Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकम्प्युटर गोदाममा आगलागी, करिब एक करोडको क्षति

कम्प्युटर गोदाममा आगलागी, करिब एक करोडको क्षति


धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं.१ बैरेनीस्थित एक कम्प्युटर गोदाममा गएराति आगालागी हुँदा करिब एक करोड रकम बराबरको क्षति भएको छ । नीलकण्ठ नगरपालिका वडा नं.३ धादिङबेसीमा दर्ता भई सञ्चालनमा रहेको प्रतीक कम्प्युटर एण्ड ट्रेनिङ सेन्टरको बैरेनीस्थित गोदाममा आगलागी भएको हो ।

आगलागी हुँदा ९० लाखभन्दा बढीको क्षति भएको सञ्चालक तिलक सिंखडाले बताए । नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा करिब ३ घण्टामा आगो नियन्त्रणमा आएको स्थानीय भगवान भट्टले बताए ।

कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघरसंस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसीलगायतका सामानहरु रहेको सिंखडाले बताए । गोदाममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

गोदाम नजिक वस्ती नरहेको र अन्य कतै आगो बालेको नभेटिएकाले विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने बैरेनी प्रहरी चौकीका इञ्चार्ज राजीव बैठाले जानकारी दिए । प्रारम्भिक अनुमानमा ९० लाखभन्दा बढीको क्षति भएको देखिएको असई बैठाले बताए । घटनाको थप विवरणका लागि अनुसन्धान भइरहेको र विज्ञ टोलीको अध्ययनपछि मात्रै क्षति विवरण एकिन हुने उनले बताए ।

विगत २० वर्षदेखि सञ्चालनमा रहेको सेन्टरले नीलकण्ठ नगरपालिका वडा नं.३ मा रहेको भाडाको गोदाम सारेर ६ महिनादेखि सिद्धलेक गाउँपालिका वडा नं.१ बैरेनीमा गोदाम गर्दै आएको थियो । सेन्टरका सञ्चालक सिंखडा धादिङ उद्योग वाणिज्य संघका महासचिव हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया