Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूर्यदर्शन सहकारी ठगी प्रकरण: महेन्द्र भोटे र भविश्वर कारागार चलान

सूर्यदर्शन सहकारी ठगी प्रकरण: महेन्द्र भोटे र भविश्वर कारागार चलान


पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा जोडिएका सञ्चालक समितिका पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गुरुङ पोखरा महानगरपालिका वडा नं.१० लालीगुराँस र अर्याल स्याङ्जा गल्याङ नगरपालिका वडा नं.९ का वासिन्दा हुन् ।

पोखरामा गितेन्द्र (जीवी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ । दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ७ मा माओवादीबाट निर्वाचित अध्यक्षसमेत हुन् ।

बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङलाई पक्राउ पुर्जी जारी भएपछि फरार छन् । जीवीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेका थिए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया