामा विदेशी बौद्ध धर्मावलम्बीहरूसँग भरमाररूपमा रकम उठाइन लागिएको छ । उक्त निर्माणका लागि लुम्बीनी विकास कोष सर्वसाधरणको एक सय १७ बिघा जमिन अधिग्रहण गर्ने योजना बनाएको छ । त्यसका लागि एक अर्ब ५० करोड तथा संरचना निर्माण गर्न पाँच अर्ब लाग्ने जनाएको छ । यी सबै काम लुम्बिनी विकास कोषले गर्नुपर्ने हो तर उसले नगरी काम रहस्यमय कम्पनी र प्रमिश ल्यान्डलाई जिम्मा दिएको छ ।

लुम्बीनी क्षेत्रमा दुई सय ३० वटा ऐतिहासिक पुरातात्विक क्षेत्र रहेको मानिन्थ्यो तर अहिलेसम्म त्यो संख्या २२ वटा मात्र एकिन भएको छ । सम्राट अशोकले उत्खनन गर्न नसकेको रामग्राम क्षेत्रमा अहिले पनि पुरातत्व विभाग र युनेस्कोको पूर्वस्वीकृतिविना उत्खनन वा नवनिर्माण असम्भ नै छ तर त्यसलाई जबर्जस्ती सम्भव बनाउन लुम्बीनी विकास कोष, संस्कृति मन्त्रालय र प्रधानमन्त्री प्रचण्ड स्वयम् मरीमेटेर लागेका छन् तर पनि युनेस्कोले स्वीकृति दिएको छैन । रामग्राम नगरपालिकाका मेयर धनपत यादले त आफूहरूलाई जानाकारी नै नदिई जबर्जस्ती गर्न खोजिए काम हुन नदिने चेतावनी नै दिइसकेका छन् ।

विदेशी बौद्ध धर्मावलम्बीहरूसँग मनपरी चन्दा असुली गर्ने र त्यसलाई घरबेटीको व्यवसायमा परिणत गर्ने दुराशय लुकेको यो परियोजनाका योजनाकार कोषका सदस्यसचिव डा. लारक्याल लामा रहेको बताइएको छ । अख्तियारले डामेका अवैध हतियारका कारोबारी, विभिन्न देशको पासपोर्ट बोकेर हिँडेका विवादास्पद लारक्याल लामालाई प्रचण्ड सरकारले विवादका बीच किन कोषमा उपाध्यक्ष नियुक्त गरिएको रहेछ भन्ने कुरोको चुरो खुल्दै गएको छ । यसअघि मलेसियन बौद्धमार्गी संस्था सम्बद्ध व्यक्तिहरूसँग एक जना पूर्वप्रधानमन्त्रीले लुम्बीनी विकास कोषको लेटरप्याड दुरुपयोग गरी बृहत् लुम्बीनी विकासकै नाममा नौ लाख अमेरिकी डलर पचाइदिएको कागज बोकेर लुम्बीनी विकासका नाममा क्रियाशील एक व्यवसायी अहिले पनि रन्थनिदै हिँडिरहेका छन् । अहिलेको रामग्राम विकासको जिम्मा घरबेटी सारदा अधिकारीको छोरा निकेश अधिकारीको रहस्यमय कम्पनी र प्रोमिश ल्यान्ड प्रालिलाई दिने तारतम्य पनि त्यही ठगीको निरन्तरता नहोला भन्न सकिँदैन ।

रामग्राम विकासको पूर्ण जिम्मेवार लुम्बीनी विकास कोष हुनुपर्छ र त्यसमा जग्गा दलाल कम्पनीलाई तेस्रो पक्ष बनाएर घुसाउनु आवश्यकै छैन । जग्गा दलाल कम्पनीले नै बृहत् लुम्बीनी क्षेत्र विकासको काम गर्ने हो भने लुम्बीनी विकास कोष नै किन चाहिन्थ्यो र भन्ने प्रश्न पनि उठेको छ । तर, कोषले रामग्राम विकासका नाममा जनताको जमिन अधिग्रहण गरेर जग्गा दलाल कम्पनीलाई विकास निर्माणको नाममा जिम्मा लगाउनु भनेको कोषलाई प्रयोग गरेर जनताको उठीबास लगाएर जग्गादलाल पोस्नेबाहेक अरु केही काम होइन । रामग्राममा रहेको अन्डरग्राउन्ड भग्नावशेष इटालीका पुरातत्वविद्ले पत्ता लगाएका थिए, त्यसमाथि भारतका पुरातत्वविद्ले थप अध्ययन अनुसन्धान गरेका थिए । त्यही अनुसन्धानपछि युनेस्कोको ध्यान झन् रामग्राममा केन्द्रीकृत भएको छ र विश्वभर छरिएर बसेका बौद्धमार्गीहरूले रामग्रामलाई विशेष महत्व दिएर हेर्ने गरेका छन् । उनीहरूको ध्यान त्यता केन्द्रीकृत भएको बेला त्यसलाई आफू मोटाउने व्यवसाय बनाउन सिंगो सत्ता मरीमेटेर लागेको हो ।

रामग्रामको विकास निर्माण गर्ने भनिएका र प्रोमिश ल्यान्डका अध्यक्ष निकेश अधिकारी कुनै सुपरिचित नाम होइन, उनी विवादास्पद घरबेटी सारदाप्रसाद अधिकारीका छोरा हुन् । घरबेटी सारदा अधिकारीको छोरो हुनु नै उनको एकमात्र योग्यता र पहिचान हो । त्यसो त स्वयम् सारदाप्रसाद अधिकारी पनि कुनै विशिष्ट पहिचान भएका व्यक्ति होइनन् । माओवादीले जनयुद्ध गर्नुअघि नयाँ सडकतिर मोडेको पसलका कारिन्दा अधिकारी जनयुद्धमा लुटिएको धन तह लगाएर निर्माण व्यवसायी बनेका हुन् । उनी अहिले अर्बौँ रुपैयाँको ठेक्कापट्टामा संलग्न छन् तर सम्झौताअनुसारको निर्माण सम्पन्नताको प्रमाणपत्र लिने गर्दछन् । समयमै निर्माणसम्पन्न नगर्दा सार्वजनिक बसमा सारदा अधिकारी कहाँ छ भनेर उनको पोस्टर नलगाइएको पनि होइन । तर, उनलाई त्यसबाट कति पनि ग्लानि वा हिनताबोध हुनेगरेको छैन । किनकि माडेको कारिन्दाबाट अर्बपति घरबेटी हुन पाउनुलाई नै उनले सौभाग्य ठान्ने गरेका छन् । किनकि लगानी भएको उनको रकम माडेको कारिन्दा भएर कमाएको धन होइन, उनले अहिले खेलाएको धन माओवादीले जनयुद्धको नाममा लुटेको धन हो र त्यसका मालिक स्वयम् प्रचण्ड हुन् । यी र यस्तै गरी विभिन्न ठाउँमा जनयुद्धको कमाइ प्रचण्डले लुकाएपछि अंशबण्डाको विवादमा माओवादी भाइहरू छ चिरा भएका छन् ।

अहिले पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो जन्मदिन पारेर रामग्रामको विकास निर्माणको समूहलाई राज्यको ढुकुटी पोसेजस्तै घरबेटी सारदा अधिकारीलाई रामग्राम सम्पन गरेको नौटङ्कीबाहेक केही होइन । लुम्बीनी विकास कोषले गर्नुपर्ने काम किन र प्रमिश ल्यान्डलाई सुम्पिन लागिएको भन्ने प्रश्न गर्दा त्यसको चित्तबुझ्दो जवाफ केही दिन तयार छैनन् तर सबैले बुझेको एउटै कुरो हो कि कोषको ढुकुटी खर्चेर घरबेटीलाई धनी बनाउन खोजिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया